शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पठनीय र गहकिलो पुस्तक ‘कम्युनिस्ट स्कुल’

शनिबार, २४ असोज २०७७, ०९ : ०१
शनिबार, २४ असोज २०७७

विश्व कम्युनिस्ट आन्दोलनका एक नायक भ्लादिभिर इलिच लेनिनले एक प्रसङ्गमा भनेका छन्, “तिमी त्यत्तिबेला मात्र सच्चा कम्युनिस्ट बन्नेछौँ, जब तिमी विश्व मानव समुदायले आर्जन गरेका सबै ज्ञान भण्डारबाट दीक्षित हुनेछौ ।” यस भनाइले सच्चा कम्युनिस्ट वा पूर्ण कम्युनिस्ट बन्ने यात्रामा अध्ययन वा चिन्तनको क्षेत्रलाई असाधारण रूपमा व्यापक बनाइदिएको छ । यसै सन्दर्भमा मार्क्सवाद अध्ययन र विमर्शमा विशेष अभिरुचिका साथ क्रियाशील युवा लेखक एवं पत्रकार मनहरि तिमिल्सिनाले ‘कम्युनिस्ट स्कुल’ नामक नयाँ कृति सार्वजनिक गरेको छन् । उनले लामो लकडाउनको पट्यारलाग्दो समयलाई रचनात्मक अवसरमा बदलेर एउटा गहकिलो पुस्तक आम मार्क्सवादी पाठकसामु पस्किएका छन् ।

नेपालमा दिनप्रतिदिन कम्युनिस्टको सङ्ख्या जति बढ्दो छ कम्युनिस्ट आचारण, व्यवहार र चिन्तनको आयतन चाहिँ उत्तिकै घट्दो छ भन्ने आलोचनाका बीच आएको तिमिल्सिनाको यो पुस्तक आफैँमा महत्त्वपूर्ण छ । यसअघि लेखक तिमिल्सिना र गोपिरमण उपाध्यायको संयुक्त लेखन र सम्पादनमा ‘जनताको जनवादका आधारहरु’ भन्ने गहन पुस्तक सार्वजनिक भएको थियोे ।

मार्क्सवादका प्रवर्तक कार्ल मार्क्स भन्छन् ‘दुनियाँका दार्शनिकहरुले संसारलाई विभिन्न तरिकाले व्याख्या र विश्लेषण गरे तर मुख्य कुरा बदल्नु हो ।’ मार्क्सवाद संसारलाई हेर्न, बुझ्ने र मूलतः बदल्ने दर्शन हो भन्ने यसको सार हो । ‘कम्युनिस्ट स्कुल’ मा लेखक तिमिल्सिनाले मूलभूत रूपमा यही अन्तरवस्तुलाई समातेका छन् । क्रान्तिकारी मार्क्सवादको चुरो पनि यसैमा निहित छ । भनिन्छ, पुँजीवादी समाजमा पुँजीवादी चिन्तन र संस्कृति बोकेको मान्छे जन्माउनै पर्दैन, आफैँ जन्मिरहन्छन् । पुँजीवादी व्यवस्थाले त्यो स्वतः जन्माउँछ । यो रोप्नै पर्दैन, आफैँ फलिरहन्छ । तर त्यस्तो हुलबाट एउटा कम्युनिस्ट बनाउन चाहिँ मिहिनेत गर्नुपर्छ, गरिरहनुपर्छ । विचारको बीउ नरोपी कम्युनिस्ट जन्मँदैन । एक पटक रोपेकाले मात्र पनि पुग्दैन । त्यसैले कम्युनिस्ट बन्ने वा बनाउने अभियान एउटा निरन्तरको अभियान हो । यस अभियानमा लेखक तिमिल्सिनाले लेखेको ‘कम्युनिस्ट स्कुल’ले पनि एउटा इँटा अवश्य थपेको छ ।

३८० पृष्ठको पुस्तकलाई तिमिल्सिनाले मूलतः पाँचवटा खण्डमा विभक्त गरेका छन् । पहिलो खण्डमा दर्शनशास्त्रलाई समेटिएको छ । मूलतः जीवन र जगतलाई हेर्न, बुझ्ने र बदल्ने वैज्ञानिक विचार, विधि र बाटो नै मार्क्सवादी दर्शन हो भन्ने ठम्याइलाई लेखकले सिलसिलेवार रूपमा प्रष्ट्याउने प्रयत्न गरेका छन् । यसलाई थप स्पष्ट पार्दै तिमिल्सिना लेख्छन्– “मार्क्सवाद मानव जातिको मुक्ति र स्वतन्त्रताको यस्तो दार्शनिक सिद्धान्त हो जसले सर्वहारा श्रमजीवी वर्गलाई वर्गीय शोषणबाट मुक्तिको मार्गनिर्देश गर्दछ ।” यस खण्डमा उनले दर्शनको आधारभूत परिचयदेखि लिएर विभिन्न दर्शनको तुलनात्मक अध्ययन र चिरफार गरेका छन् । यस क्रममा उनले दर्शनको वर्गीय चरित्रको चर्चा गरेका छन् ।

ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको सरल व्याख्या र विश्लेषण यस खण्डमा समेटिएको छ । यसका साथै भौतिकवादी द्वन्द्ववाद र विज्ञानको अन्योन्याश्रित सम्बन्धको आयामलाई पनि लेखक तिमिल्सिनाले केलाएका छन् । पुस्तकको दोस्रो खण्ड मार्क्सवादी राजनीतिक अर्थशास्त्रमा केन्द्रित छ । मानिसका सारा गतिविधिहरु उसको पेटको आवश्यकताद्वारा निर्धारित हुन्छन् भन्ने मार्क्सको भनाइ अघि सार्दै लेखकले मार्क्सवादी अर्थशास्त्रका अनेक आयाम बारे चर्चा गरेका छन् । पुस्तकमा पुँजीवादी व्यवस्थाको गर्भबाट आधुनिक सर्वहारा वर्गको जन्म हुने र आफ्नै अन्तर्विरोधका कारण पुँजीवादी व्यवस्था समाप्त हुने निष्कर्ष छ । यसमा आजको विश्व पुँजीवादको सङ्कटको चर्चा गर्दै समाजवादी अर्थ व्यवस्थाबारे सङ्क्षिप्त चर्चा गरिएको छ । पुस्तकको तेस्रो खण्डमा वैज्ञानिक समाजवादबारे विमर्श गरिएको छ । यसमा काल्पनिक समाजवाद, युरो कम्युनिज्म हुँदै वैज्ञानिक समाजवादका विशेषताबारे व्याख्या गरिएको छ । यस खण्डमा विश्वभरका क्रान्तिका विभिन्न मोडेलको चर्चा गरिएको छ । पछिल्लो कालखण्डमा नेपाली क्रान्तिमा सघन बहस भएका जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवाद हुँदै नेकपाले सङ्क्रमणकालीन रूपमा अपनाएको जनताको जनवादबारे विश्लेषण गरिएको छ ।

‘कम्युनिस्ट स्कुल’ पुस्तकको चौथो खण्ड विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास खोतल्नमा केन्द्रित छ । पुस्तकमा कम्युनिस्ट लिग बन्नुपूर्वका विद्रोह, कम्युनिस्ट लिग, पहिलो अन्तर्राष्ट्रिय, पेरिस कम्युन, दोस्रो अन्तर्राष्ट्रिय र तेस्रो अन्तर्राष्ट्रियको सङ्क्षिप्त सिंहावलोकन गरिएको छ । यसका साथै रुसी समाजवादी क्रान्ति, चिनियाँ जनवादी क्रान्ति, भियतनामी क्रान्ति, पेरुको जनयुद्ध, कोरियाली क्रान्तिको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ ।

अन्त्यमा नेपाली कम्युनिस्ट आन्दोलनको उत्पत्ति, विकास र सम्भावनाको चिरफार गरिएको छ । विस २००६ मा स्थापना भएको नेकपा, त्यसका कैयौँ उकाली, ओराली, विभाजन, जनआन्दोलन, जनयुद्ध हुँदै पुनः दुई तिहाइ नजिक पुगेको नेकपासम्मको नालीबेली केलाइएको छ । पुस्तकको अन्तिम तथा पाँचौँ खण्ड विज्ञान र प्रविधिसँग सम्बन्धित छ । यो खण्ड विज्ञान र मार्क्सवादको सम्बन्धमा केन्द्रित छ । पुस्तकको अन्त्यमा लेखक तिमिल्सिनाले आजका वैज्ञानिक अन्वेषणहरुसँग यथोचित सन्तुलन र सरोकार राखेर मात्रै क्रान्तिकारी मार्क्सवादको रक्षा, प्रयोग र विकास गर्न सकिने दलिल पेस गरेका छन् । 

समग्रमा लेखक तिमिल्सिनाले विद्यमान दलाल पुँजीवादलाई समाप्त गरेर राष्ट्रिय र आत्मनिर्भर पुँजीको विकास गर्दै समाजवादको आधारशीला खडा गर्नु नै आजका कम्युनिस्टहरुको मूल ध्येय हुनुपर्नेमा जोड दिएका छन् । समाजवाद प्राप्तिका निम्ति कस्तो कम्युनिस्ट पार्टी बनाउने ? त्यसका लागि कस्तो विचार र कस्तो सङ्गठन बनाउने ? असल कम्युनिस्ट कसरी बन्ने जस्ता आधारभूत प्रश्नमा समेत पुस्तक एकदमै पठनीय छ । विशेषगरी कम्युनिस्ट राजनीतिमा आकर्षित हुँदै गरेका नयाँ युवा पुस्ताको आधारभूत ज्ञानको भोक मेट्न यो पुस्तक महत्त्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र बस्नेत
सुरेन्द्र बस्नेत
लेखकबाट थप