शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको उत्तरपुस्तिका नष्ट प्रकरण : काठमाडौँका एसएसपी ज्ञवालीविरुद्व आईजीपीसमक्ष उजुरी

शनिबार, २४ असोज २०७७, १३ : ५४
शनिबार, २४ असोज २०७७

काठमाडौँ । त्रिविको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डीएसपी देवि प्रसाद पौडेलविरुद्व उजुरी परेको छ । 

स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवालीसहितका प्रहरी अधिकृतविरुद्व प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका हुन् । रातोपाटीलाई प्राप्त उजुरी विवरण अनुसार ज्ञवालीसहितका प्रहरी अधिकृतलाई कारवाहीको माग गरिएको छ । 

उजुरीमा त्रिभुवन विश्वविद्यालयले नियमविपरित उत्तरपुस्तिका धुल्याएको घटनाको अनुसन्धान, तहकिकातका अतिरिक्त आवश्यक प्रमाण संकलन नगरी प्रहरीले तामेलीमा राखेको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ, ‘आवश्यक प्रमाण बुझाउँछु भन्दासमेत बुझ्नुपर्ने पक्ष म जाहेरवालासमेतलाई नबुझी सूचना लुकाई शक्तिशाली मानिस अभियुक्त रहेकाले अनुसन्धान नगरी तामेलीमा राखेर लाचारीपन देखाइएको छ ।’

सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले ‘यो सामान्य विषय हो, उजुरीकर्ता आफै थाक्छन्’ भनेर हल्का रुपमा लिएपछि अहिले सो विषय पेचिलो बनेको छ । 

‘भदौ २१ गते एसएसपी ज्ञवालीले जाहेरी दरखास्त दर्ता गर्न मानेन् । त्यसपछि हुलाकबाट पठाउँदा पनि उनले दर्ता गरेनन् । दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी गरेपछि मात्रै असोज ९ गते जाहेरी दरखास्त दर्ता गरी कारबाही गर्न आदेश थियो,’ विद्यार्थी पौडेल बताउँछन् । 

प्रहरीले जाहेरी दर्ता नगरेपछि दर्ता गर्नु भनेर सरकारी वकिल कार्यालयले प्रहरी कार्यालयलाई लेखेको प्रमाण ।
 

सूचना अयोग र सतर्कता केन्द्रको आदेश आउनु अगाडि (नजलाउनु भन्ने) उक्त आदेशपछि पनि उनीहरुलाई जोगाउने हिसाबले असोज १२ गते जिल्ला सरकारी वकिलको कर्यालयमा प्रहरीले झुठो प्रतिवेदन बुझाएको पौडेलको आरोप छ  । 

त्यस्तै ०७६ मंरिमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले उत्तरपुस्तिका सिलबन्दी गरेर सुरक्षित राखिएको पत्र राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको थियो । ०७७ असार ३० मा सर्वोच्चले उत्तरपुस्तिका ‘नष्ट नगर्न’ अन्तरिम आदेश जारी गरेको थियो । तर, त्रिविले सो उत्तरपुस्तिका नष्ट गरिसकेको बताइएको छ ।   

राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको पत्र अनुसार सर्वोच्चको आदेश भन्दा अगाडि उत्तरपुस्तिका नष्ट भएको देखिँदैन । ‘०७६ असोज ७ अगावै उत्तरपुस्तिका नष्ट गरिसकेको अवस्था छ,’ प्रहरी भन्छ । तर, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयको पत्रअनुसार ०७६ मंसिर २० सम्म (बुँदा नम्बर १) उत्तरपुस्तिका नष्ट नगरी सिलबन्दी गरेर राखिएको भनिएको छ । 

हेर्नुहोस् पत्र

राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगले आदेश दिनु अगावै नजलेको भन्ने प्रमाण ।

२०७५ पुस २९ मा त्रिवि स्नातकोत्तर तथा भौतिकशास्त्रको प्रथम सेमेष्टरको पुरानो कोर्सको आशिंकतर्फको क्वान्टम मेकानिक्स विषयको परिक्षामा पुस्तकभन्दा बाहिरको प्रश्न सोधिएको भन्दै विवाद भएको थियो । आफ्नो गल्ती ढाकछोप गर्न लेख्दै नलेखेकालाई उच्च अंक दिएर उत्तर परीक्षण गरेका थिए । सोही उत्तरपुस्तिका जलाइएको हो । 

यसबारे त्रिवि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र सुचना आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्नपत्रको अनियमिततामाथि पत्र लेखेको छ । ०७६ वैशाख १९ मा अख्तियारले गरेको पहिलो पत्राचारमा त्रिविले कुनै जवाफ दिएन । ०७६ जेठ १६ गते अख्तियारले पुनः ताकेता गरेको थियो । ‘हामीले छानविन गरिरहेका छौँ,’ त्रिविले अख्तियारलाई जवाफ लेखेर पठायो । 

उत्तरपुस्तिका जलाउनेहरुविरुद्ध ‘प्रमाण लोप गरेको’ कसुरमा मुलुकी अपराधसंहिता–०७४ को दफा ९२ र दफा ९३ बमोजिम कारबाही गर्न माग गरिएको छ । जाहेरीमा मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा ८, दफा ९ तथा दफा ११ बमोजिम जिम्मेवारी अधिकारीहरुमाथि छानविन हुनुपर्ने माग गरिएको हो । 

अन्तिमपटक आयोगले असोज २ गते उत्तरपुस्तिका जलाएको विषयमा छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनि त्रिविको परीक्षा नियन्त्रणका कार्यालयलाई पत्राचार गरेको थियो । तर, १५ दिन बितिसक्दा समेत प्रतिवेदन बुझाएको छैन् ।

उजुरीको पूर्णपाठ पढ्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप