बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा पहिलोपटक पिसीआर मेसिन

शनिबार, ०१ कात्तिक २०७७, १९ : ०६
शनिबार, ०१ कात्तिक २०७७

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसीआर मेसिन हस्तान्तरण गरेको हो । 

जिल्लामा पिसीआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मेसिन भित्र्याइएको हो ।  मेसिन भित्र्याइएको भएपनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन एक महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

 उक्त मेसिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मेसिनको गुणस्तर परीक्षणलगायत काम बाँकी रहेकालेले गर्दा पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने चापागाईको भनाइ छ । 


जिल्लामा सङ्क्रमणको दर बढिरहेको अवस्थामा सङ्घीय सरकारका तर्फबाट उपलब्ध गराइएको पिसीआर मेसिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा गोपाल खनाललाई हस्तान्तरण गरे । 

पिसीआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइलाई अझै सहज बनाउने बताए । कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले सङ्घीय सरकारसँग पहल गरिरहेको बताए ।


नयाँ मेसिनले एक पटकमा ९० देखि १०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार सो मेसिनबाट दैनिक ४०० देखि ५०० नमुनाको परिक्षण गर्न सकिनेछ । हाल नवलपरासीपूर्वमा सङ्क्रमितको सङ्ख्या एक हजार २९९ पुगेको छ । सङ्क्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप