बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामबाबु प्रसाईँ : ६० वर्षको राजनीति, गणतन्त्रमा गएपछि काँग्रेस परित्याग

यस्तो छ प्रसाईको राजनीतिक जीवन
शुक्रबार, २३ असोज २०७७, १४ : ५२
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले रातोपाटीलाई जानकारी दिए ।

प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् । विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा प्रसाईंको जन्म भएको थियो । उनी काँग्रेसका बैद्धिक तथा लोकतान्त्रिक समाजवादको व्याख्याता स्वर्गीय सीके प्रसाईंका सहोदर दाइ हुन् । 

उनका अनुसार प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि  ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनकी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दाहसस्कार गर्ने विश्वक्रमाले बताए । 

उनी ०२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए ।२०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले प्रसाईलाई केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए

कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो । अध्ययन र राजनीतिक जीवन बिताउने क्रममा नेपाल–भारत गरिरहने प्रसाई काँग्रेसका संस्थापक सदस्य समेत हुन् ।

२००३ सालमा नेपाली काँग्रेस स्थापना भएदेखि प्रसाई ०६२ सम्म काँग्रेसमा सक्रिय थिए । योबीचमा पार्टीका हरेक क्रियाकलामा उनको भूमिका अग्रमोर्चामा रह्यो । मुलुकमा प्रजातन्त्र स्थापनाको यात्रामा हिँडेका प्रसाईले बीपी, गणेशमानहरूसँगै यातना र जेलनेलको यात्रा पनि सँगै गरेका थिए ।

२०१८ सालमा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलो पटक लामो समय जेल जीवन बिताएका थिए । जेलबाट छुटे पनि इलाम बाहिर जान नपाउने गरी नौ महिना उनलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताएका थिए ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर उनी २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किएका थिए ।
राजद्रोहसहितका दुईवटा मुद्दामा प्रसाईले २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल जीवन बिताएका थिए । २०३० को चर्चित नेपालको विमान अपहरण (बिराटनगर विमान अपहरण)मा समेत उनी पक्राउ परेका थिए । 

त्यतिबेला भारतको सिलिगुडीदेखि पुर्नियासम्मका सीमा बजारदेखि बनारससम्म झिसमिसेमै एकैसाथ छापा हान्दा सिलिगुडीमा रहेका प्रसाईको विस्तरामुनिबाट प्रहरीले दुई सय २० थान गोली बरामद गरेको थियो । त्यसपछि उनी १५ दिन थुनामा र दुई वर्ष एरियाबन्दीमा परेका थिए ।

२०६२ साल भदौ १६ गते सम्पन्न काँग्रेस महाधिवेशनले राजतन्त्र निरपेक्ष भन्ने सिद्धान्त अपनाएपछि उनले भदौ १८ गते नै साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए । प्रसाईँले  काँग्रेस गणतन्त्रमा प्रवेश गरेपछि आफ्नो ६० वर्षको राजनीतिक जीवनमा ब्रेक लगाएका थिए । नेपाली काँग्रेसले लिएको लाइन र छोडेको सिद्धान्तले मर्माहत भएको भन्दै उनले बीपीपुत्र प्रकाश कोइरालाहरूसँग मिलेर त्यही साल दुर्गा पोखरेलको सभापत्विमा नेपाली काँग्रेस राष्ट्रवादी पार्टी स्थापना गरेका थिए । 

सामाजिक सेवा र कल्याणकारी कार्यमा आर्थिक र भौतिक सहयोग गरेका प्रसाईँ राजधानीको त्रिमुर्ती निकेतक जस्तो साहित्यकि संस्थामा संलग्न थिए । राजनीतिमा बढ्दै गएको विकृति र फजुल तथा विलासी खर्च गर्ने शैलीको प्रसाई कट्टर विरोधी थिए । 

उनका छोरा टोरुप प्रसाईं भने झापाको विर्तामोड नगरपालिका र आसपासका क्षेत्रमा रहेका धेरै सामाजिक संघ संस्थामा र नेपाली काँग्रेसको जिल्लास्तरिय राजनीतिमा संलग्न छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप