बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारले अब आफ्नै क्रिकेट मैदान बन्ने

शुक्रबार, ३० असोज २०७७, १८ : ४७
शुक्रबार, ३० असोज २०७७

पोखरा । आफ्नै लगानीमा प्रदेश सरकारले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भएको छ । टुरिजम सँगसँगै गण्डकी प्रदेशलाई स्पोर्टस् हब पनि बनाउने उद्देश्य अनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो ।
 
पोखरा २२ पशुपतिघाटमा करिबन १२३ रोपनी जग्गामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने छ । क्रिकेट मैदानको जग्गा प्राप्तिका लागि झण्डै २ वर्ष लागेको थियो । गत असारमा डिपिआर तयार पार्न काठमाडौंको बिआरएस सोलुसनलाई जिम्मा दिइएको थियो । अहिले डिपिआर पनि तयार भई सकेको छ । 


गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले प्रदेश सरकारको प्राथमिकतामा परेको योजना अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान तयार हुँदा प्रदेशबासीले गौरव गर्न लायकको हुने बताए । ’योजना त अब प्रदेशको प्राथमिकता प्राप्त योजना हो । अन्र्तराष्ट्रिय स्तरको खेलमैदान भनेपछि बजेट धेरै नै लाग्छ । पूर्वाधार बनाउनु प¥यो सुरुमा अनि खेलमैदानका पूर्वाधार बन्नु प¥यो,’ उनले भने । 

मैदानको लागि डिपिआरको काम सकिई सकेको छ । तर, काम सुरु हुनु अघि जग्गा संरक्षण गर्नुपर्ने देखिएको उनले सुनाए । नदीबाट जग्गा संरक्षण हुनुपर्छ । नदीबाट जग्गा कटान हुन नदिने पहिला जग्गा संरक्षणको कामलाई अघि बढाइने उनले सुनाए । 

क्रिकेट मैदानको लागि प्रदेश सरकारले पहिलो चरणमा २ करोड रुपैया छुट्याएको छ । ‘अहिलेको हाम्रो बजेट भनेको २ करोड रुपैयाँको हो । २ करोडलाई पहिलो प्राथमिकतामा केलाई राख्ने र नपुग रकम प्रदेश सरकार स्रोत संकलनको लागि लागेको छ,’ उनले भने । 

प्रवक्ता काफ्लेले क्रिकेट मैदानको लागि मुख्यमन्त्रीसहित मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयले पटक पटक जग्गाको डिपिआर बन्नु अघि नै जग्गाको अवलोकन र मैदानको लागि छलफल विमर्श गरि रहेको बताए ।  ‘मैदाको विषयमा छलफल, विमर्श भई रहेकै हो । नगरपालिकासहित धेरै पटक छलफल विमर्श भई सकेको छ,’ उनले भने । 

डिपिआर तयार पारि सकेपछि काम सुरुआत भई सकेको मान्नुपर्ने उनले सुनाए ।  ‘अब भयो भन्ने नै हो । डिपिआर गरेपछि काम सुरु हुने हो । यो वर्ष केही मात्र काम हुन्छ । जति बजेट छ त्यति मात्रै काम हुन्छ,’ उनले भने, ‘थप कामको लागि आगामी वर्ष स्रोत जुटेपछि ३ देखि ४ वर्षभित्रमा सक्ने गरि बजेट संकलन हुन्छ ।’ 

भौतिक पूर्वाधार सुविधा सम्पन्न, पूर्वाधार भन्दा पनि सुविधासम्पन्न खेल मैदान बन्नको लागि त १ अर्ब ६० करोड रुपैयाँ लाग्ने लागत स्टिमेट आए पनि पहिलो चरणमा क्रिकेट मैदानको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘त्यो भनेको १० वर्ष पनि लाग्न सक्छ । किनभने सबै सुविधा सम्पन्न दशरथ रंगशाला अझैंसम्म पनि सुविधा सम्पन्न हुन सकेको छैन । पोखरा रंगशाला अझैंसम्म सुविधासम्पन्न हुन सकेको छैन,’ प्रवक्त काफ्लेले भने, ‘१५÷२० वर्षदेखि लगानी भई रहेको छ । अझैं पनि केही कम्पोनेन्ट बाँकी छन् । त्यसरी हेर्ने हो भने त समय लाग्ला । नत्र भने खेल खेल्न र खेल सञ्चालन गर्न मिल्ने बनाउन ३ देखि ४ वर्ष लाग्छ । त्यतिभित्रै सकिन्छ ।’ 

प्रवक्ता काफ्लेले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान भए पनि थप मैदानको पनि आवश्यक पर्ने हुँदा क्रिमेट मैदान तयार पार्न लागिएको सुनाए । पोखरा रंगशाला भित्रको मैदा व्यवस्थित पार्ने जिम्मेवारी प्रदेश सरकारको पनि रहेको र प्रदेश सरकारले आफ्नो जिम्मेवारी बहन गर्ने उनले सुनाए । ‘के हुन्छ भने राष्ट्रिय स्तर, अन्तर प्रदेशभित्रका प्रतियोगिता राख्दा । एउटा त प्रतियोगिताको लागि अभ्यास गर्दा दुई वटा खेल स्टेडियम नभईकन कुनै पनि खेल हुँदैन,’ उनले भने, ‘भलिबल एक ठाउँमा खेलेर, कही सेमिफाइनल प्राक्टिस गराउने भने नमिल्दो रहेछ । त्यसकारण एकभन्दा बढी स्टेडियम कोर्ट रंगशाला नजिक नजिक चाहिन्छ । त्यो आवश्यकता नै हो । किनभने दुई ठाउँमा सेमिफाइनल चलायो । फाइनल खेल अर्को दिन गर्न पाइयो ।’ 

३, ४ वटा टिमलाई कम्पिपिटसन गराउँदा पनि अर्को टिमलाई प्राक्टिस गराउन पाइने हुँदा वैकल्पिक मैदान आवश्यक रहेको उनको जिकिर छ । ‘अर्को टिमलाई खेलाउँदा पाइ परेको हुन्छ खेल सुरु भई सकेको हुन्छ । ऊ त प्राक्टिस गरेर आउन पाउने भयो नि त अर्को रंगशाला भयो भने । यस्ता धेरै प्रयोजन हुन्छन् क्या एक भन्दा बढी रंगशाला भयो भने,’ उनले भने । 

पोखरा रंगशाला पनि प्रदेश सरकारको संरक्षण गर्नुपर्ने दायित्व रहेको बताउँदै उनले स्तरोन्नतिदेखि पूर्वाधार थप्नुपर्ने बताए । रंगाशाला हुँदाहुँदै पनि अर्को रंगशालाको पनि आवश्यकता देखेर पोखरा रंगशाला भित्रको अर्को रंगशालाको संरक्षण विकास हुनै पर्ने उनले बताए । पोखरा रंगशाला संरक्षण गर्ने प्रदेश सरकारको गर्ने नीति रहेको उनले सुनाए । 

अहिले मैदान निर्माणको लागि टेन्डर भई सकेको छैन । टेन्डरको लागि पहिला बजेट सुनिश्चित गर्नु पर्ने भएकाले त्यसको लागि वातावरण प्रभाव मुल्यांकन (इआइए) लगायतका प्रक्रिया अघि बढाइएको बताए । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयसँग समन्वयमा काम अघि बढेको उनले सुनाए ।  

मैदान निर्माणको काम अघि बढाउन कोभिडले पनि टेन्डरको लागि प्रभाव पारेको छ । धेरै स्रोत साधन स्वास्थ्य मै खर्चिनु पर्ने र आवश्यक पर्ने रकम विनियोजन गर्न गाह्रो भएकाले काममा ढिलाई भई रहेको उनले बताए । स्थलगत अवलोकनको लागि  प्राविधिक बारम्बार जान  सहज नभएकाले पनि गाह्रो परेको उनले सुनाए । ‘यस्ता धेरै कुराले प्रभाव पारेका छन् । अब लगत्तै टेन्डर हुन्छ । प्रक्रियामा छौं,’ उनले भने ।

यता पोखरा रंगशाला भित्र बन्न लागेको क्रिकेट मैदानको लागि भने गत साल छुट्याइएको २ करोड रुपैयाँ फ्रिज भएको थियो । यो आर्थिक वर्षमा क्रिकेट मैदानको लागि २५ लाख छुट्याइएको छ । अहिले पनि क्रिकेट मैदानको लागि टेन्डर हुन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप