शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेताहरुबीच विश्वासको संकटमा पनि तोडिएन महामन्त्री खड्काको मौनता

खड्काको कार्यशैलीबाट देउवा र पौडेल नै असन्तुष्ट !
शुक्रबार, ३० असोज २०७७, ०९ : ०२
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसमा नेताहरुबीच विश्वासको संकट गहिरिँदै छ । महाधिवेशनमा आफू अनुकुल माहोल बनाउन काँग्रेस नेताहरु एक अर्काविरुद्ध हात धोएर लागेको देखिन्छ । संस्थापन र इतर पक्षभित्र पनि नेताहरुबीच उत्कट पदीय आकांक्षाले विश्वासको धरहरा डगमगाउँदो छ ।

कोइराला परिवार (शशांक–शेखर)को महत्वाकांक्षाबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमा चरम वेचैनी थपिएको छ भने सभापति शेरबहादुर देउवाको शान्त तलाउ (गुट)मा उपसभापति विमलेन्द्र निधिले ढुंगा हानेको अवस्था छ ।
यही परिदृष्यमा महाधिवेशनको ग्यारेन्टी र निष्पक्षताका सम्बन्धमा देउवा र पौडेलबीच ‘वार’ चलिरहेको छ । कोरोना (कोभिड–१९) महामारीले राजनीतिक गतिविधि आइसोलेट हुँदा पनि काँग्रेसका नेताहरुबीचको शक्तिसंघर्ष जारी छ । 

तर यी सबै घटनाक्रममा महामन्त्री पूर्णबहादुर खड्काले भने अनौठो मौनता साधेको पाइन्छ । काँग्रेसको शक्तिशाली मानिने महामन्त्री (मनोनित) पदमा ०७५ वैशाख २१ बाट आसीन खड्काको मौनता कांँग्रेसवृत्तमा सोचनीय बनेको छ ।

प्रमुख विपक्षी दलको महामन्त्रीको नाताले खड्का पार्टी संगठन, सडक र सञ्चार माध्यमको अग्रपंक्तिमा देखिउन् भन्ने काँग्रेसजनको  अपेक्षा छ । किनभने सभापति देउवा मुखररूपमा प्रस्तुत नहुने भएकाले पनि त्यसको परिपूर्ति गर्ने जिम्मेवारी खड्काको काँधमा छ । तर पार्टीभित्र वा राष्ट्रिय राजनीतिका विवाद र बहसमा खड्काले सार्वजनिक रूपमा मुख खोलेको सुनिँदैन । 
काँग्रेस नेता रामहरि खतिवडाका अनुसार सार्वजनिक रुपमा गुटको पक्षमा उभिँदा पार्टी कमजोर हुने बुझाइका साथ महामन्त्री खड्का मौन बसेका हुन् ।

खड्कासँग निकट सम्बन्ध रहेका उनले भने, ‘कहिले कुनै नेतालाई माथि पुर्याउने, कहिले कुनै नेतालाई तल झार्ने कामबाट पार्टी दह्रो बन्दैन र पार्टी र नेताहरुलाई नाङ्गै बनाएर हिँड्नु हुँदैन भन्ने उहाँको धारणा छ ।’ 
खड्का पार्टीका प्रशासनिक गतिविधिमा मात्र सीमित छन् । पार्टी अफिसमा नियमित उपस्थित भएर ७७ वटा जिल्लाका पार्टी सभापतिसँग रिपोर्ट लिने काममा उनको दिनचर्या बित्छ । 


प्रमुख विपक्षी दलको महामन्त्रीको नाताले खड्का पार्टी संगठन, सडक र सञ्चार माध्यमको अग्रपंक्तिमा देखिउन् भन्ने काँग्रेसजनको  अपेक्षा छ । किनभने सभापति देउवा मुखररूपमा प्रस्तुत नहुने भएकाले पनि त्यसको परिपूर्ति गर्ने जिम्मेवारी खड्काको काँधमा छ । तर पार्टीभित्र वा राष्ट्रिय राजनीतिका विवाद र बहसमा खड्काले सार्वजनिक रूपमा मुख खोलेको सुनिँदैन । 


२०७२ को संविधान निर्माणको निर्णायक घडीमा र काँग्रेसको महासमिति बैठकमा पार्टीको विवाद समाधान गर्न उनी निकै सक्रिय भएका थिए । तर राजनीतिक रुपमा चतुर, सूचनामा बलियो पहुँच र संगठनमा पनि पकड भएका उनले अहिले आफ्नै शक्तिको प्रयोग नगरेको काँग्रेसकै नेताहरुको गुनासो छ । 

काँग्रेसमा पछिल्लो समय पार्टीभित्र चरम गुटबन्दी हुँदै नेताहरु एक अर्काविरुद्ध सार्वजनिक रुपमा प्रस्तुत हुँदा पनि खड्काको छायासमेत देखिँदैन । तर खतिवडा भने पार्टी विवाद मिलाउन सबै नेतासँग खड्का नियमित सम्पर्कमै रहेको जिकिर गर्छन् ।

उनले भने, ‘पार्टी सभापति र उपसभापतिबीच बेला बखत खटपट भइरहेको हुन्छ । निर्वाचित महामन्त्रीले सभापतिलाई विस्थापित गर्न आफूबाहेक कोही छैन भनिरहनु भएको छ । उहाँ (खड्का) अहिले सभापतिसँग विवाद नगरी पार्टीलाई दह्रो बनाउन लाग्नु भएको छ । पार्टी विवाद मिलाउन अग्रसर नै हुनुहुन्छ ।’

तर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने पार्टीभित्रका सबैलाई सुधारका लागि दबाब दिने हैसियत राख्ने खड्काको त्यसअनुरुपको भूमिका नदेखिएको तर्क गर्छन् । उनी महामन्त्री खड्काको मौनतालाई नेतृत्वको कार्यशैलीमाथि रणनीतिक रुपमा प्रदर्शन गरिएको विमतिका रुपमा व्याख्या गर्छन् । 

उनका अनुसार खड्काले निर्वाचित महामन्त्री शशांक कोइरालाको निष्क्रियताको फाइदा उठाउँदै पार्टी मुख्यालयबाट हुने सबैजसो गतिविधि सञ्चालन गरेका छन् ।
तर संस्थापन पक्षका केही नेता भने देउवाको ‘रक्षाकवच’का रुपमा महामन्त्री खड्का उत्रिन नसकेको भन्दै असन्तुष्ट छन् । खतिवडा भने पार्टीको संस्थापन पक्षलाई कमजोर बनाउने लाइनमा खड्का नरहेको दाबी गर्छन् ।
उनले भने, ‘बाहिर कसैसँग पाखुरा सुर्केर झगडा गर्न जानुभएको छैन होला । तर पार्टीको संस्थापन लाइनलाई विरोध गरेर पार्टी सभापतिलाई कमजोर बनाउने लाइनमा जानु भएको छैन । उहाँ किसुनजीबाट शिक्षा लिएको मान्छे हो ।’ 

खड्काको कार्यशैलीबाट सभापति देउवामात्र होइन, वरिष्ठ नेता पौडेल पनि सन्तुष्ट छैनन् । खड्काले सबैको नेता हुने गरी आन्तरिक दायरा फराकिलो बनाउन नसकेको पौडेलनिकट केन्द्रीय सदस्य गुरुराज घिमिरेको भनाइ छ ।
उनले भने, ‘पार्टीको अहिलेको अव्यवस्थापनको बेला समन्वयकारी भूमिका खेल्न सक्नुभएन । त्यो खेल्न सकेको भए उहाँको वजन बढ्थ्यो । पार्टीको महामन्त्री एउटा संस्था हो । अहिले गुटको प्रतिनिधित्व गरेकोजस्तो मात्र देखिन्छ । उहाँले सबैको नेता हुनेगरी आन्तरिक दायरा फराकिलो बनाउन सक्नुभएको छैन ।’

यद्यपि खड्काको विनम्रता र शिष्टताले पदीय मर्यादा भने कायम गरेको देखिन्छ । घिमिरेले भने, ‘मान्छेले रुचाउने खालकै व्यवहार गर्नुहुन्छ । बोलीको विनम्रता र व्यवहारको शिष्टताले पदीय मर्यादालाई जोगाएको छ । तर नेतृत्वमा प्रभावकारिता ल्याउने कुरामा उहाँमा कमजोरी देखिन्छ ।’

संस्थापन र इतर पक्षबीचको मतभेदमा खड्काले इतर पक्षलाई बल पुग्नेगरी कुनै पनि काम गरेका छैनन् । सार्वजनिक रुपमा देउवालाई बल पुग्ने गरी पनि उनी प्रस्तुत भएका छैनन् ।
त्यसैले सभापतिको बचाउमा मात्र होइन, पार्टीको पक्षमा पनि सार्वजनिक रुपमा प्रस्तुत नभएको भन्दै देउवा पक्षमा उनीप्रति गुनासो व्याप्त छ । 

देउवा निकट एक नेताले भने, ‘उहाँ अफिसियल काममा पनि खरो उत्रिन सक्नुभएन । न उहाँको सांगठनिक एक्टिभिटिज छ, न संयोजन छ । उहाँको संयोजकत्वमा बनेको पार्टी विधानले काँग्रेसको चरित्र नै बिगारिदियो । उहाँको एक्सपोजर कहीँ छैन ।’


खड्काको कार्यशैलीबाट सभापति देउवामात्र होइन, वरिष्ठ नेता पौडेल पनि सन्तुष्ट छैनन् । खड्काले सबैको नेता हुने गरी आन्तरिक दायरा फराकिलो बनाउन नसकेको पौडेलनिकट केन्द्रीय सदस्य गुरुराज घिमिरेको भनाइ छ ।
उनले भने, ‘पार्टीको अहिलेको अव्यवस्थापनको बेला समन्वयकारी भूमिका खेल्न सक्नुभएन । त्यो खेल्न सकेको भए उहाँको वजन बढ्थ्यो । पार्टीको महामन्त्री एउटा संस्था हो । अहिले गुटको प्रतिनिधित्व गरेकोजस्तो मात्र देखिन्छ । उहाँले सबैको नेता हुनेगरी आन्तरिक दायरा फराकिलो बनाउन सक्नुभएको छैन ।’


कुनै व्यक्तिको भन्दा पनि पार्टीको पक्षमा समेत खड्काले बोल्ने नगरेकोमा सभापति देउवा उनीप्रति असन्तुष्ट रहेको ती नेताको दाबी छ । तर खड्का सार्वजनिक रुपमा सभापति देउवाको पक्षमा प्रस्तुत नभए पनि मुद्दागत रुपमा सभापतिको लाइनभन्दा बाहिर गएको दृष्टान्त पनि छैन ।

सार्वजनिक रुपमा इतर पक्षसँग विरोधमा नउत्रिए पनि केन्द्रीय कार्यालयलाई एक पक्षीय बनाउने काम खड्काकै नेतृत्वमा भएको घिमिरेको बुझाइ छ ।
‘कर्मबाट सभापतिको रक्षाकवच हुनुभएको छ । नबोल्ने उहाँको शैली हो । कम बाचाल स्वभावका उहाँ पार्टीका गतिविधिमा त अर्को महामन्त्रीभन्दा अगाडि हुनुहुन्छ,’ उनले भने, ‘पार्टी सभापतिको पक्षपोषण हुनेगरी पठाइने सर्कुलरहरुमा उहाँ अगाडि नै हुनुहुन्छ ।’

घिमिरेका अनुसार समग्रमा पार्टी परिचालन गर्नेभन्दा पार्टी सभापतिकै पक्षपोषणमा पार्टीलाई महामन्त्री खड्काले परिचालन गरिराखेको देखिन्छ । मिडियामा मात्र खड्काको उपस्थिति नदेखिएको उनको भनाइ छ ।
तर खड्काको नबोल्ने शैलीलाई पनि सकारात्मक रुपमा लिन सकिने घिमिरे बताउँछन् । उनले भने, ‘एउटा पक्षको पक्षपोषण हुनेगरी सार्वजनिक रुपमा नबोल्नुलाई पनि हामीले सकारात्मक लिएका छौँ । तर कर्म र व्यवहारमा त्यो कुरा देखिएन ।’  

खड्कालाई रणनीतिक स्पेस 
परिणाममुखी नेताको परिचय बनाएका महामन्त्री खड्का काँग्रेसभित्रको कुटनीतिक खेलाडी भएको विश्लेषक आचार्यको बुझाइ छ । उनका अनुसार देउवाले आफ्नो पक्षको रणनीति तय गर्न उपसभापति निधि र महामन्त्री खड्कालाई अघि सारेका थिए । तर निधिले १४ औं महाधिवेशनमा साथ नदिने छनक देखाएपछि देउवाले रणनीतिक पात्रका रुपमा खड्काको परिधि बढाउन खोजेको खुलेको छ ।
पछिल्लो पार्टी विवादमा निधिलाई बाइपास गर्दै देउवा आफैले अग्रसरता लिएका थिए । विगतमा देउवाले पौडेल पक्षलाई मनाउन निधिलाई पठाउने गरेका थिए । 

केही दिनअघि देउवाले खड्कालाई आफ्नो निवासमा बोलाएर सांगठनिक गतिविधिमा निधिसँग पनि सजग हुनुपर्ने अवस्था आएको सुनाएका थिए । खड्कासँग देउवाले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले विमलेन्द्रलाई महामन्त्रीमा मनोनित गरेँ । गृहमन्त्री बनाएँ । उपसभापतिमा पनि मनोनित गरेँ । तर सधैँ ब्याक फायर भयो । अब सजग हुने अवस्था आएको देख्छु ।’ 

निधिले जस्तोसुकै परिस्थितिमा पनि सभापतिमा उठ्ने उद्घोष गरेपछि देउवाले खड्कालाई सांगठनिक र समन्वयकारी भूमिका बढाउन निर्देशन दिएका थिए । निधिसँग देउवा सशंकित देखिए पनि प्रदेश अधिवेशनअघि निधिले देउवा क्याम्प छोड्ने सम्भावना न्युन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप