शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – चे ग्वेभाराको हत्या

शुक्रबार, २३ असोज २०७७, १० : ३३
शुक्रबार, २३ असोज २०७७

आज ९ अक्टुबर । आजैका दिन सन् १९६७ मा क्रान्तिकारी विद्रोही नेता अर्नेस्टो ‘चे’ ग्वेभारालाई बोलिभियाको सरकारी सेनाले हत्या गरेको थियो । बोलिभियाको सैनिकले ८ अक्टुबरमा लडाइँका दौरान उनलाई बन्दी बनाएको थियो । सिआइएको योजना चेलाई जिउँदै समात्ने थियो । तर बोलिभियाका सेनाले उनलाई गोली हानी हत्या गरेका थिए । कब्जा गरेपछि गरिएको उनको हत्यालाई मुठभेड र भीडन्तमा मारिएको देखाउने चेको घाँटीमुनि गोली हानिएको थियो । अनि, ३९ वर्षीय ग्वेभाराको शरीरलाई गोप्य चिहानमा गाडियोे । ग्वेभाराको शरीरका अवशेषहरु फेला पार्न थप ३० वर्ष लाग्यो । १९९७ मा फेला परेको उनको अवशेषलाई क्युवा लगियोे, जहाँ राष्ट्रपति फिडेल क्यास्ट्रोसहित हजारौं क्युवेलीहरु सहभागी भएर उनको पुनर्अन्त्येष्टी गरे ।

सुरुवातमा बोलिभियाली सेनाले लडाइँका क्रममा गोली लागेर ग्वेभारा मारिएको दाबी गरेको थियो । बोलिभिया आर्मी आठौं डिभिजनका कमाण्डर कर्णेल जोआक्विन जेन्टेनोले आनायाले तत्कालीन समय जारी गरेको विज्ञप्तिमा हिगुइरस नजिकको जंगलमा गोली लागेर ग्वेभाराको मृत्यु भएको उल्लेख छ ।

कुनै समय क्युवाका प्रधानमन्त्री फिडेल क्यास्ट्रोका निकटतम सहयोगी रहेका ग्वेभारा अप्रिल १९६५ देखि राजनीतिक परिदृश्यबाट एकाएक गायब भए, त्यसयता उनी कहाँ छन् भन्ने विषयमा ठूलो बहस भएको थियो । धेरैपटक उनको मृत्युको खबर बाहिरिएका थियो । कहिले कंगो त कहिले डोमिनिकट गणतन्त्रमा  उनी मारिएको खबर सार्वजनिक भएपनि त्यसको पुष्टि हुन सकेको थिएन ।

अर्जेन्टिनामा जन्म, क्युवामा क्रान्ति

ग्वेभाराको जन्म १९२८ मा अर्जेन्टिनामा भएको थियो । ब्युर्नोस आर्यस विश्वविद्यालयमा मेडिकल साइन्स पढ्दै गर्दा उनी मोटरसाइकलमा दक्षिण अमेरिकाको भ्रमणमा निस्किएका थिए । यस समय उनले त्यहाँका गरिबहरुले भोग्नुपरेको दमन देखें । १९५३ मा मेडिकल डिग्री लिएपछि पनि ल्याटिन अमेरिकामा आफ्नो यात्रा कायम राखे, यतिबेलासम्म उनी बामपन्थी संगठनहरुमा आबद्ध भइसकेका थिए । १९५५ ताका मेक्सिकोमा ग्वेभाराको भेट फिडेल क्यास्त्रो र उनका भूमिगत क्रान्तिकारीहरुसँग भयो । क्युवाका तानाशाह फुल्गेन्सियो बाटिस्टालाई हटाएर  १९५९ मा क्यास्त्रोले राज्यसत्ता कब्जा गरे, यसमा ग्वेभाराको ठूलो हात थियो । क्यास्त्रोको प्रधानमन्त्रीकालमा ग्वेभारा क्युवाको नेशनल बैंकका प्रमुख र त्यसपछि उद्योग मन्त्री बने । धेरैले उनलाई क्यास्त्रो सरकारको ‘बौद्धिक’ शक्ति मान्थे । ग्वेभाराले ल्याटिन अमेरिकामा अमेरिकी दमनको शशक्त प्रतिकार गरेका थिए । सामाजिक अन्यायविरुद्ध लड्न तेस्रो विश्वका देशहरुले कृषीमा आधारित क्रान्ति गर्नुपर्ने उनको ठम्याई थियो ।

यसबीच क्यास्त्रोसँग युद्ध नीतिलाई लिएर उनको मतभेद निम्तिएका हल्लाहरु पनि सार्वजनिक भए । त्यस्तै, ग्वेभारा ल्याटिन अमेरिकाका अन्य भूभागमा पनि आफ्नो क्रान्तिकारी विचारलाई फैलाउन चाहन्थें । यी र यस्तै परिस्थितिमा अप्रिल १९६५ मा राजिनामा दिएपछि उनी भूमिगत भएका थिए । यद्यपी,  अर्गनाईजेशन फर ल्याटिन अमेरिकन सोलिडारिटी  (ओएलएएस) नामक समूहसँग उनको सम्बन्ध कायम थियो । ल्याटिन अमेरिकामा दमित भएर बसेकाहरुलाई एकत्रित र संयोजित गरेर अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने प्रतिवद्धता यस समूहको थियो । ग्वेभाराको मृत्यु हुनभन्दा दुई महिनाअघि यस संगठनको बैठक हाभानामा बसेको थियो, जसले दक्षिण अमेरिकामा थप सैन्य विद्रोहको आवश्यकता रहेको कुरालाई जोड दिएको थियो । ग्वेभाराबारे फिडेल क्यास्ट्रोले भनेका छन्,‘उनी क्रान्तिकारी संघर्ष कला भएका व्यक्ति हुन् ।’

अन्य घटनाक्रम

१८८८– अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङटनको स्मृतिमा बनाइएको वासिङटन स्मारक जनताका लागि पहिलो पटक खुला ।

१९१४– प्रथम विश्वयुद्धका दौरान जर्मनीको सेनाद्धारा बेल्जियमको एन्टवर्पमाथि कब्जा ।

१९५४– अल्जेरियामा भूकम्पबाट १४ सय जनाको मृत्यु ।

१९६२– युगान्डामा गणतन्त्र स्थापना ।

२०१२– इराकमा बम हमलाबाट एक सयभन्दा धेरैको मृत्यु, तीन सय ५० जना घाइते ।

२०१२– छात्राहरुको शिक्षा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी किशोरी मलाला युसुफजाई स्कुल जाँदै गर्दा तालिवानी विद्रोहीको गोली प्रहारले घाइते ।

Title Photo: https://www.history.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप