बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्योतिष शास्त्रबारे डा न्यौपानेको पुस्तक सार्वजनिक

सोमबार, २६ असोज २०७७, १२ : २३
सोमबार, २६ असोज २०७७

काठमाडौं । ज्योतिष शास्त्रका बारेमा चासो राख्नेहरुका लागि यस सम्बन्धि पुस्तक नेपाली भाषामा उपलव्ध हुने भएको छ । ज्योतिष डा.उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ नामक पुस्तक प्रकाशन गरेसँगै ज्योतिषका बारेमा चासो राख्नेले नेपाली भाषामा पुस्तक अध्ययन गर्न सक्ने भएका छन् । 

पुस्तकमा ज्योतिषसम्बन्धी सामान्य ज्ञानदेखि लिएर कतिपय विषयमा विस्तृत विवरणसमेत दिने प्रयास गरिएको छ ।पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका लगायतका विषय पुस्तकमा समेटिएको पुस्तकका लेखक डा न्यौपानेले जानकारी दिए । 

ज्योतिषशास्त्रमा ९ वटा ग्रह मानिन्छन् । यो पुस्तकमा ९ वटै ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु) ले दिने शुभ तथा अशुभ फलका बारेमा गहन अध्ययन गरिएको छ । यस्तै यी नौ वटै ग्रहले व्यक्तिको कुण्डलीका प्रत्येक भावमा प्रभाव एवम् प्राचीन विस्तारसँग प्रस्तुत गरिएको छ । 

डा. उपाध्यायले होराशास्त्रका आधारमा लेखेको यो पुस्तकमा मेषादी राशिको र सूर्यादी ग्रहहरुको गति स्थिति स्वरुप स्पष्ट लेख्नुका साथै उच्च नीच स्थान परिचय र केन्द्र त्रिकोण स्थानको विवरण पनि दिएका छन् । यसपछि कुन भावबाट के–के कुरा हेर्ने, कुन ग्रहको वर्ण एवम् स्वभाव कस्तो हुन्छ आदि विषय प्रतिपादन गर्दै राजयोग कसरी बन्छ, ग्रहहरुको राम्रो र स्थानअनुसारको शुभाशुभ फल के कस्तो हुन्छ आदि विषय विस्तृत रुपमा लेखेका छन् ।

यो पुस्तकबाट ज्योतिषको अध्ययन, चिन्तन र व्यवहारिक ज्ञान लिन चाहने व्यक्तिले निकै राम्रो लाभ प्राप्त गर्न सक्छन् । ज्योतिष विषयको अध्ययन गरेर त्यसबाट जिविकोपार्जन गर्नेतर्फ लाग्ने मनस्थिति बनाएका मानिसका लागि त यो पुस्तक अत्यन्त उपयोगी आधारग्रन्थ नै हुने छ । ज्योतिष कस्तो विषय हो, त्यसमा के कस्ता विषय वस्तु उपस्थित छन्, जन्मकुण्डीको कुन स्थानमा कस्तो स्थितिको कुन ग्रह बसेको छ, त्यसले आफ्नो जीवनको कुन उमेरमा के कस्ता प्रभाव पार्दछ भन्ने कुराको जानकारी राख्न चाहने मानिसका लागि पनि यो पुस्तक उपयोगी हुने छ । नेपाली भाषामा लेखिएकाले सर्वसाधारणका लागि पनि निकै आकर्षक एवम् प्रयोजनीय बन्नेछ ।

ज्योतिष तथा वास्तुविज्ञ डा. उपाध्यायको यसअघि ग्लोबल वास्तु नामक पुस्तक पनि प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप