शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज– रुसद्वारा अमेरिकालाई अलास्का हस्तान्तरण

आइतबार, ०२ कात्तिक २०७७, ०७ : ४०
आइतबार, ०२ कात्तिक २०७७

आज १८ अक्टुबर । सन् १८६७ मा आजैका दिन एक औपचारिक समारोह  आयोजना गरेर रुसले अमेरिकालाई अलास्का हस्तान्तरण ग¥यो । यस औपचारिक समारोहमा दुबै देशका विशिष्ट व्यक्तिहरु उपस्थित थिए । दुुबै देशका  सेनाले परेड खेलेका थिए, अनि रुसी झण्डालाई बिस्तारै तल झारेर अमेरिकी झन्डा फहराइएको थियो । इतिहासकारहरुका अनुसार रुसी झण्डा तल झर्दै गर्दा रुसी राजकुमारी मेक्साटाफ भक्कानिएर रोएकी थिइन् ।

समारोहमा रुसी सेनाका जनरल डेभिसले भनेका थिए, ‘रुसका सम्राटको कमिस्नरका हैसियतमा अब म रुसी अमेरिकाको भूभाग सम्राटले दिनुभए अनुसार अमेरिकालाई हस्तान्तरण गर्दछु ।’

यसपछि अमेरिकी झन्डा फहराउँदै गर्दा अमेरिकी जनरल रोउस्सियउले भने, ‘अमेरिकी सरकारको कमिस्नरको रुपमा म यसलाई स्वीकार्छु ।’ ७२ लाख अमेरिकी डलर तिरेर कुल ५ लाख ८६ हजार ४ सय १२ वर्ग माइल्स भूमी रुससँग किन्ने सम्झौता ३० मार्चमै भएको थियो, अर्थात्  यसको मुल्य अमेरिकालाई प्रति एकड २ सेन्टभन्दा पनि कम प-यो । एन्ड्रियु जोनसानेको राष्ट्रपतिकालमा विदेशमन्त्री विलियम हेनरी सेवार्डले यो संभव गराएका थिए । तर औपचारिक हस्तान्तरणका लागि ७ महिना लाग्यो ।

रुसका लागि अलास्का निकै टाढाको क्षेत्र थियो । यहाँ निकै कम जनसंख्या थियो र यसको रक्षा गर्नु चुनौतीपूर्ण थियो । त्यसैले, बेलायतजस्ता देशसँग युद्धमा गुमाउने जोखिम मोल्नुभन्दा अमेरिकालाई भूभाग बेच्नु रुसले सही ठान्यो । यद्यपी, आम अमेरिकीहरुले यस भूमीलाई अनुत्पादक र मूल्यहीन ठानेका थिए र उनीहरुले यसको खरिदलाई ‘सेवार्डको मुर्खता’ र ‘एन्ड्रियु जोनसोनको पोलार भालु बगैंँचा’ लगायत आलोचनात्मक नाम दिए ।

यस परियोजनाप्रतिको जन वितृष्णाले  जोनसनको लोकप्रियता खस्कनुमा ठूलो भूमिका खेल्यो । १७ औं राष्ट्रपतिका रुपमा जोनसनले कंग्रेसमा रिपब्लिकन अतिवादीहरुसँग गृहयुद्धपछिको आफ्नो पुनर्संरचना नीतिलाई लिएर लड्नुपरेको थियो । सन् १८६८ मा उनीविरुद्ध महाभियोग पनि अघि बढ्यो, तर केवल एक मतले उनी जोगिए । र, कंग्रेसले अन्ततः अलास्का सम्झौतालाई पनि पारित ग¥यो ।

अमेरिकी झन्डामुनी आएको वर्षौसम्म सेनाका अखडाबाहेक अलास्कामा अन्य प्रशासनिक कार्यालय बनेनन् । सन् १८८४ मा यसलाई जिल्ला बनाएर अमेरिकी राष्ट्रपतिले गर्भनर नियुक्त गर्न थाले, त्यसपछि सिट्कामा संघीय जिल्ला अदालत राखियो । जब अलास्काको कोन्डिके नदीको सहायक धारामा सन् १८९६ मा सुन पत्ता लाग्यो, त्यसपछि बल्ल अमेरिकीहरुलाई यो भूमी खरिद गर्ने निर्णय जायज लाग्यो । त्यसैले, ३ जनवरी १९५९ मा अलास्काले अमेरिकाको ४९ औँ राज्यको मान्यता पाउँदा धेरै अमेरिकीहरु खुसी थिए, यो राज्य अहिले आफ्नो असिमित प्राकृतिक स्रोतका लागि चिनिन्छ । आजका दिनमा अमेरिकाको २५ प्रतिशत तेल र ५० प्रतिभन्दा धेरै समून्द्री खाना अलास्काबाट आउँछ । यो अमेरिकाको सबैभन्दा ठूलो राज्य हो, यद्यपी यहाँ निकै सानो जनसंख्या (७ लाख १२ हजार हाराहारी) छ । एलियुट शब्द ‘अलयस्का’ बाट अलास्काको नाम जुरेको हो, जसको अर्थ ‘महान् भूमी’ भन्ने हुन्छ ।

३० मार्च, १८६७ मा रुससँग भूमी सम्झौता भएको दिनको संझनामा हरेक वर्ष मार्चको अन्तिम सोमबार अलास्कामा ‘सेवार्ड डे’ मनाइन्छ, यस दिन सार्वजनिक बिदा हुन्छ । त्यस्तै, औपचारिक रुपमा भूमि हस्तान्तण भएको दिनको संझनामा हरेक वर्ष १८ अक्टुबरमा ‘अलास्का डे’ मनाइन्छ, यस दिन पनि सार्वजनिक भूमी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप