शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक्लिँदै रवीन्द्र मिश्र : ‘वैकल्पिक शक्ति’ भित्र पहिरो !

आइतबार, २५ असोज २०७७, १९ : २०
आइतबार, २५ असोज २०७७

काठमाडौं । बीबीसीको जागिरबाट अवकाश लिएका रवीन्द्र मिश्रको संयोजकत्वमा २०७३ साउन ३ गते ‘समृद्धि हाम्रै जीवनकालमा’ भन्दै ‘साझा पार्टी’ गठन भयो । पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टताको जगमा ‘सु–संस्कृत राजनीति’ प्रवर्द्धनको नारा सो पार्टीले अगाडि सारेको थियो । 

राजनीतिक आन्दोलनका क्रममा जेल–नेल भोगेका नेताहरु सम्मिलित पार्टीलाई चुनौती दिँदै साझा पार्टीमा नयाँ अनुहार र युवालाई जिम्मेवारी दिइयो । नयाँ जोस–जाँगरका साथ साझा पार्टी गएको स्थानीय तहको चुनावी मौदानमा उत्रियो । 

सो पार्टीका उम्मेदवारले कुनै पनि स्थानीय तहमा जित हासिल गरेनन् तर नयाँ दल भएर समग्रमा सन्तोषजनक मत पायो । ०७० सालको संविधानसभा चुनाव अघि नै राजनीतिक अभियानका रूपमा उदाएको दल विवेकशीलसँग २०७४ साउनमा साझा पार्टीको एकता भयो । 

एकीकृत पार्टीको नाम विवेकशील साझा राखियो । पार्टी एकतापछि समाजमा वैकल्पिक राजनीतिप्रति एउटा सकारात्मक बहस छेडिएको थियो । ०७४ मंसिरमा भएको आम चुनावका बेला मिडिया र सामाजिक सञ्जालमा विवेकशील साझाको खुबै चर्चा पनि भयो । 


‘अबको आशा, विवेकशील साझा’, ‘अबको निकास, आर्थिक विकास’ र ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारा घन्कियो । सो पार्टीका नेता कार्यकर्तामा अधिकांश युवा तथा जोसिला देखिन्थे । राजनीतिक बेइमानी, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा उनीहरुले प्रमुख दलहरुको चर्को आलोचना गर्दथे ।

भनिन्छ, आलोचना गर्न सजिलो हुन्छ, आलोचनाबाट बच्न गाह्रो हुन्छ । काँग्रेस–कम्युनिस्टका बेथिति केलाएर आलोचना गर्दै आएको विवेकशील साझा पार्टीले आफूभित्रै हुर्किएको अविश्वास र शंकालाई चिर्न सकेन । साझा र विवेकशील पार्टीबीचको एकता कायम रहिरहन सकेन । एकताको १७ महिनामै २०७५ पुसमा उनीहरुको बाटो छुट्टियो ।

महाधिवेशनमार्फत् विवेकशील दलको नेतृत्व उज्ज्वल थापाले मिलन पाण्डेलाई हस्तान्तरण गर्दा मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबाट भने नेताहरु बाहिरिने क्रम जारी छ । मिश्रले पार्टी स्थापनामा साथ दिएका ओमप्रकाश अर्याल, सरोज धिताल, जयभद्र खनाल, रेशु अर्याल ढुंगाना लगायतको साथ चाँडै गुमाए । क्षमता भएका व्यक्तित्वहरूलाई सम्हाल्न नसकेको आरोप उनीमाथि लाग्यो । 

पार्टी एकता टुट्नासाथ ‘विकल्पको बर्बादी’ भन्दै नेता कार्यकर्ताहरु टाढिन थाले । हाल साझा पार्टीका प्रवक्ताले समेत संयोजक मिश्रको साथ छाड्नु परेको अवस्थाले सो पार्टीको भविष्य र पार्टीभित्रको राजनीतिक अभ्यासबारे प्रश्न खडा गरिदिएको छ ।

पूर्वाधार विज्ञसमेत रहेका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले मिश्रको साथ छोडिसकेको अवस्था छ । यस्तै वामपन्थी राजनीतिक पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा छिरेका मुमाराम खनाल पनि साझाबाट केही अघि बाहिरिए । गत असारको अन्तिम साता आचार्य र खनालले साझासँग सम्बन्ध विच्छेद गरेका थिए । प्रवक्ताका रुपमा आचार्यको भूमिका प्रभावकारी नै देखिएको थियो । टेलिभिजन, अनलाइन, प्रिन्ट मिडियामा उनले पार्टीलाई निरन्तर उभ्याइरहे ।

वौद्धिक नेताको छवि बनाएका खनाल पनि राजनीतिक भट्टीबाट खारिएर आएका नेता थिए । तत्कालीन माओवादी पार्टीका अतिरिक्त डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत राजनीतिक जिम्मेवारी सम्हालेर उनी साझा पार्टीमा जोडिएका थिए । 

मिश्रको कार्यशैलीसँग फरक मत राख्दै आचार्य र खनालले साझा पार्टी परित्याग गरे । २२ असोजमा पनि साझा पार्टीका केन्द्रीय सदस्यद्वय मानवी पौडेल र सिद्धि अर्यालले पार्टीबाट अलग भएको घोषणा गरे ।

वैकल्पिक शक्ति निर्माणको नारा दिएका मिश्रले पार्टी निर्माणको पाँच वर्षमा करिब एक दर्जन केन्द्रीय नेताको साथ गुमाइसकेका छन् । भन्नलाई ‘वैकल्पिक शक्ति’ भने पनि कामको ढर्रा परम्परागत र पुरानै पार्टीको जस्तो रहेको सो पार्टीबाट बाहिरिनेहरुको भनाइ छ । 


नेताहरु किन साझाबाट बाहिरिए ?

साझाबाट बाहिरिएका राजनीतिक विश्लेषक मुमाराम खनाल वैकल्पिक पार्टीलाई बुझ्ने सवालमै नेतृत्व असफल भएको दावी गर्छन् । ‘साझा पार्टीले दुई लाख १२ हजार मत ल्याएर एउटा विश्वास दिलायो । निर्वाचनसम्म साझा पार्टीले काम ग-यो । निर्वाचन सकिएपछि साझा पार्टी भन्ने मरिसक्यो,’ उनी भन्छन्, ‘त्यसले कि त अर्को कोर्स लिएर जानुपथ्र्याे, विवेकशील जोडियो, फुट्यो । त्यो विवेकशील पनि हरायो । नाममा मात्र अस्तित्व रहेर हुँदैन । उसले बोकेको एजेण्डामा न कुनै बहस भयो, न त्यो एजेण्डा के हो भनेर त्यो पार्टीले थाहा पायो । युवा–युवा भन्ने विवेकशीललाई युवाको अबको गन्तव्य के हो भन्ने नै थाहा छैन ।’

सिरियस मान्छेलाई साझाले आकर्षण गर्न छाडेपछि पार्टी छाड्नेको लस्कर लागेको उनको भनाइ  छ । खनालले भने, ‘मुलुक परिवर्तन गर्ने भन्ने एउटा शब्द साझाले जान्यो । तर मुलुक परिवर्तन कसरी हुन्छ भन्ने कुरा त्यहाँभित्र भएन । त्यसैले सिरियस मान्छेलाई साझाले आकर्षण गर्न छाड्यो । त्यसपछि सिरियस मान्छेले साझा पार्टी छोडे ।’

उनका अनुसार साझासँग एउटा राजनीतिक पार्टीले मुलुक कसरी परिवर्तन गर्छ भन्ने कुनै सोच, योजना र रणनीति छैन । ‘यो मुलुक बिग्रियो, यो मुलुक परिवर्तन गर्नुपर्छ, पुरानाले सकेनन्’ भन्ने बाहेक साझा पार्टीको नेतृत्वसँग कुनै वाक्य नै नरहेको उनको भनाइ छ । साझा र विवेकशीलको राजनीति अन्ततः वाक्य र शब्दभन्दा माथि जान नसकेको खनाल बताउँछन् ।

‘चारवटा शब्दमा विवेकशील सकिन्छ, चारवटा वाक्यमा साझा सकिन्छ । विवेकशीलभन्दा साझा चार वटा वाक्यमा मात्र उन्नत छ,’ उनले भने, ‘यहाँ नेपाली राजनीतिमा चारवटा नयाँ ग्रन्थ चाहियो, नयाँ भाषा चाहियो, नयाँ बाटो चाहियो, पार्टी संगठनको नयाँ प्रारुप चाहियो । विचार, संगठन, संस्कृति यावत नीतिगत विकासबारे प्रतिक्रिया दिएरमात्र हुँदैन, त्यसको समाधानसम्म पुग्ने सिरियस मान्छे त्यहाँ भएन ।’

७० वर्षसम्म काँग्रेस र कम्युनिस्ट पार्टीले नेपाली जनतालाई पढाएको गलत स्कुलिङ चिर्नसक्ने ल्याकत साझा र विवेकशीलसँग नभएको खनालको बुझाइ छ । ‘७० वर्षसम्म काँग्रेस र कम्युनिस्ट पार्टीले राजजीतिमा लागेपछि पूर्णकालीन हुनुपर्छ, पार्टीलाई शक्तिशाली बनाउनुपर्छ, पार्टीलाई सत्तामा पु-याउनुपर्छ र सत्तामा पुगेपछि लुट्नुपर्छ भन्ने गलत स्कुलिङ पढाए,’ उनले भने, ‘एउटा राजनीतिक दल नराम्रो भयो भने अर्को पार्टीमा गएर पनि सहयोग गर्न सकिन्छ भन्ने स्कुलिङको विकास गरेको भए दलहरु डराउँथे ।’ 

पुराना पार्टीमा एउटा पार्टीमा लागेपछि स्थायी जागिर जस्तो त्यो पार्टी छोड्नु हुन्न, त्यही पार्टीलाई माध्यम बनाएर लुट्नुपर्छ भन्ने गलत स्कुलिङ भएको उनले प्रष्ट पारे । ‘यो गलत कुरालाई बदल्नुपर्छ भन्नेमा कुरामा आफूलाई वैकल्पिक भन्नेहरु पनि फरक हुन सकेनन्,’ उनी भन्छन्, ‘न साझा फरक भयो, न विवेकशील फरक भयो ।’

वैकल्पिक पार्टी भन्नेहरुले पनि ‘नियतात्मक बाटो’ रोजेको उनको भनाइ छ । साझा पार्टीको वर्तमान चित्र देखाउँदै उनले भने, ‘त्यो भनेको एउटा मान्छेलाई पार्टी चाहियो । उसले केही मान्छे जम्मा पारेर आफ्नो नेतृत्वमा पार्टी बनाउँछ । त्यो पार्टीमा आफू सधैँ एक नम्बरमा रहिरहन्छ,’ उनले भने, ‘अरु बाँकीलाई आउनुहोस् पार्टी बनाऊ, मेरो पार्टी बनाऊ भन्छ ।’

यो विधिलाई ‘डिटरमिनिस्टिक मेथड’ भनिने तर्क गर्दै खनाल भन्छन्, ‘डेमोक्रेटिक पार्टी त्यस्तो तरिकाबाट बन्दैन । जुन पार्टी डेमोक्रेटिक हुँदैन, त्यो पार्टी वैकल्पिक पनि हुन्न ।’

वैकल्पिक पार्टी प्राकृतिक ढंगले बन्ने उनको जिकिर छ । ‘तपाई र म बेरोजगार भयौँ । हाम्रो शिक्षाले हामीलाई रोजगारी दिएन भने तपाई र म मिलेर बोर्डिङखोजे जस्तो पार्टी बनाउने कुरा होइन । अहिलेका वैकल्पिक पार्टी भन्नेहरु डिटरमिनिस्टिक कै बाटोमा गए,’ उनले भने । 

काँग्रेस, कम्युनिस्ट पार्टी सुरुमै खराब नभएको प्रष्ट पार्दै उनले अहिले विधि, पद्धति तोड्दा र समय सान्दर्भिक नभएकोले उनीहरु खराब हुन पुगेको बताए । ‘वैकल्पिक भन्ने पार्टी समय सान्दर्भिक त हुनुप-यो नि । संवादमुखी हुनुप-यो, सहभागितामुलक हुनुप-यो र त्यो कुनै एक जनामा आग्रहित रहेर भएन,’ खनालले भने, ‘एक जना असल मान्छे भन्दै त्यसैको वरिपरि पार्टी बनाउनेभन्दा पनि पार्टीको एजेण्डा र विधिले सबैलाई असल बनाउने कुराको थालनी गर्नुपर्छ ।’

उनका अनुसार राजनीतिक पार्टीमा जति आफूलाई समय हुन्छ त्यति योगदान गर्ने र सजिलै गरी निस्किने संस्कारको विकास गर्न जरुरी छ । ‘स्थायी जागिर खाएजस्तो एउटा पार्टीमा लागेपछि कहिले पनि नछोड्ने, त्यो पार्टीलाई सत्तामा पु-याउने, मन्त्री हुने, प्रधानमन्त्री हुने, आफुले त्यही पार्टीबाट कमाउने, सन्तानलाई त्यही पार्टीमा लगाइदिने सोचबाट वैकल्पिक पार्टीहरु मुक्त हुनुपर्छ,’ उनले उदाहरण दिँदै भने, ‘मसँग जति समय हुन्छ मैले पार्टीलाई दिएँ । मेरो व्यक्तिगत जीवन पनि छ । त्यसलाई यसरी सोच्नुपर्छ ।’

मन्दिरमा जाने मान्छे भगवान मान्छ तर त्यो मन्दिरमै डेरा गरेर बस्दैन भन्दै उनले पार्टीलाई पनि त्यही रुपमा विकास गराउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप