शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा अलपत्र १७ नेपाली स्वदेश फर्किए

सोमबार, २६ असोज २०७७, ०८ : १७
सोमबार, २६ असोज २०७७

कोरोनाको महामारीका कारण युएईमा अलपत्र परेका १७ नेपाली श्रमिक अन्ततः स्वदेश फर्किएका छन्।फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु  नेपाल एयरलाईन्सको उडानमार्फत आइतवार स्वदेश फर्केका नेपाली दूतावास युएईका श्रम काउन्सिलर निर्मला थापाले रातोपाटीलाई बताइन्।

उनीहरु जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका थिएनन्। कोरोनाको महामारी कारण कम्पनीमा काम नहुँदा उनीहरुसहित अन्य सोही कम्पनीका ३ सय ५८ जना नेपाली रोजगारविहीन भएका थिए।

तर जरिवाना तिर्न नसकेका १७ जना बाहेक अन्य श्रमिक भने केही समय पहिल्यै नेपाल फर्किसकेका छन् । करार अवधि सकिएर ओभरस्टे बापत जरिवाना तिर्न नसकेका १७ जना श्रमिक भने दुवई विमानस्थलबाट फर्किएका थिए।

गत जुलाई १२ तारिखदेखि बिना भिसा युएई बसेका उनीहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनए र नेपाली समाज युएईले बस्ने खाने व्यवस्था गरेको थियो ।करार अवधि सकिएर लामो समय बिना भिसा युएई बसेका श्रमिकहरुको ६० हजार दिर्हाम अर्थात करिब (१९ लाख रुपैयाँ) जरिवाना शुल्क नेपाली दूतावास युएईको अनुरोधमा दुबई अध्यागमनले  मिनाहा गरेको थियो । जसका कारण पीडित श्रमिकहरु सहजै नेपाल फर्कन पाएका हुन्।

श्रम काउन्सिलर थापाका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट हवाई टिकट उपलब्ध गराउनुको साथै नेपाली समाज युएईको सहयोगमा पीडितहरुलाई एस्टर क्लिनिकबाट निःशुल्क पीसीआर परीक्षण गराइएको बताइन्।

पीडित श्रमिकहरलाई सुरु देखिनै एनआरएनए र नेपाली समज युएईले खान र बस्नको व्यवस्थापन गर्दै आएको  भएपनि आर्थिक भारका कारण लामो समयसम्म रेखदेख गर्न नसक्ने भन्दै पन्छिएका थिए। महिनौँदेखि रेखदेख गर्दै आएका संघसस्थाले साथ छाडेपछि उनीहरु झनै बिचल्लीमा परेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप