शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकहरु नेपाल घुम्नका लागि सोधपुछ गर्छन् तर टिकट बुक गर्दैनन्

बिहीबार, २२ असोज २०७७, १६ : ११
बिहीबार, २२ असोज २०७७

काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोही पनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैले पनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिदैन् ।

पर्यटन व्यवसायी सुदर्शन नेपालकाअनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र ¥याफ्टीङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको बताए । खासगरी नेपालमा कोभिड संक्रमणको लागि के कस्ता मापदण्ड छन् भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफुहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताए ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोपुछ गरिरहेको बताए । संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उनले बताए । तर अहिलेसम्म कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप