शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसवर्षको फूलपाती बढाइँ साङ्केतिक

शनिबार, २४ असोज २०७७, ११ : ५६
शनिबार, २४ असोज २०७७

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना  गरिने भएको छ  । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासकासाथ मनाउँदै आएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासकासाथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन  प्रतिकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उनले भने, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यसपटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमिति गरिएको छ । ” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।
 
विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेना जनाइएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्या विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यसपटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने छ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवारसहित बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए। उपस्थिति हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप