शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

बिहीबार, २९ असोज २०७७, १४ : ००
बिहीबार, २९ असोज २०७७

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ ।  लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७  घरधुरी अन्धकारमा बस्न बाध्य छन् । 

बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताए । गाउँ नजिकको अर्को गाउँ माजसम्म  बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा रु ८०  हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ  । 

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले रु आठ लाख छुट्टयाएको भए तापनि  सदुपयोग नभएर खेर गएको छ ।  कार्यालयले गाउँबासीलाई निशुल्क मिटरबक्स दिनका लागि रु आठ लाख छुट्याए पनि रु चार लाख खम्बामा खर्च भएको र रु चार लाख उपभोक्ताका खातामा बाँकी  छ कि खर्च भयो भन्ने थाहा नभएको वडाध्यक्ष बुढाले बताए । 

विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पुर्याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम  छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताका छन् । 

दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदूरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गरे ।  स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोकेर गाउँ पु¥याएका थिए । “ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो”, किरणले भने ।

बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२  कामदारले करीब रु  पाँच लाख बराबर  ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग  छन् ।

सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिइने किरणले चेतावनी दिए । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप