भारतद्वारा कैलालीमा विद्यालय भवन निर्माण
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कैलालीको टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न भएको छ। भारतको ३ करोड बढी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।
काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा भवनको उद्घाटन सम्पन्न भएको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो ।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।