शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीव्र सङ्क्रमणबीच विदेशी पर्यटक आगमन खुला

किन आगोमाथि घिउ थप्ने मुर्ख्याइँ गर्दैछ सरकार ?
शुक्रबार, ३० असोज २०७७, ११ : ०२
शुक्रबार, ३० असोज २०७७

काठमाडौँ । आगामी शनिबारदेखि विदेशी पर्यटकका लागि नेपाल आगमन खुला हुँदैछ । कोभिड–१९ को सङ्क्रमण र सन्त्रासकै बीच सरकारले विदेशी पर्यटक आगमन खुला गर्न लागेको हो । सरकारले आगामी कात्तिक १ अर्थात् अक्टोबर १७ देखि पदयात्रा तथा पर्वतारोहणका लागि विदेशी पर्यटकलाई खुला गर्नेगरी अनअराइभल भिसा उपलब्ध गराउने निर्णय गरेको छ । यस्तो भिसा ससर्त कोभिड–१९ रोकथाम तथा सुरक्षाका मापदण्डहरू पूरा गरेकाहरूका लागि मात्र उपलब्ध गराइने सरकारले बताएको छ । 

जसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नै स्वास्थ्य सुरक्षा तथा अनअराइभल भिसासम्बन्धी मापदण्ड जारी गरिसकेको छ ।
पदयात्रा र पर्वातारोहणका लागि नेपाल आउन चाहने विदेशी पर्यटकले अनिवार्य पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ भने नेपाल आइसकेपछि अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने र तोकिएको क्षेत्रबाहेक अन्यत्र हिँडडुल गर्न नपाइने मापदण्ड मन्त्रालयले व्यवस्था गरेको छ । 

मन्त्रालयले व्यवस्था गरेको सो मापदण्डलाई लिएर निजी पर्यटन व्यवसायी सम्बद्ध संस्थाहरू सशङ्कित छन् । विदेशी पर्यटक आगमनमा सरकारले अव्यावहारिक र अनावश्यक सर्त राखेर भाँजो हाल्ने काम गरेको व्यवसायीहरूको आरोप छ ।  

पदयात्रा र पर्वातारोहणका लागि आउने पर्यटकहरूका लागि अनावश्यक र अव्यावहारिक सर्त राखेर सरकारले नेपाली पर्यटन क्षेत्रकै धज्जी उडाउने काम गरेको ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले आरोप लगाए । 

‘अहिले नै केही विग्रिसकेको अवस्था होइन । हतार नगरौँ, सोचेर काम गरौँ भन्ने हाम्रो धारणा हो । पूर्ण तयारीका साथ सोचेर निर्णय गर्दा मुलुकका लागि फाइदै हुन्थ्यो । तर अहिले सरकार सोच्दै नसोची अनावश्यक सर्त राखेर देखावटी रूपमा पर्यटक डाक्दैछ ।’

बाटोमा तगारो हाल्ने काम भयो : सुवेदी
बरु आऊ नै नभनौँ तर आऊ भनिसकेपछि कम्तीमा वातावरण सहज गरिदिऊँ । यस्तो परिपाटीले विश्व बजारमा राम्रो सन्देश जाँदैन,’ अध्यक्ष सुवेदीले भने ।
सुवेदीका अनुसार अहिल सरकारले व्यवस्था गरेको अनिवार्य ७ दिनको होटल क्वारेन्टिन र अनअराइभल भिसा प्रोसेसिङको व्यवस्था अति नै अव्यावहारिक र झन्झटिलो छ । यस्तो मापदण्डले पर्यटक आउनुको साटो उल्टै भट्किने सम्भावना रहन्छ । जसको प्रभाव पछिसम्म पनि रहन सक्छ । त्यसैले सो सम्बन्धमा सरकारले बेलैमा मनन् गरेर ७ दिनको क्वारेन्टिनलाई तीन दिनमा झार्नुपर्ने र अनावश्यक झन्झटिलो भिसा प्रोसिङ अध्यागमन विभागबाटै पाउने व्यवस्था मिलाउनुपर्ने सुवेदीको माग छ । 

त्यसो त मुलुकमा कोभिड–१९ को सङ्क्रमण तीव्र बनिरहेको बेला विदेशीहरूको आगमनसमेत खुला गर्ने सरकारी निर्णय थप ‘आगो माथिको घिउ’ बन्न सक्छ । यसअघि छिमेकी मुलुक चीन लगायत केही युरोपेली मुलुकमा कोरोना भाइरस सङ्क्रमणको भयावहको स्थिति रहिरहँदा यता नेपालमा भने विभागीय मन्त्रीले नै ‘नेपाल इज सेफ जोन’ भनेर पाहुना डाकिरहे जस्तो हुन सक्छ । अन्तत्वगत्वा यो मुलुककै लागि प्रत्युत्पादक पनि बन्न सक्छ ।

किन हतार गर्दैछ सरकार ?
प्रमुखतः कोभिड–१९ प्रभावित क्षेत्रमध्येको एक हो पर्यटन क्षेत्र । सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै प्रभावित हुँदैआएको नेपाली पर्यटन क्षेत्र आजको दिनसम्म प्रभावित नै छ । गत चैत ११ गतेदेखि त झन् मुलुक पूर्णतः लकडाउनमा गएसँगै थप प्रभावित हुन पुगेको पर्यटन क्षेत्रले सो अवधिमा झण्डै आधाआधी खर्बको नोक्सानी व्यहोरिसकेको छ । 
सरकारी तथ्याङ्क अनुसार गएको ६ महिनामा नेपाली पर्यटन क्षेत्रले झण्डै ५० अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरिसकेको छ । 

यस्तो अवस्थामा अझै व्यावसायिक अन्योल कायमै राखिराख्ने र व्यावसायिक सुरुवात नगर्ने हो भने पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला पर्न सक्ने व्यवसायीहरूको भनाइ छ । 
त्यसो त पर्यटन क्षेत्रको ताजगीका लागि भने पनि अन्य क्षेत्र जस्तै सो क्षेत्रलाई पनि खुला गर्नुपर्ने व्यवसायीले माग राखिरहेका छन् । 

यही माग र आवश्यकतालाई ध्यानमा राख्दै सरकारले कात्तिक १ गतेदेखि विदेशी पर्यटक आगमन खुला गर्ने निर्णय गरेको पर्यटन विभागका महानिर्देशक रुद्धबहादुर तामाङले रातोपाटीसँग बताए । 
‘लामो समयदेखि बन्द रहँदा नेपाली पर्यटन क्षेत्रले अर्बांैको नोक्सानी व्यहोरिरहेको छ । अब पनि नेपाली पर्यटन क्षेत्र सुचारु नहुने हो भने धेरैको रोजीरोटी गुम्ने खतरा छ ।’ 

महानिर्देशक तामाङले भने ‘यस्तो अवस्थामा मुलुकको पर्यटन क्षेत्र बचाइराख्न पनि सरकारले व्यावसायिक क्षेत्र खुल्ला गर्नुपरेको हो । सोही माग र दबाबकाबीच सरकाले कात्तिक १ गतेदेखि विदेशी पर्यटक आगमन खुला गर्ने निर्णय गरेको हो । 

यद्यपि कहिलेबाट खुला हुन्छ भन्ने मिति चाहिँ अझै ठ्याक्कै भन्न सकिने अवस्था छैन । १ गतेबाटै हुन पनि सक्छ, केही दिन पर सर्न पनि सक्छ । अहिलेसम्म थप निर्णय नआएकाले पूर्वनिर्धारित मितिमै खुला हुन्छ कि भन्नेमा छौँ’ तामाङले भने ।

अहिलेकै अवस्थामा झन् झन् सङ्क्रमणको दर बढिरहेको अवस्थामा विदेशी पर्यटक आगमन खुला गर्नु कत्तिको व्यावहारिक हो ? भन्ने प्रश्नमा महानिर्देशक तामाङ आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलको कडाइकासाथ लागू गरिने हुँदा समस्या नहुने बताउँछन् । त्यसमाथि सबै खाले पर्यटकका लागि नभएर पदयात्रा र पर्वातारोहणका लागि मात्र खुल्ला गरिने भएकाले यस्तो क्षेत्रमा जोखिम कम हुने उनको भनाइ छ । 

‘अहिले हामीले खुल्ला गर्ने भनेको पदयात्रा र पर्वातारोहणका लागि आउने विदेशी पर्यटकका लागि मात्र हो, त्यो पनि कडा स्वास्थ्य सुरक्षा मापदण्डका साथ । यसले समस्या नल्याउने सरकारको बुझाइ छ । त्यसमाथि पूर्णतः गाइडेड टुर भएकाले पर्यटक जथाभावी हिँडडुल गर्न र धेरैसँग संसर्ग गर्न पाउँदैनन् । जुन ठाउँका लागि भनेर आएका हुन्छन् त्यो ठाउँमा जान्छन् र समय पुगेपछि फर्किन्छन् । टोटल्ली गाइडमा रहन्छन् । एक्लै दुक्लै हिँडडुल गर्न पाउँदैनन् । त्यसमाथि ७ दिन अनिवार्य होटल क्वारेन्टिनमा रहेर मात्र भ्रमण गर्न पाउने भएकाले विश्वसनीयता ९० प्रतिशतभन्दा माथि रहन्छ । त्यसैले यस्तो अवस्थामा शङ्का गरिरहनुपर्ने जस्तो लाग्दैन,’ तामाङले भने ।

पहिले वातावरण तयार गर्नुपर्छ : दीपकराज जोशी


 यता पर्यटन बोर्डका निर्वतमान कार्यकारी निर्देशक (सीईओ) दीपकराज जोशी भने पर्यटन व्यवसाय कहिलेबाट खोल्नेभन्दा पनि कति तयारीमा छौँ भन्ने विषयले फरक पार्ने बताउँछन् । व्यावसायिक सफलता र सार्थकताका लागि खोल्ने समयले भन्दा पनि आवश्यकीय वातावरणले प्रभाव पार्ने उनको भनाइ छ ।  यसका लागि पहिला आवश्यक वातावरण तयार गर्नुपर्ने र पर्यटक डाक्नुपर्ने उनको भनाइ छ । 

‘लामो समयदेखि बन्द रहँदै आएको पर्यटन क्षेत्र अब खोल्नुको विकल्प छैन । यसका लागि अब हामी जसरी पनि तयार हुनुपर्छ । तर यसो भनिरहँदा हामीले के कुरा भुल्न हुन्न भने हतारको मानसिकताले आवश्यक पूर्वतयारी भुल्न हुन्न ।’ जोशीले भने, ‘खोल्ने कुराभन्दा पनि तयारीको कुरा महत्त्वपूर्ण हो । नत्र त अर्को थप ठूलो समस्या निम्तिन सक्ने खतरा रहन्छ । 

यद्यपि पर्यटन भनेको आफैमा अनुशासित क्षेत्र हो । त्यसैले यसमा डराइहाल्नुपर्ने अवस्था म देख्दिनँ । तैपनि आवश्यक तयारी पूरा गरेर खोल्न सके अझ राम्रो हुने देख्छु,’ जोशीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप