शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ करोड बराबरका दमकल र प्रहरी भ्यान हस्तान्तरण

बिहीबार, २९ असोज २०७७, १६ : ३२
बिहीबार, २९ असोज २०७७

मोरङ । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न रु ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज उपलव्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गर्नुभयो । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक/एक वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए । मन्त्रालयले केही महिनाभित्रै ती सेवा केन्द्रका लागि थप एक/एक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको संयोजक खनालले बताए ।

मुख्यमन्त्री राईले सङ्घीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति  सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए । उनले कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरुका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्नु हुँदै सङ्घीयताका कारण जनतालाई उनीहरुको अधिकार विनियोजन गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले जस्तोसुकै विपद्मा सरकार जनताको साथमा छ भन्ने विश्वास दिलाउनु पर्ने उल्लेख गर्दै प्रदान गरिएका साधन स्रोत जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे । उनले प्रदेश सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा उपलब्ध साधनले महत्वपूर्ण योगदान पु¥याउने बताए । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताका हितमा साधनको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गर्दै जनताका बस्तीको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले एकीकृत सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रबन्ध गर्ने र व्यवस्थापनका लागि प्रत्येक एकाइलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने जानकारी दिए ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नमूना कार्यविधि तयार पारिरहेको बताए । प्रदेशका १४ मध्ये ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुबाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो ।

उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउँपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदीम नगरपालिकालाई साधन हस्तान्तरण गरिएको हो । एकीकृत सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरीअन्तर्गतको स्थानीय युनिटले परिचालन गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप