बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरो नाटक राजा वीरेन्द्रको फर्माइसमा पर्‍यो’

शनिबार, २४ असोज २०७७, ११ : २९
शनिबार, २४ असोज २०७७

चलचित्र कलाकार सङ्घका वर्तमान अध्यक्ष हुन् रवीन्द्र खड्का । सङ्घमा उनको यो दोस्रो कार्यकाल हो । यसअगाडि पनि एक कार्यकाल बिताइसकेका उनी कलाकारका लागि पेन्सनको व्यवस्था गर्ने र संस्थाको भवन निर्माण गर्ने नाराका साथ फेरि चुनिएका हुन् । सो नारा पूरा गर्न उनी अहिले कम्मर कसेर लागिपरेका छन् । विसं २०३३ मा बाल कलाकारका रूपमा रङ्गमञ्चबाट कलाकारिता सुरु गरेका खड्काको एउटा नाटक तत्कालीन राजा वीरेन्द्रले समेत फर्माइस गरेर हेरेका थिए । एक जमानका नेपाली फिल्मका सुपरस्टार समेत रहेका उनी पछिल्लो समय भने चरित्र अभिनेताका रूपमा कलाकारिता अगाडि बढाइरहेका छन् । नाटक, टेलिचलचित्र र चलचित्रका निर्देशक समेत रहेका उनी कलाकारिताबाट त्यति सन्तुष्ट छैनन् । कलाकारिताबाट नामको अलवा आफूलाई केही नमिलेको उनको गुनासो रहँदै आएको छ । कलाकारितामा गुमाएका थुप्रै अनुभव पनि छन् उनीसँग । पनौती नगरपालिकाका मेयरसमेत भएका उनलाई प्रधानन्यायधीश वा राजनीतिज्ञ बनाउने उनको बुबाको सपना थियो । बुबाको सो सपना लत्याएर उनले कलाकारिता अँगालेका कलाकार रवीन्द्र खड्काको जीवनमा विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा प्रस्तुत गरिएको छ । 

मेरो खाना
दालभात, गुन्द्रुकमा भटमास र मस्यौरा हालेर पकाएको तरकारी, गोलभेडाको अचारमा हरियो खुर्सानी मेरा मनपर्ने खाना हुन् । साकेचा र माछा पनि धेरै मनपर्छ ।
मन नपर्र्ने खाना अहिले त केही छैन । धेरै पहिले रामतोरिया मन पर्दैन थियो । विवाहपछि ससुराली गएको त्यसैको तरकारी विभिन्नथरीका मिसाएर खुवाएका थिए । त्यो बेलादेखि धेरै मनपर्छ ।

धेरै रेस्टुरेन्ट घुमेर हिँड्ने बानी छैन । कहिलेकाहीँ साथीभाइ र परिवारसँग जान्छु । रेस्टुरेन्टको मम, चिकेन फ्राई, अमेरिकन चप्सीलगायत मनपर्छ । पकाउन रुचि भए पनि आउँदैन । मैले मीठो पकाउने भनेको अन्डाकरी हो, जुन छोरीले निकै मनपराउँछिन् ।

मेरो फिट्नेस 
फिट्नेसमा खासै ध्यान दिन्न । रामदेवको योगा दैनिक एक घण्टा गर्ने गरेको छु । 
मर्निङवाक पहिले पहिले जान्थेँ । धेरै समय भयो छैन । कोरोनाका कारणले छोडेको हैन । आवश्यक नदेखेर त्यो अगाडि नै छोडेको हो ।

मेरो पोसाक
पोसाकमा सौखिन छैन म तर राष्ट्रिय पोसाक दौरासुरुवाल र कोट बढी मनपर्छ । कहिले राम्रो कार्यक्रम होला र दौरासुरुवाल लगाएर आइज भन्लान् भन्ने लागिरहन्छ ।
कटराइज र जिन्स पाइन्ट मनपर्छ । टिसर्ट, सर्ट पनि प्रयोग गर्छु । ब्लु र क्रिम मेरो मनपर्ने पोसाक कलर हुन् । मेरो पोसाक जति सबै श्रीमतीले किनिदिने भएकाले ब्रान्डेड हुन्, नर्मल के हुन्छ मलाई थाहा हुँदैन । 
पोसाकमा धेरै सौखिन छैन । त्यसैले वर्षमा ३५, ४० हजारको पहिरन भए पुग्छ । 

मेरो अध्ययन
नियमित अध्ययनको रुटिङ छैन । तर पढ्न र लेख्न मनपर्छ । कथाहरु पढ्छु । पहिले पहिले नाटक धेरै पढ्थेँ । चर्चा भएका, बजारमा आएका राम्रा किताब खोजेर पढ्ने गरेको छु ।
रुबिनाथ कोइरालाले लेखेको एक किताब र हरिवंशको ‘चिना हराएको मानिस’ पछिल्लो समय अध्ययन गरेका पुस्तक हुन् ।

मेरो फुर्सद
फुर्सद हुँदैन भन्दा फरक पर्दैन । किनभने कहिले साथीभाइको, कहिले समाजको, कहिले आफन्तको काम परिरहेको हुन्छ ।
कसैले केही न केही काममा मलाई अल्झाइ रहेका हुन्छन् । म हुन्न, गर्दिनँ भन्न पनि सक्दिनँ ।  

मेरो खेलकुद 
पहिले धेरै फुटबल खेल्थेँ । त्यो समय यसमा शोख धेरै नै थियो । स्कुल, कलेज स्तरीय विभिन्न टुर्नामेन्ट पनि खेल्थेँ । गणेश थापाले खेल्ने बेलासम्म खेल्थेँ । भलिबल समेत खेल्थेँ । अहिले भने फुटबल हेर्न मनपर्छ ।

मेरो मोबाइल
अहिले मसँग सामसुङ ब्रान्डको जे फोर मोबाइल छ । फोन गर्नुको अलवा अनलाइन समाचार पढ्न, सामाजिक सञ्जाल चलाउन धेरै प्रयोग हुन्छ ।
म हड्बढे स्वभावको छु । मोबाइल हराउने भन्दा पनि खसेर फुट्ने गर्छ । गिफ्ट पनि धेरै पाएको छु । अहिले मसँग भएको मोबाइल पनि चेली कविता खड्काले विदेशबाट पठाइदिएकी हुन् ।
  
मेरो टिभी 
टिभी प्रायः बेलुका हेर्छु । समाचार र गीतहरु धेरै हेर्ने गरेको छु । यो लकडाउनमा  फिल्महरु पनि धेरै हेरे । 

मेरो कलाकारिता
मेरो कर्म, पेसा नै कलाकारिता हो । तर जिन्दगीभर कलाकारिताबाट कमाइ गर्न सकिनँ । बाबुबाजेको सम्पत्ति रित्याएर पनि कलाकारितामा ४२, ४३ वर्षदेखि निरन्तर छु ।
२०३३ सालमा मैले प्रज्ञा भवनको ‘जाल’ भन्ने नाटकबाट रङ्गमञ्च अभिनय सुरु गरेको थिएँ । करिब डेढ घण्टाको यो नाटकमा मेरो करिब ३ मिनेटको अभिनय र डाइलग थियो । 
सो समय मलाई दुई सय एक रूपैयाँ नगद र प्रशंसा पत्र दिए । मेरो प्रशंसामा सबैतिरबाट ताली समेत पड्किएका थिए । त्यो देखेर यो क्षेत्र राम्रो रहेछ भनेर रोजेँ । 

आजसम्म पनि म यो क्षेत्रमा छु । कलाकारिताको मलाई नसा लागेको छ । खान पाए पनि नपाए पनि यो क्षेत्र छोड्न सक्दिनँ । अन्य काम गर्न सकिनँ । परिवारमा आर्थिक सङ्कट पर्दा अहिले आएर लाग्न थालेको छ । पैसातिर पनि ध्यान दिनुपर्दाे रहेछ ।

म नाटक, टेलिचलचित्र हुँदै चलचित्र अभिनयमा प्रवेश गरेको हो । २०३९ सालमा निर्मित चलचित्र ‘बदलिँदो आकाश’बाट मेरो चलचित्र अभिनय सुरु भएको थियो । नाटक, सानो पर्दाको शृङ्खला मेरो करिब ३ सय पुग्यो होला । चलचित्र ९० नाघ्यो होला कि ।

२०३९ देखि अहिलेसम्म कहिलेकाहीँ वर्षमा ४, ५ वटा चलचित्र पनि खेलेको छु, कहिलेकाहीँ एउटा मात्र पनि । मेरो निरन्तरता भने कायम नै छ ।
करिब एक दशक म सर्वश्रेष्ठ नायकसमेत भए । अहिले कलाकारका रूपमा काम गरिरहेको छु । कलाकारिता नसा जस्तो भयो । छोड्न सकिनँ । एक छाक खाएर पनि यसैमा छु । बुबाबाजेको इज्जतका लागि पनि आर्थिक अभाव लुकाउने गरेको छु ।

मेरो निर्देशक रहेको साहित्यकार मोहनराज शर्माले लेख्नुभएको नाटक ‘जेमन्त’ नेपालमा नहेर्ने सायदै थिए होलान् त्यतिबेला । आफैले नाटक हेरिदिनुपर्यो भनेर बिन्ती बिसाउने समयमा तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहले समेत नाटकको चर्चा सुनेर फर्माइस गर्नु भएको थियो । त्यो नाटकमा भोलिको प्रधान न्यायाधीश सपना मल्ल प्रधान, अशोक शर्मा, मञ्जिल श्रेष्ठल गायतका कलाकार समेत रहेका थिए । 

मेरो सुख, दुःख 
कलाकारिताको कारणले धेरैले चिन्छन् । अभिनयका तारिफ गर्छन् । सबैले राम्रो हिसाबले हेर्छन् । यो मेरा लागि सुखको अनुभूति हो ।
घरायसी, व्यक्तिगत तथा बालबच्चाको समस्या टार्न खोज्दा, बनाएको घर टहरको ऋण तिर्न खोज्दा पैसाको अभाव जो हुन्छ त्यसबेला दुःख महसुस गर्छु ।
मैले दुःख पाएको छु । मेरो गुरु रवीन्द्र खड्का भन्न कसैले रुचाउँदैन यहाँ । सुख पाएको छु, चर्चामा छु भने हल्ला गरेर मेरो गुरु भन्छन् । त्यो पनि एक दुःखको अनुभूति हो ।
अभिनयबाट देशविदेशको पुरस्कार पाएको छु । यो सुखद् अनुभूति हो ।

मेरो प्रेम 
विसं २०५१ मा मैले प्रेम विवाह गरेको हो । त्यतिबेला ‘समय’ भन्ने टेलिशृङ्खला मैले बनाएको थिए । उक्त शृङ्खलाको निर्माताको नाता पर्ने उनी पनि मुहूर्तको सुटिङमा आएकी रहिछन् । 
त्यहीँ हाम्रो चिनजान भयो । त्यो पहिलो भेटबाटै उनी मसँग र म उनीसँग आकर्षित भएका थियौँ । फोन नम्बर आदान प्रदान पनि त्यहीँ भयो ।
त्यो समय हामी रातभर फोनमा कुरा गरेर बस्थ्यौँ । करिब २ वर्षपछि ठूलै सङ्घर्ष गरेर विवाह गर्यौँ । उनको परिवार खानदानी भएकाले कलाकारिता क्षेत्रमा लागेको मानिस मन पराउँदैन थिए । भागेर विवाह गरौँ भन्दा उनले पनि मानिन् । 

मेरो बुबा त्यतिबेला सांसद हुनुहुन्थ्यो । माननीयको छोरा भएको कारणले कलाकारितामा लाग्दैन मानिस बिग्रने होइन भनेर उनको परिवारलाई झम्झाएर विवाह गर्यौँ ।
कलेज लाइफमा अरूले पनि मलाई प्रेम गर्थे । मैले पनि केहीलाई गरेको थिएँ । जब उनीसँग प्रेम बस्यो, विवाह भयो । त्यसपछि बाहिर प्रेम भएन ।

मेरो सपना
व्यक्तिगत सपना केही छैन । कलाकारहरुका लागि एउटा भवन बनाउनु छ । अहिले कलाकार सङ्घमा आएको पनि त्यसैका लागि हो । यसका लागि धेरैको साथ र सपोर्ट रहँदै आएको छ ।
त्यसको सुरुवात नेपाल सरकारले पेस गर्ने बजेटमा कलाकार सङ्घको भवन राखेर सुरु गरिएको छ । अब भवन बन्छ ।
घरायसी ऋण, समस्या त धेरै छन् । त्यो सबै हटाएर परिवारलाई एउटा घर, गाडी जोड्न पाए हुन्थ्यो भन्ने पनि छ । कलाकारिताबाट त्यो काहाँ ?

मेरो राजनीति 
अहिले म नेकपासँग आबद्ध छु । सूर्यबहादुर थापा प्रधानमन्त्री र कमल थापा स्थानीय विकास मन्त्री हँुदा ११ महिना पनौती नगरपालिकाको मेयर भएँ । 
मेरो बुबा राजनीति गरेर माननीय पनि हुनुभयो । उहाँको मप्रति दुईवटा इच्छा रहेको थियो । सुरुमा प्रधानन्यायाधीश बनाउने इच्छाले उहाँले मलाई क्याम्पसमा भर्ना गराउनुभयो । तर मेरो त्यतातिर भन्दा पनि कलाकारितातिर रुचि भयो ।
अर्काे इच्छा राजनीति गराउनु थियो । बुबाको करणले पनौती नगरपालिकाको मेयर भएँ ।
त्यतिबेला कलम थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिरेर मेयर बन्नु भन्नुभएको थियो । मैले उहाँलाई पनौती नगरपालिकाको हित सोच्नु भएको छ भने स्वतन्त्र रूपमा मेयर बनाउनुस् भने । उहाँले मेरो इच्छा पूरा गर्दिनुभयो ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ, सुन्छु । कहिलेकाहीँ गुनगुनाउँछु पनि । पुराना हिन्दी, नेपाली गीतहरु बढी सुन्छु । नेपालीमा नायारायण गोपाल, फत्तनेमान, भक्तराजका र हिन्दीमा पुराना गायक मुकेस रफीको सुन्छु । गहिरो भाव लुकेको, गहन शब्द भएका गीत मनपर्छन् । 

मेरो मापसे
पहिले मापसे गर्दिनथेँ । पछिल्लो समय कामको कारणले हल्का गर्न थाले । नगर्ने बानीले साथीभाइसँग कामको सल्लाह, मिटिङ लगायत कुरामा समस्या पर्न थाल्यो । 
म वाइन मात्र पिउँछु । त्यो पनि एक दुई प्याक मात्र । घरमा मापसे सजाएर राख्ने चलन मेरो  छैन । 

मेरो भुल 
मानिस हुँ । जानी नजानी धेरै भुल भए होलान् । धेरैलाई विश्वास गरे । त्यो पनि मेरो भुल भयो । कसैलाई विश्वास गर्दा २, ३ रोपनी जग्गा खाइदिए । त्यो कुनै दिन निकाल्न सकिन्छ होला ।
आफैले बुबा भनेर सम्मान गरेर विश्वास गरेर घर किनेँ । त्यो पनि डुबेको छ । थानकोटमा जग्गा पनि डुबेको छ । जतिलाई विश्वास गरे । ती सबैले मेरो नोक्सान मात्र गरे । जसका कारणले म अहिले म थकथक मानिरहेको छु । 
साझो हुनु मेरो सबैभन्दा ठूलो भुल रहेछ । त्यसको अहिले पछुतो छ ।


  
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो रोग केही छैन । पछिल्लो समय ग्यास्ट्रिक र साधारण युरिक एसिडले सताउन थालेको छ । त्यसको औषधि खाएपछि ठीक हुन्छ ।

मेरो राशि  
मेरो राशि मीन हो । ग्रहदशामा विश्वास लाग्छ । विभिन्न ठाउँमा गएर हेराउने जुराउने गर्दिनँ । हेराउँदा केही न केही देखाउँछन् । त्यसले डर र झन्झन निम्त्याउँछ ।

मेरो मृत्यु
मृत्यु अन्तिम सत्य हो । जुनबेला जहाँ पनि हुनसक्छ । मर्नुपर्छ भन्ने सबैलाई थाहा छ । मरेपछि पनि सम्झने काम गर्नुपर्छ । त्यसको मृत्यु मात्र सार्थक हुन्छ । मरेपछि पनि सम्झने व्यक्ति बन्ने कोसिस मेरो सधैँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप