बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

असोजसम्म १० वटा कम्पनीको लाभांश घोषणा, कसको कति ?

दशैंखर्च जुट्ने सम्भावना टर्‍यो
शनिबार, ०१ कात्तिक २०७७, ११ : ०६
शनिबार, ०१ कात्तिक २०७७

काठमाडौं । अघिल्लो वर्ष असोज १२ गते नै घटस्थापना थियो । अधिकमासका कारण यो वर्ष आज (कात्तिक १) देखि मात्रै दशैं सुरु भएको छ । तर, सूचीकृत कम्पनीका लगानीकर्ताको लागि भने ढिलो आएको दशैंको लाभ भएन । यो वर्ष कुनै पनि बैंक तथा वित्तीय संस्थाले दशैंका लागि लाभांश नदिने अवस्था आएको छ ।

सूचीकृत कम्पनीमध्ये हालसम्म १० वटा कम्पनीले मात्रै गत आर्थिक वर्षको आयव्यय विवरणमा आधारित भएर लाभांश घोषणा गरेका छन् । त्यसमध्ये ४ वटा लघुवित्त, ३ वटा वाणिज्य बैंक र ३ वटा व्यापारमूलक कम्पनी छन् । तर, लाभांश घोषणा गरेकामध्य कुनै पनि कम्पनीले दशैंअघि दिन नसक्ने पक्कापक्की भएको छ । 

कुनैपनि कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश सो संस्थाको साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गर्न पाइन्छ । हालसम्म लाभांश घोषणा गरेका १० कम्पनीमध्ये नेपाल ल्युब आयलले मात्रै दशैंभन्दा अघि साधारणसभा गर्ने भएको छ । बाँकी ९ कम्पनीमध्ये शिवम् सिमेन्टले कात्तिक २४ गतेका लागि साधारणसभा बोलाएको छ । 

कात्तिक ६ गतेका लागि माछापुच्छ्रे बैंकले बोलाएको साधारणसभा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै स्थगित गरेको छ । शनिबार सार्वजजिक सूचना जारी गर्दै बैंकले कात्तिक ६ गतेको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेलगत्तै शेयरधनीको खातामा नगद लाभांश पठाउने तयारी गरेको थियो । 

तर, साधारणसभा स्थगित भएसँगै लाभांश पाउने सम्भावना समेत टरेको छ । अघिल्लो वर्ष दशैंअघि ३ वटा वाणिज्य बैंकसहित एक दर्जन भन्दा बढी सूचीकृत कम्पनीको लाभांश घोषणा भएको थियो । एनआईशी एशिया बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले दशैंका लागि शेयरधनीका लागि लाभांश वितरण गरिसकेका थिए ।  

१६ म्युचुअल फण्डको लाभांश घोषणा
सूचीकृत कम्पनीले लाभांश घोषणा गर्न ढिलाई गरिरहँदा अधिकांश म्युचुअल फण्ड (सामूहिक लगानी कोष) का लगानीकर्ताले भने दशैंका लागि लाभांश पाउने भएका छन् । सञ्चालनमा रहेकामध्ये १६ वटा म्युचुअल फण्डले अहिलेसम्म लाभांश घोषणा गरिसकेका छन् । त्यस्ता संस्थाहरुले ४ प्रतिशतदेखि १५ प्रतिशतसम्म नगद लाभांश घोषणा गरेका हुन् । म्युचुअल फण्डको व्यवस्थापकले घोषणा गरेको लाभांशलाई धितोपत्र बोर्डले अनुमति दिएपछि वितरण गर्न पाइने व्यवस्था छ । 

ग्लोबल आईएमई क्यापिटले सञ्चालन गरेको ग्लोबल आईएमई समुन्नत स्कीम–१ ले सबैभन्दा कम ४ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड–१ ले सबैभन्दा बढी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । बाँकीमध्ये लक्ष्मी इक्विटी फण्डले ४.२५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र एनएमबी ५० ले ५ प्रतिशत, नबिल इक्विटी फण्डले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्ड र सानिमा इक्विटी फण्डले ७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ७.५० प्रतिशत,एनआईशी एशिया ब्यालेन्स फण्ड र एनएमबी हाइब्रिड फण्ड एल १ ले ८ प्रतिशत, एनआईबीएल सहभागिता फण्डले ८.२५ प्रतिशत, नबिल ब्यालेन्स फण्डले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले १० प्रतिशत तथा एनआईबीएल समृद्धि फण्ड र एनआईशी एशिया ग्रोथ फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेका हुन् । 

लाभांश घोषणा गरेका म्युअचुल फण्डमध्ये एनआईबीएल सहभागिता फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड र एनआईशी एशिया ब्यालेन्स फण्डको लाभांश अघिल्ला महिना नै वितरण भइसकेको छ । एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डको लाभांश अघिल्लो सातामात्रै वितरण भएको छ । बाँकीमध्ये अधिकांशले दशैं अघिनै लाभांश सम्बन्धित इकाईधनीको खातामा पठाउने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप