शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकर्मी भन्छन्– कोरोना नियन्त्रणमा सरकार असफल रह्यो

बुधबार, २१ असोज २०७७, ०९ : १८
बुधबार, २१ असोज २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस¬ (कोभिड १९¬)को संक्रमण लगातार बढ्दै गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम देखिए पनि संक्रमणले भयावह रुप धारण गर्दै गएको छ ।

पछिल्लो समय दैनिक २ हजारमाथि संक्रमित फेला पर्न थालेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमणको नजरले ‘डेन्जर जोन’ बनेको छ ।

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै विगतमा गरेको लकडाउन, निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणालीसमेत प्रभावकारी हुन सकेन । लकडाउन, निषेधाज्ञा हटेपछि कोरोनाको प्रभाव बढ्दै गएको छ ।

मुलुकबाट लकडाउन र निषेधाज्ञा हटाइए पनि अझै लकडाउनकै अवस्थामा रहेको क्षेत्रमध्ये एक हो– चलचित्र । नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक लगायतले अझै पेशागत रुपमा लकडाउन खुलेको अनुभूति गर्न पाएका छैनन् । उनीहरु कोरोना संक्रमणको अवस्था बढ्दै जाँदा पेशागत भविष्य अन्योलमा परेको महसुस गरिरहेकै छन्, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी नभएको गुनासो पनि गर्दैछन् ।

सरकार असफल

कलाकर्मीहरु कोरोना नियन्त्रणमा सरकार पूर्णतया असफल देखिएको बताउँछन् । सरकारले कोरोना नियन्त्रणका लागि दर्बिलो कदम चाल्न नसकेको उनीहरुको आरोप छ ।

अभिनेत्री ऋचा शर्मा कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपले असफल भएको बताइन् । शर्माले भनिन्, ‘चार महिनाको लकडाउन र त्यसपछिको निषेधाज्ञामा सरकारले के ग¥यो ? प्रश्न सबैको एउटै होला ।’

जनतालाई संक्रमित हुनबाट जोगाउने सरकारको प्रयास निकै फितलो रहेको शर्माको भनाइ छ । सरकारले कोरोना संक्रमितका लागि भेन्टिलेटर, क्वारेन्टिनलगायतका आधारभुत आवश्यकता समेत विस्तार गर्न नसक्नु दुःखद् कुरा भएको उनले बताइन् । सीमा नाकामा कडाइ गर्न नसक्दा संक्रमण फैलिएको उल्लेख गर्दै उनले यसमा सरकार नै मुख्यरुपमा जिम्मेवार रहेको बताइन् ।

कलाकार शिवशंकर रिजाल¬ ‘जोगिन्दर’ पनि अभिनेत्री शर्माको जस्तै भनाइ राख्छन् । ‘कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्नु भनेको यसको नियन्त्रणमा सरकार असफल हुनु हो,’ रिजालले थपे ‘पिसिआर टेष्ट सहज बनाएर परीक्षणको दायरा बढाउन नसक्नु, आवश्यक क्वारेन्टिन र आईसोलेसनको ब्यवस्था गर्न नसक्नुलाई असफलता नै भन्नुपर्छ ।’

सरकारले सीमाबाट स्वदेश भित्रिन कडाइ गर्न नसक्दाको परिणाम नै अहिले दिन प्रतिदिन संक्रमण बढिरहेको रिजालको भनाइ छ ।

सरकार गम्भीर देखिएन

दिन प्रतिदिन कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको अवस्था हेर्दा कोरोना नियन्त्रणमा सरकार असफल भएकोमात्र होइन, गम्भीर समेत नदेखिएको निर्माता तथा वितरक प्रदीप उदय बताउँछन् ।

‘कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भन्न नमिले पनि गम्भीर नभएको, नियन्त्रणका लागि तयार नदेखिएको भने पक्कै हो,’ प्रदीपले भने, ‘कोरोनाको कहर अत्यन्त बढिरहेको समयमा सरकारले के गर्ने भन्ने स्पष्ट दृष्टिकोणसमेत बनाउन सकेन र बनाउने प्रयास समेत गरेको छैन ।’

निर्देशक मदन घिमिरे पनि कोरोना नियन्त्रणमा सरकार गम्भीर हुन नसकेको टिप्पणी गर्दछन् । ‘कोरोना नियन्त्रणका लागि सरकारले केही न केही त गरिरहेको छ,’ घिमिरेले भने, ‘ तर सरकारको क्रियाकलाप हेर्दा कोरोना नियन्त्रणका लागि ऊ गम्भीर देख्न सकिएन ।’

सरकारले जनताको स्वास्थ्य ख्याल गरेर जे जति म्यानेजमेन्ट गर्नुपर्ने हो, त्योसमेत गर्न नसकिरहेको उनी बताउँछन् । जनताको स्वास्थ्यका सन्दर्भमा सरकारले उठाएको कदम समय सान्दर्भिक र उपयुक्त नभएको उनको भनाइ छ । पिसिआर टेष्टदेखि आइसोलेसन, भेन्टिलेटरलगायत कोरोना नियन्त्रणका लागि आवश्यक पहलमा सरकार चुकेको उनले बताए ।

‘पहिलो लकडाउनमा सरकार कोरोनाप्रति गम्भीर भएर नाकामा मात्र कडाइ गर्न सकेको भए अहिले भयावय स्थिति आउँदैनथ्यो,’ घिमिरेले थपे ।

को कति दोषी ?

सक्रिय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जानुमा कतिपयले सरकार दोषी रहेको टिप्पणी गरिरहेका छन् भने कतिपयले त्यसको दोषी आफुहरुजस्तै सर्वसाधारण पनि रहेको बताउँदै आएका छन् ।

गायिका सुनिता दुलाल कोरोना संक्रमित बढ्नुमा सरकारको अलवा सर्वसाधारण पनि उत्तिकै दोषी रहेको बताउँछिन् । ‘अमेरिका, भारत र चीनजस्ता शक्तिसम्पन्न मुलुकहरु त कोरोना नियन्त्रणमा चुकिरहेको अवस्थामा हाम्रोजस्तो विकासोन्मुख मुलुकमा सरकारलाई मात्र दोष थोपर्नु जायज होला र ?’ दुलालले प्रश्न गरिन्, ‘के कोरोना नियन्त्रणमा हामी जनताको भूमिका रहँदैन र ?’

सरकारको निर्देशन र सरकारले चालेको कदमलाई सघाउनु जनताको पनि दायित्व हुने उनको भनाइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निर्देशन उल्लंघन गरेका कारण कोरोना बढेको दुलालको बुझाइ छ ।

कलाकार उत्तम केसी पनि कोरोना संक्रमितको संख्या लगातार बढ्नुमा पुरै दोष सरकारलाई दिन नमिल्ने तर्क गर्छन् । ‘सरकारले भनेको न्युनतम स्वास्थ्य सुरक्षाका उपायहरु हामीले के कति पालना ग¥यौँ ?’ केसीले भने, ‘गल्ती आफू गर्ने, दोष सरकारलाई दिने अहिले चलेको चलन हो यो । संक्रमित बढ्नुमा सरकारको केही कमी कमजोरी होला तर सर्वसाधारणको लापरबाही पनि त्यतिकै छ ।’

अभिनेत्री सञ्चिता लुईटेल र गायिका लक्ष्मी आचार्य पनि कोरोना संक्रमित बढ्नुमा आफुजस्तै सर्वसाधारण दोषी भएको बताउँछन् । सबैले सरकारले भनेको मानेको भए अहिलेको अवस्था देखा नपर्ने उनीहरुको भनाइ छ ।

जनचेतना आवश्यक

कोरोना नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै जनचेतना रहेको कलाकारहरु बताउँछन् । अग्रज कलाकार कृष्ण मल्लले भने, ‘टोलटोलमा वा गाउँगाउँमा स्वयंसेवीलगायतको समूह बनाएर जनचेतना जगाउन वा नियम पालना गराउन आवश्यक देखिएको छ ।’

आफ्नो स्वास्थ्य आफूहरुकै हातमा रहने जिकिर गर्दै उनले अगाडि भने, ‘हाम्रै सतर्कतामा हामी सुरक्षित हुन सक्छौँ भनेर जनचेतना जगाउनु पर्छ ।’ सतर्कता र स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाएर मात्र हामी कोरोनाबाट सुरक्षित छौँ भनेर बुझाउनु अति आवश्यक रहेको उनको भनाइ छ ।

कलाकार जीतु नेपाल पनि जनचेतना नै कोरोना नियन्त्रणको प्रभावकारी माध्यम भएको बताउँछन् । ‘हामी जनता सचेत हुनुपर्छ । नबुझेकालाई बुझाउनु पर्छ । हिजो लकडाउन गर्दा पनि कोरोना नियन्त्रण भएको थिएन,’ जीतुले भने, ‘त्यतिबेला जनचेतना जगाउन सकेको भए अहिलेको यो भयावह अवस्था आउने थिएन ।’

सबैलाई सचेत गर्न सके र घरेलु औषधिको महत्व बुझाउन सके रोग नियन्त्रण हुने जीतुको भनाइ छ ।

भोकै मर्ने अवस्था

कोरोनाको चिन्ता एकातिर छँदैछ, अर्काेतिर सरकारले मनोरञ्जन क्षेत्रमाथि लगाएको प्रतिबन्ध नखुल्दा काम गर्न नपाएर भोकभोकै मर्ने हो कि भन्ने चिन्ताले समेत कलाकारलाई सताइरहेको छ ।

कलाकार एवं निर्देशक निर्मल शर्मा ‘गैंडा’ भने औषधिविना करोडौं मानिस ठिक भएको सामान्य रुघाखोकी जस्तो फ्लूका लागि सेकेन्ड सेकेन्डमा पोस्ट गरेर ‘कोरोना महामारी हो, स्थिति भयावह हुनसक्छ’ भनेर जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्न नहुने बताउँछन् ।

‘सधैंभरि लकडाउन, क्वारेन्टिन, टेस्ट आदि ईत्यादि मै अल्झिने र यसरी नै राष्ट्रको ढुकुटी रित्याउने हो भने कोरोनाभन्दा लाखौँ गुणा ठुलो महामारीको रुप बेरोजगारी, भोक र गरिबीले लिनसक्छ,’ शर्माले भने, ‘भोक, गरिबी र बेरोजगारीले पनि मानिस मरेका कयौँ उदाहरण छन् ।’ देशलाई गतिशील बनाएर सबै क्षेत्रमा काम गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

निर्माता एवं वितरक प्रदीप उदय यो भनाइमा सहमत छन् । ‘जोगिएर सबैले आफ्नो ब्यापार, ब्यवसाय, रोजगारी गर्न पाउनुपर्छ र सरकारले पनि यसका लागि वातावरण मिलाउनु पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप