शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री रोजगार कार्यक्रममा ६ हजार सूचीकृत

शनिबार, ०१ कात्तिक २०७७, १४ : ०६
शनिबार, ०१ कात्तिक २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा छ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि जुम्लाको चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् । सूचीकृत हुनेमा तिला गाउँपालिकामा एक हजार २६२, हिमा गाउँपालिकामा दुई हजार १६५, सिञ्जा गाउँपालिकामा एक हजार ७०३ र पातारासी गाउँपालिकामा एक हजार २८३ व्यक्ति रहेका सिञ्जा गाउँपालिका रोजगार अधिकृत इन्द्रराज गिरीले बताए ।

सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

तोकिएको समयावधिभित्र फाराम भरेका दुई हजार ८७६ बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका दुई हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज भण्डारीले बताए ।  एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञ भण्डारीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका आठवटै स्थानीय तहलाई ५१ लाखका दरले रकम अनुदान प्रदान गरिसकेको यहाँका रोजगार शाखाले जनाएका छन् ।  यस वर्ष विश्व बैंक सँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करीब पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप