शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नौ अर्ब भ्रष्टाचार : डा. बाबुराम भट्टराईको दावी कति सत्य ?

ओली, प्रचण्ड र देउवालाई होला त कारवाही ?
शुक्रबार, २३ असोज २०७७, १५ : ४०
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ भ्रष्टाचार भएको दावी गरेका छन् । उनको यो दावीलाई यसर्थ पनि गम्भीर मान्नुपर्छ कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उनले यो अनियमिततामा जोडेका छन् ।

बिहीबार गोरखाको पालुङटार नगरपालिका–६ मा कार्यकर्तासामु उभिएर पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर मिलेर बूढीगण्डकी जनविद्युत् आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका हुन् । उनले तीनजना नेताले गरेको भ्रष्टाचारको प्रमाणसमेत दिन आफू तयार रहेको बताए ।

‘ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारे । उनीहरूले आयोजनाबाट अर्बौँ रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईको भनाइ छ ।

मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका नाताले पनि भट्टराईका भनाइलाई हलुका रुपमा लिन सकिँदैन । प्रधानमन्त्री र दुई पूर्व प्रधानमन्त्रीविरुद्ध भट्टराईले राजनीतिक फाइदाका लागिमात्र आरोप लगाएका हुन् त ? गम्भीर चासो र खोजीको विषय बनेको छ ।

सक्रिय राजनीतिककर्मी हुनका साथै अर्थ मन्त्रालय र मुलुकको कार्यकारी प्रमुखको भूमिकासमेत निर्वाह गरिसकेको व्यक्ति भएका कारण डा. भट्टराईसँग यस खालका विषयमा सूचनाको पहुँच छैन भनेर पत्याउन पनि सकिँदैन ।

अर्कोतिर डा. भट्टराईका दावीका सम्बन्धमा कसैले पनि खण्डन गरेका छैनन् । उनीसँग अनियमितताको प्रमाण छ÷छैन भन्नेबारे कसले अनुसन्धान र छानविन गर्ने ? राष्ट्रलाई हानी हुनेगरी त्यति ठुलो भ्रष्टाचार भएको हो भने छानविन गरी दोषीलाई कारवाही कसले गर्ने ? छानविन र कारवाहीको जिम्मेवारी पाएको निकाय किन चुपचाप छ ? प्रश्नहरु धमाधम उठ्न थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात जो कसैले पनि भ्रष्टाचार गरेको छ भने त्यसलाई नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्षम रहेको बताउँछन् । तर त्यसका लागि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

उनले मुखले बोलेजस्तो सजिलै प्रमाण जुटाउन कठिन हुने पनि बताए । ‘यो केसमा कारवाही गर्न सक्ने/नसक्नेभन्दा पनि प्रमाणका कुराहरु हुन्छन् । मुखले बोलेजस्तो भोलि प्रमाण जुटेन भने के गर्ने ? त्यसैले यो त्यति सहज छैन । तर त्यसको अनुसन्धान गर्ने निकाय भनेको त अख्तियार नै हो,’ उनले भने, ‘अख्तियारले हेर्ने विषयमा मैले धेरै कुराहरु बोल्न मिल्दैन, म रिटायर भएको मान्छे हो ।’

डा. भट्टराईले दिएको अभिव्यक्तिबारे प्रश्न गर्दा बस्न्यातले भने, ‘उहाँ (डा. भट्टराई) ले कसरी र कुन सन्दर्भमा बोल्नुभयो, त्यो विषय त मलाई थाहा भएन । किनभने कतिपय कुराहरुमा राजनीतिक कारणहरु पनि हुनसक्छन् । त्यसकारण यसै हो भन्न सक्ने अवस्था छैन । तर अनुसन्धान र प्रमाणका आधारमा जोसुकै मान्छेलाई पनि कारवाही गर्नसक्ने निकाय भनेको अख्तियार नै हो ।’

उनले मुखले बोलेजस्तो सजिलै प्रमाण जुटाउन कठिन हुने पनि बताए । ‘यो केसमा कारवाही गर्न सक्ने/नसक्नेभन्दा पनि प्रमाणका कुराहरु हुन्छन् । मुखले बोलेजस्तो भोलि प्रमाण जुटेन भने के गर्ने ? त्यसैले यो त्यति सहज छैन । तर त्यसको अनुसन्धान गर्ने निकाय भनेको त अख्तियार नै हो,’ उनले भने, ‘अख्तियारले हेर्ने विषयमा मैले धेरै कुराहरु बोल्न मिल्दैन, म रिटायर भएको मान्छे हो ।’

पूर्व प्रशासक द्वारिकानाथ ढुंगेल भने डा. बाबुराम भट्टराईले भनेजस्तै नेताहरुले भ्रष्टाचार गरेको भए प्रमाण जुटाएर कारवाहीका लागि सहयोग गर्नुपर्ने बताउँछन् । तर डा. भट्टराई नै गलत ठाउँमा परेको हो कि भन्ने आफुलाई लागेको उनले बताए ।

‘किनभने बाबुराम भट्टराईको शैक्षिक पृष्ठभूमि गोरखा जिल्लाको मध्यम परिवारमा हुर्किएर, मिहिनेत गरेर एसएलसीको बोर्डमा आउनुभएको हो । त्यसपछि पनि राम्रो स्कुलमा पढ्नुभएको हो उहाँले । विद्यावारिधिको विषय पनि राम्रै हो’, ढुंगेल भन्छन् । भारतमा आफूहरुभन्दा पछि तर राम्रै कलेजमा डा. भट्टराईले पढेको उनले बताए । ‘बरु अहिले जुन बाटोमा उहाँ लाग्नुभएको छ, त्यो बाटोको सट्टा आफ्नो शैक्षिक बाटो मै लागेको भए उहाँले देशको लागि धेरै ठुलो काम गर्न सक्नुहुन्थ्यो,’ उनले भने ।

राजनीतिमा लागेर पनि भट्टराईले कम्युनिस्ट पार्टी नछोडेको भए राम्रो हुन्थ्यो भन्ने ढुंगेलको बुझाइ छ । ‘राजनीतिमा लागिसकेपछि डा. भट्टराईले कम्युनिस्ट पार्टी छोड्नै हुँदैनथ्यो,’ उनले भने, ‘कम्युनिस्ट पार्टी छोेडेर हिँडेपछि नचाहिने नचाहिने कुरा बर्बराएर बोल्ने काम उहाँले बन्द गर्नुपर्ने हो, उहाँमा बोलीको ठेगान छैन ।’

आफु मुलुकको प्रधानमन्त्री भएका बेला भ्रष्टाचारविरुद्ध डा. भट्टराईले के कारवाही गरे भन्ने प्रश्न पनि ढुंगेल उठाउँछन् । ‘यदि प्रमाण छ भने उहाँले किन सार्वजनिक गर्न सक्नुहुन्न ? किन डराउनुहुन्छ ? हिम्मत गर्न सक्ुनुपर्छ । आफ्नो ज्यानको पर्वाह नगरी हिँडेको मान्छेले यसरी बोल्नुको सट्टा त प्रेसलाई बोलाएर मसँग यो प्रमाण छ, यो कुरामा म सार्वजनिक रुपमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने आधिकारिक निकाय अख्तियार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारवाहीका लागि भन्छु र यो कुरा गलत भए मलाई कारवाही गर भन्ने हिम्मत गर्नुपर्छ,’ ढुंगेल भन्छन् ।

अख्तियारले कारवाही गर्नसक्ला त ? भन्ने प्रश्नमा उनी राजनीतिक घुसपैठका कारण अख्तियारले त्यो क्षमता गुमाइसकेको टिप्पणी गरे ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पनि डा. भट्टराईसँग भ्रष्टाचारको त्यति ठुलो प्रमाण भए सार्वजनिक गर्न सुझाव दिएका छन् ।

उपाध्यायले रातोपाटीसँग भने, ‘यदि उहाँ (डा. बाबुराम भट्टराई) लाई त्यस्तो लाग्छ र प्रमाण पनि छ भने प्रमाणसहित उपस्थित हुनुप-यो । यदि सहि हो भने उहाँले यतिका दिनसम्म यो कुरालाई किन लुकाएर राख्नुभयो ? पहिलो कुरा त्यो पनि बुझ्नुपर्छ । हो उहाँमा तागत र प्रमाण पनि छ भने त्यो प्रमाण सार्वजनिक गर्नुप-यो ।’

सार्वजनिक मञ्चमा एउटा नेताले बोलेका कुराको कुनै अर्थ रहँदैन ? प्रश्न यो पनि हो । काठमाडौंलाई सिंगापुर बनाइदिन्छु भनेर कुनै नेताले सार्वजनिक मञ्चमा उभिएर भन्नु र कसैको नामै तोकेर भ्रष्टाचारमा संलग्न छ, त्यसको प्रमाण मसँग छ भनेर दावी गर्नु फरक कुरा हो ।

एउटा जिम्मेवार व्यक्तिले बोलेको कुरालाई उत्तिकै जिम्मेवारीपूर्वक लिनुपर्ने भन्दै उपाध्यायले डा. भट्टराईलाई सम्बन्धित निकायले बोलाएर सोध्नुपर्नेमा जोड दिए ।

ओली, प्रचण्ड र देउवाले जवाफ दिनुपर्दैन ?

सार्वजनिक मञ्चमा एउटा नेताले बोलेका कुराको कुनै अर्थ रहँदैन ? प्रश्न यो पनि हो । काठमाडौंलाई सिंगापुर बनाइदिन्छु भनेर कुनै नेताले सार्वजनिक मञ्चमा उभिएर भन्नु र कसैको नामै तोकेर भ्रष्टाचारमा संलग्न छ, त्यसको प्रमाण मसँग छ भनेर दावी गर्नु फरक कुरा हो ।

डा. भट्टराईले ओली, प्रचण्ड र देउवा मिलेर भ्रष्टाचार गरेको दावीसहित आफूसँग प्रमाण रहेको जिकिर गरेका छन् । यतिमात्र होइन, आफूले भ्रष्टाचार गरेको भए प्रमाण पेश गर्नसमेत उनले सोही मञ्चमा चुनौती दिएका छन् ।

पूर्वप्रधानमन्त्री, एउटा दलको जिम्मेवार नेताले बोलेका विषयलाई ‘घाममै सुकाइदिने’ कि जिम्मेवार निकायले छानविन गरेर वास्तविकता बाहिर ल्याउने भन्नेबारे सरोकारवालाहरुले नै निष्कर्ष निकाल्नु उचित हुन्छ । त्यसो त प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्दै आएका छन् । यद्यपि उनकै टिममा सामेल कतिपयको नाम विभिन्न काण्डमा मुछिँदासमेत छानविनको सामान्य प्रक्रिया पनि अघि बढाइएको छैन । यस्तो अवस्थामा ओलीले आफैविरुद्ध छानविनका लागि बाटो खुला गरिदेलान् भन्ने अपेक्षा सायदै कसैले गरेको होला । तर सार्वजनिक रुपमा आफूविरुद्ध लागेको आरोप यदि आरोपमात्र हो भने सरकारले पूर्वप्रधानमन्त्री डा. भट्टराईविरुद्ध मानहानी, गालीबेइज्जती लगायतमा कारवाही गर्न सक्ला त ? प्रश्न स्वाभाविक रुपमा उठ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप