शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयताको वास्तविक कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफलः मुख्यमन्त्री पोखरेल

बिहीबार, २२ असोज २०७७, १६ : ०२
बिहीबार, २२ असोज २०७७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई बिहीबार निर्देशन दिँदै उनले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताएका छन् ।

सरकारले यसअघि दाङको राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले मुख्यमन्त्री पोखरेलले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको मुख्यमन्त्री पोखरेलका प्रेस सहयोगी शेरबहादुर केसीले जानकारी दिए  । 

त्यस अवसरामा राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।  ‘राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा पर्दैन । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको छ’, मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने पनि मुख्यमन्त्रीको भनाई छ । ‘नक्साको डिजाइन,गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्नेछन् । अहिलेलाई हेरेर होइन, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौं’, मुख्यमन्त्री पोखरेलको भनाई थियो । राजधानी र नामको सही ढंगले टुंगो लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको भन्दै मुख्यमन्त्रीले त्यसका लागि सबैलाई धन्यवाद दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप