बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

शनिबार, ०१ कात्तिक २०७७, १४ : ५८
शनिबार, ०१ कात्तिक २०७७

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ ।
 
नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणी शक्तिपीठमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान आग्रह गरे पनि सर्वसाधारण बिहानदेखि ब्रह्मायणी दर्शनका लागि पुगेका थिए ।

भक्तपुरमा नवरात्रिमा विभिन्न शक्तिपीठमा स्थान गर्ने र दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामा स्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ । यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ । तेस्रो दिनमा देउला टोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथो दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ ।

त्यसैगरी दशैँको पाँचौँ दिनमा बाराही मन्दिरमा मेला लाग्छ । दशैँको नौरथामा विभिन्न नौ देवीहरुको दर्शन गर्ने प्रचलनअनुसार छैटौँ दिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ । सातौँ दिनमा कालीघाट खोलामा स्नान गरी व्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ । त्यस्तै शक्तिपीठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र क्वाठडौँस्थित कुमारी देवगृहमा पनि मेला लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप