बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खै सामाजिक दुरी ? अधिकांशको चिउँडोमै मास्क : सरकारलाई चुनौती कि आफ्नै स्वास्थ्यलाई ? (भिडियो)

शुक्रबार, २३ असोज २०७७, १९ : १०
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको ठेलमठेल लाइन थियो । उनीहरु स्मार्ट लाइसेन्स लिनका लागि झन्डै एक अर्कामा टाँसिएर लाइनमा थिए । उनीहरु सबैलाई हतारो थियो । यसरी लाइनमा बसेका सेवाग्राहीलाई काठमाडौं उपत्यकामा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढिरहेको थाहा नभएको हैन । तर पनि उनीहरु दुरी कायम नगरी लाइनमा थिए । 

नुवाकोटका हेरम्ब न्यौपानेले बाध्यताका कारण त्यसरी लाइन बस्नुपरेको बताए । बिजुली बजारबाट लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय पुगेका गोविन्दप्रसाद आर्चाय सबैलाई हतार भएर दुरी कायम नगरी बसेको उल्लेख गरे । भक्तपुरका सुरेश धमला सरकारी कार्यालयमा सेवाग्राहीको भीड ब्यवस्थापन नहुँदा कोरोना संक्रमण बढ्ने बताए । सामाजिक दुरी कायम नगरी सेवा प्रवाह गर्दा कोरोनाको जोखिम रहेको उल्लेख गरे । 

सामाखुसीबाट सो कार्यालय पुगेका फारुख खान सामाजिक दुरी कायम नगरी राखिएको लाइनबाट बाहिएका थिए । उनले सरकारी कार्यालय कसैले चोरबाटोबाट छिट्टै काम लिइरहेको र कसैले पेलमपेल गरेर लाइन बस्दा पनि समयमा काम नहुने बताए । सरकारी कार्यालयको सेवा दिने शैलीबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको उनी बताउँछन् । 

सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने कुरा थाहा पाएका सेवाग्राही पनि दुरी कायम नगरी लाइनमा थिए । उनीहरुलाई थाहा छ थियो तर यहाँ यसरी नै चल्छ, सबै यसरी नै लाइन बसिहेका थिए म पनि त्यसरी नै बसेँ भन्ने कुरा व्यक्त गरिरहेका थिए । 

फुटपाथ पसले, अधिकांशको चिउँडोमा मास्क 

कार्यालय बाहिर रहेको फुटपाथ पसलमा पनि ब्यापारीहरुले स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन् । अधिकांशले चिउँडोमा मास्क लगाएर ब्यापार गरिहेका थिए । सरकारले हरेक दिन प्रेस वक्तव्य जारी गर्दै, सञ्चार माध्यमबाट सूचना विज्ञापन प्रशारण गर्दै, टेलिफोन कम्पनीमार्फत प्रत्येक टेलिफोन कुराकानी गर्नुअघि मास्क लगाउन, दुरी कायम गर्न, सेनिटाइजर लगाउन, हात यसरी धुने भनेर कोरोनाबाट बच्ने सन्देश प्रवाह गरेपनि त्यसलाई पालना गर्न अटेर गरिरहेका छन् । 

यातायात व्यवस्था कार्यालय अगाडि ठेलामा फलफूल पसल राखेका हरि घिमिरे चिउँडोमा मास्क लगाएर फलफूल काटिरहेका थिए । उनले मान्छे नआएको बेला मास्क चिउँडोमा लगाउने र मान्छे आएको बेला मात्र मुख ढाक्ने गरेको बताए । ठेलामै सोडा बेच्दै आएका अर्का फुटपाथ ब्यापारी रामचन्द्र बस्नेतले पहिले कोरोना संक्रमणदेखि डर लागेपनि अहिले डर हराएको बताए । काम गर्दा स्वास फेर्न गाह्रो भएकोले बेला बेला मुखबाट मास्क हटाउने र मान्छे आएपछि लगाउने गरेको उल्लेख गरे । 

काठमाडौंका बजार क्षेत्रमा उस्तै भीँड, कसैको चिउँडोमा मास्क, कसैको खुला अनुहार 

दशैं नजिकै आएको भएर हुनसक्छ काठमाडौंका न्यूरोड, महाबौद्ध, भोटाहिटी लगायतका ब्यापारिक क्षेत्रमा चहलपहल बढेको छ । लकडाउनका बेला ब्यापार व्यवसाय ठप्प भएको यो क्षेत्रमा अहिले व्यवसायको गति बढ्दैछ । विभिन्न ठाउँबाट पुग्ने धेरैजसो ग्राहकले मास्क लगाएपनि दुरी कायम गरेर किनमेल गरेको भने देखिँदैन । कतिपय मास्क नै नलगाई त कतिपय चिउँडोमा मास्क लगाएर सामान खरिद बिक्री गरिरहेका देखिन्छन् । कोरोना संक्रमण बढिरहेको थाहा पाएका र मास्क लगाउनुपर्छ भन्ने थाहा पाएकाहरुले पनि श्वास फेर्न गाह्रो भएका कारण मास्क नलगाएको प्रतिक्रिया दिए । कतिपयले त कोरोना संक्रमणको डर हराएको समेत बताए । 

महाबौद्धमा भेटिएका नयनकुमार दासले एक्लै घुमेका कारण मास्क नलगाएको र साथीभाईसँगै भएका बेला मात्र मास्क लगाउने गरेको बताए । मास्क लगाइरहँदा श्वास फेर्न अप्ठेरो हुनेपनि उनले बताए । भोटाहिँटीमा ब्यापार गर्दै आएका रामप्रसाद चौलागाईले मास्क लगाउन र खोल्नै झन्झट हुने बताए । ममता गुरुङ चिउँडोमा मास्क लगाएर हिँडिरहेकी थिइन् । क्यामेरामा कुरा गर्ने तयार भएपछि उनले मास्क लगाउँदै कोरोना भाइरससँग डर नलाग्ने बताइन् । आफन्त परिवारमा अहिलेसम्म संक्रमण नभएकोले डर नलागेको उनको भनाई थियो । 

यतिबेला काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेपनि सर्वसाधारणहरु सरकारले निरन्तर प्रचार गरिरहेको स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गर्दै आइरहेका छन् । दुरी कायम नगर्ने, मास्क नलगाउने वा लगाएपनि चिउँडोमा लगाउने, भीडभाड गर्ने जस्ता प्रवृत्तिका कारण संक्रमणको जोखिम झन् बढाएको छ । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप