बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिप्पी हिँड्ने बाटो भएर नयाँ टुर प्याकेज घोषणा, बसमा चढेर युरोपसम्म

शुक्रबार, ३० असोज २०७७, १७ : ५९
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । १७ औं शताब्दीदेखि हिप्पीहरु हिँड्ने बाटो भएर नयाँ टुर प्याकेज घोषणा भएको छ । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रा.लि.ले ‘बस टू एभरेष्ट’ अन्तर्गत विभिन्न १२ वटा देशका पर्यटकलाई लक्षित गरी यस्तो टुर प्याकेज ल्याएका हुन् । यसअन्तर्गत ती पर्यटकलाई बसबाटै काठमाडौं हुँदै सगरमाथासम्मको अवलोकन गराइनेछ । 

यो प्याकेज अप्रिल महिनामा सुरु भएर सेप्टेम्बर महिनासम्म चल्नेछ । टुर प्याकेज २३ दिनदेखि ५८ दिनसम्मको रहेको र एउटा बसमा ३० जनालाई राखेर यात्रा गराइने एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रा.लि. सञ्चालक धर्मेन्द्र सापकोटाले जानकारी दिए । 

‘यो एकदमै नयाँ अवधारणा हो । १७ औं शताब्दीदेखि हिप्पीहरु बस चढेर काठमाडौं आउने गरेको इतिहास छ, हामीले उनीहरुले तय गर्ने बाटोकै आधारमा टुर प्याकेज बनाएका हौं । धेरै पैसा खर्च गर्नसक्ने र पर्याप्त समय पनि भएका एलिट क्लासलाई लक्षित गरेर योजना ल्याएका हौं, यसले पर्यटन विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौं’ उनले भने ।

यो प्याकेजका लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले काठमाडौंदेखि एभरेष्ट माउन्टेन फ्लाइट मार्फत् सगरमाथाको अवलोकन गर्न पाउनेछन् भने काठमाडौंंबाट तिब्बत, चीन, उत्तर कोरिया, दक्षिण कोरिया लगायत देशमा भ्रमण गर्न सक्नेछन् । यसरी भ्रमण गर्दाको खाने, बस्ने, यातायात खर्च लगायतका सबै सुविधा प्याकेजमा जोडिएका छन् ।

यस्तै, ५८ दिनको सबैभन्दा महँगो प्याकेज १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यसअन्तर्गत पर्यटकले माउन्ट एभरेष्टको अवलोकनका साथै पोल्याण्ड हुँदै मेलानसम्मको यात्रा जोडिएको छ । यात्राको लागि टूर सञ्चालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ । सो कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधा सम्पन्न बस रहेको सापकोटाले बताए । लक्षित गरिएका १२ वटै देशबाट प्रत्येक हप्ता नियमित रुपमा एउटा रिजर्भ बस छुट्नेछन् ।

करिब ३० वर्ष अघिसम्म कायमै रहेको हिप्पी संस्कृति अहिले निमिट्यान्न भइसकेको छ । नेपालमा गाँजाको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएसँगै हिप्पीहरु आउन छाडेका हुन् । अहिले यही रुट भएर टुर प्याकेज सञ्चालन हुँदैछ । उता गाँजालाई बैधानिकता दिनुपर्ने सम्बन्धमा आवाज उठिरहेकोले यसले हिप्पी संस्कृतिलाई पुनर्जीवित गर्नसक्ने आशा पलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप