केन्द्रीय संस्करण
स्वास्थ्य

मुटुरोगीहरू किन कोरोनादेखि सतर्क हुनुपर्छ ?

person explore access_timeअसोज २२, २०७७ chat_bubble_outline0

कोरोना भाइरस समूहको सार्स–कोभी–२ नामक भाइरसले उत्पन्न गराउने कोरोना भाइरस रोग २०१९ अथवा कोभिड–१९ अहिले विश्वभर फैलिएर करोडौँलाई असर गरिसकेको छ । गत वर्षको डिसेम्बर दोस्रो साता उत्पन्न भएको यस रोगको असरलाई ध्यानमा राखेर विश्व स्वास्थ्य सङ्गठनले २०२० मे महिनामा यो रोगलाई महामारी घोषणा गरेको थियो । यो रोग देखा परेको झण्डै १ वर्ष हुनै लाग्दासम्म ३ करोड ५० लाखभन्दा बढीलाई प्रत्यक्ष असर गरिसकेको छ भने १० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा समेत ८३ हजारभन्दा बढी सङ्क्रमित हुँदा ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कुनै पनि उमेर समूहका व्यक्तिलाई लाग्न सक्ने यो रोग कतिपय जोखिम कारकहरू भएका व्यक्तिमा जटिल रूप लिन सक्छ । यी जोखिम कारकहरूमा वृद्धावस्था, मोटोपन, मधुमेह, उच्च रक्तचाप, विभिन्नखाले मुटुरोग, दम आदि पर्दछन् ।

के हो मुटुरोग ?

मुटुरोग आफैँमा विश्वभर मृत्युको प्रमुख कारकमध्ये एक हो । मुटुरोग भन्नाले हृदय तथा रक्तवाहिनी नलीमा उत्पन्न हुनसक्ने विभिन्न समस्याहरूलाई भन्ने गरिन्छ । यो रोगमा मुख्यतया प्रमुख रक्तवाहिनी नलीहरूमा चिल्लो पदार्थ जम्मा हुने र उक्त नलीमा रगतका चोक्टा बन्नसक्ने खतरा रहन्छ । त्यस्तै अन्य प्रमुख अङ्गहरू जस्तैः दिमाग, मिर्गौला तथा आँखामा जाने नलीहरूमा समेत असर पु¥याउन सक्छ । प्रमुख मुटुरोगहरूमा कोरोनरी धमनी अर्थात हृदयघात, मष्तिष्कघात, परिधीय धमनी रोग तथा महाधमनी रोग पर्छन् । मुटुरोग उत्पन्न गराउन प्रमुख भूमिका खेल्ने कारकहरू उच्च रक्तचाप, धूमपान, उच्च चिल्लोपना, मधुमेह, मोटोपना आदि हुन । यी प्रमुख कारकहरूको ध्यान पु¥याउन सकियो भने मुटुरोगको जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । मुटुरोगमा शरीरका मुख्य अङ्गहरूमा रगत सञ्चालन गर्ने धमनीहरू साँघुरो भएर अथवा थुनिएर रगत सञ्चालन बन्द हुन्छ र शीघ्र उपचार नपाए मृत्यु हुने जोखिम ज्यादा हुन्छ ।

मुटुरोगीलाई कोरोनाको असर

मुटुरोग कोरोना सङ्क्रमणको प्रमुख जोखिम कारकमध्ये एक हो । तथ्याङ्कअनुसार कोरोना भाइरस समूहले गराउने सार्स र मर्स रोगहरू लागेका व्यक्तिमा क्रमशः १० प्रतिशत र ३० प्रतिशतमा मुटुरोग देखिएको छ । त्यस्तै विभिन्न देशमा गरिएको अनुसन्धान अनुसार कोभिड–१९ रोगमा पनि ५–३० प्रतिशतमा मुटुरोग देखिएको छ भने कोरोनाका कारण मृत्यु हुनेमा मुख्यतया मुटुरोगीहरू नै रहेका छन् । मुटुरोग लागेका व्यक्तिलाई कोरोना सङ्क्रमणको उच्च जोखिम देखिएको छ तथा जटिल समस्या आउनसक्ने जोखिम पनि त्यति नै धेरै हुन्छ । त्यसैगरी कोरोनाको सङ्क्रमणको क्रममा मुटुको मांसपेशीमा असर पुगेर मुटुरोग उत्पन्न हुनसक्ने जोखिम पनि रहन्छ । साथै कोरोनाका रोगीहरूमा उच्च रक्तचाप पनि मुख्य समस्या रहेको पाइएको छ जुन १५–३५ प्रतिशत सङ्क्रमितमा हुने गरेको देखिन्छ ।

कोरोना सङ्क्रमित मृतकहरूको मुटुको मांसपेशीमा सङ्क्रमणका तत्त्वहरू भेटिएको पाइन्छ जसले मायोकार्डिएम अर्थात मुटुको मांसपेशीमा असर गर्छ । त्यस्तै कोरोना सङ्क्रमितमा मुटुमा असर पर्दा बढ्ने तत्त्वहरूसमेत रगतमा बढेको पाइन्छ । यस्तो अवस्थामा मुटुको चालमा अनियमितता समेत हुनसक्ने देखिएको छ । यस्ता समस्या देखिने कारण कोरोनाले मुटुबाट उत्पादन हुने एन्जाइममा असर पार्ने तथा रोग प्रतिरक्षा प्रणालीमार्फत विभिन्न हानिकारक तत्त्वहरू उत्पादन गरेको हुनसक्छ । साथै कोरोनाले फोक्सोमा हानि गरेपश्चात मुटुको कार्यक्षमतामा ह्रास आई विभिन्न समस्या उत्पन्न हुनसक्छ । रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्तिमा सङ्क्रमणको जोखिम बढी हुन्छ । त्यसअन्तर्गत मुटु प्रत्यारोपणमा पनि जोखिम रहेको देखिन्छ । प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरक्षा क्षमता कमहुने गर्छ, जसका कारण कोरोनाको जोखिम उत्पन्न हुनसक्ने जटिलता तथा मृत्युदर धेरै हुनसक्छ ।

मुटुरोगका लक्षणः

मुटुरोगका मुख्य लक्षणमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, मुटुको चाल तीव्र हुने आदि हुन् । कोभिड–१९ ले मुख्यतया फोक्सोमा असर गर्ने हुनाले स्वासप्रस्वासमा समस्या, खोकी आदि अधिकतम देखिन्छ भने केहीमा छाती दुख्ने समस्या नै मुख्य रूपमा देखिन सक्छ । मुटुको चालमा अनियमितता एक मुख्य खतरा हुनसक्ने भएकाले यस महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरूले मुटुको चाल कमवा बढी हुँदा हुने लक्षणहरू ध्यानमा राख्नुपर्ने हुन्छ । साथै स्वास्थ्य निकायहरूले चालको अनियमिततालाई समयमै यकिन गरी उपचार गर्न योजना बनाउनु जरुरी हुन्छ । त्यस्तै निमोनिया लागेका कोरोना सङ्क्रमितमा पनि मुटुरोगको खतरा धेरै रहन्छ । त्यसैले निमोनिया तथा पुराना मुटुरोगीको उपचारमा पनि हुनसक्ने जटिलता कम गर्न जोखिम निर्धारण गरी उचित उपचार पद्धति अपनाउनु जरुरी छ ।

कोरोना सङ्क्रमितमा मुटुरोग भएको नभएको यकिन गर्न विभिन्न जाँच सहयोगी हुनसक्छ । ईसीजीबाट प्रायजसो मुटुरोग पत्ता लाग्न सक्छन् भने रगतमा मुटुको क्षति हुँदा बढ्ने तत्त्वहरूको मात्रा मापन गरेर पनि मुटुमा क्षति भएको पत्ता लाग्छ । मुटुको मांसपेशी टुक्रेर उत्पन्न हुने यी मुटुरोगका तत्त्वहरू हृदयघातको खतरा यकिन गर्न समेत प्रयोग हुन्छ । त्यस्तै मुटुमा केही क्षति भए नभएको हेर्न इको–कार्डियोग्राफी सहयोगी हुन्छ । यसले मुटुको संरचना र कार्यक्षमतामा समस्या भए नभएको देखाउँछ ।

उपचार पद्धतिः

मुटुरोगीको उपचार गर्नुअघि कोरोनाको जाँच गर्नु जरुरी हुन्छ । जसमार्फत स्वास्थ्यकर्मीले उपचारको क्रममा उचित बचावटका उपाय अपनाउन सक्छन् र बिरामीको उपचारको पद्धति यकिन गर्न सक्छन् । हृदयघातका बिरामीहरूमा जोखिमको निक्र्योल गर्नुपर्छ र उच्च जोखिममा रहेका बिरामीलाई कोभिड–१९ उपचारमा संलग्न अस्पतालमा इन्भेसिभ उपचारको लागि व्यवस्था मिलाउनु पर्छ । उच्च जोखिममा रहेका बिरामीलाई तुरुन्त उपचार चाहिने हुनाले उनीहरूलाई कोभिड सङ्क्रमित अन्दाज गरी उचित बचावटका तरिका अपनाएर रक्तनलीमा रगत प्रवाह बढाउने उपचारको थालनी गर्नुपर्छ । त्यस्तै मुटुको असफलता भएमा उचित वातावरण र आवश्यकअनुसार आईसीयूमा राखेर मुटुको चाल, तीव्रता आदिमा परिवर्तन गराउने औषधि प्रयोग गरी सामान्यतया गरिने उपचार गर्न सकिन्छ । त्यस्तै मुटुको चाल स्थिर राख्ने यन्त्रहरू मुटुमा जडान गर्दा सङ्क्रमण हुने जोखिम धेरै हुन्छ तसर्थ उपयुक्त सावधानी अपनाउनु जरुरी छ । त्यस्तै मुटुरोगको उपचारमा प्रयोग हुने अन्य उपाय प्रयोग गर्नुअघि जोखिम निर्धारण गरी अत्यावश्यक परिस्थितिलाई प्राथमिकता दिने गर्न सकिन्छ । त्यस्तै उच्च रक्तचापका बिरामीलाई समेत आवश्यकताअनुसार औषधि उपचार गर्न सकिन्छ । अस्पताल सेवा आवश्यक नभएका बिरामीलाई घरमै औषधिमार्फत रक्तचाप नियन्त्रण गर्न सकिन्छ । त्यस्तै लामो समयदेखि रक्तचाप उच्च रहेका बिरामीमा मुटुरोग र चालसम्बन्धी समस्या आउने हुनाले रगतमा इलेक्ट्रोलाइट्सको मात्रा नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै सङ्क्रमित तथा उच्च रक्तचाप भएका व्यक्तिमा तीव्र मिर्गौला क्षति भएको पाइएमा रक्तचाप नियन्त्रण गर्ने औषधिहरू रोक्नुपर्ने हुन्छ । तसर्थ उच्च रक्तचाप भएका बिरामीले केही समस्या आएमा स्वास्थ्यकर्मीसँग छलफल गरी उचित उपचार योजना बनाउनुपर्छ । त्यस्तै कोरोना सङ्क्रमितमा रगत नलीमा जम्ने क्षमतामा परिवर्तन हुनसक्ने हुनाले भर्ना भएका बिरामीमा रगत नजम्ने औषधिको प्रयोग पनि गर्न सकिन्छ । यी बिरामीमा फोक्सोमा रगत जम्ने हुनसक्छ जसलाई ईसीजी जाँचबाट पत्ता लगाई उचित औषधि प्रयोग गर्न सकिन्छ । औषधिको प्रयोग गर्नुअघि एन्टिभाइरल औषधिको मुटुरोगमा प्रयोग हुने औषधिसँग केकस्तो अन्तर्क्रिया हुन्छ अध्ययन गर्नु जरुरी हुन्छ ।

कोरोनाका बिरामीमा नयाँ मुटुरोग उत्पन्न हुनसक्ने हुनाले कोरोनाको लक्षण लक्षित उपचार तथा एन्टिभाइरल औषधि जस्तै रेम्डेसिभर, लोपिनाभिर– रिटोनाभिरको प्रयोग गर्न सकिन्छ । त्यस्तै कोरोनाको जोखिमका कारण बढ्नसक्ने मृत्युदर नियन्त्रण गर्न सरकार तथा विभिन्न निकायले स्वास्थ्य सेवा, आईसीयू सेवा, भेन्टिलेटर सेवा आदिको गुणस्तर तथा उपलब्धता बनाइराख्न उचित उपाय अपनाउन जरुरी हुन्छ ।

मुटुरोगीले अपनाउनुपर्ने सावधानीः

मुटुरोगीमा कोरोनाका असर धेरै रहेको र जटिलतासमेत रहेका कारण मुटुरोगीले कोरोना लाग्न नदिन विशेष सतर्कता अपनाउनु जरुरी छ । कोरोनाबाट बच्न बेलाबेलामा हात धुने, मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, लकडाउनको पालन गर्ने जस्ता प्रमुख उपायका साथै आफ्नो रोगको उचित नियन्त्रणको उपाय अपनाउनु पर्छ । स्वास्थ्यकर्मीसँग सहकार्य गरी आफ्नो रोगको उपचारमा केकस्तो सुधार ल्याउने तथा केकस्तो परिस्थितिमा आकस्मिक उपचारको उपयोग गर्ने आदि जान्नु जरुरी छ । त्यस्तै स्वास्थ्यकर्मीले पनि बिरामीको रोग अनुसार जोखिम निर्धारण गरी केकस्तो उपचार प्रणाली उपयोग गर्ने सल्लाह दिनुपर्ने हुन्छ । साथै उच्च रक्तचाप तथा मुटुरोगका बिरामीले जटिल समस्या आउन नदिन जीवनशैलीमा सुधार गर्ने, व्यायाम गर्ने, खानपानमा ध्यान पु¥याउने, धूमपान नगर्ने चिल्लो कम खाने आदि गर्नुपर्छ ।

मुटुरोगीमा कोरोनाले निम्त्याउन सक्ने समस्याहरू भयावह त छन् तर आफ्नो उचित तयारी, उपचारमा नियमितता र समयमै स्वास्थ्यकर्मीको उचित सल्लाहअनुसार दैनिक जीवन पद्धति विकास गर्न सकियो भने समस्यालाई मुख्यतया नियन्त्रण गरी स्वस्थ जीवनयापन गर्न सकिन्छ ।

(लेखक केएमसीमा प्रशिक्षार्थी चिकित्सकका रूपमा कार्यरत छन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.