बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको ग्रामीण सडकमा पहिलोपटक एक्सफाल्ट प्रविधिबाट कालोपत्रे

आइतबार, ०२ कात्तिक २०७७, १३ : ५८
आइतबार, ०२ कात्तिक २०७७

रौतहट । गौर–चन्द्रपुरको मुख्यसडक बाहेक रौतहटका ग्रामीण सडकमा पहिलोपटक एक्सफाल्ट प्रविधिबाट कालोपत्रे गर्नेक्रम जारी छ । सगुन जेवी सगरमाथा निर्माण सेवाले बाल्चनपुर जंगलसैया सडकमा एक्सफाल्ट प्रविधिबाट कालोपत्रे निर्माण गर्न लागेको हो । सघन सहरी कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिविजन कार्यालय बिरगंज बाट कुल १४ करोड रुपैयाको लगानीमा बाल्चनपुरदेखि जंगलसैयासम्म १० किलोमिटर सडकमा उक्त प्रविधिबाट कालोपत्रे भइरहेको छ ।

१० किलोमिटर सडकमा कालोपत्रे टेण्डर गरिएकोमा हालसम्म ७ किलोमिटरमा निर्माण भइसकेको र बाँकी ३ किलोमिटर कार्तिक महिनाभित्रै पुरा गर्ने सगुन निर्माण सेवाका सञ्चालक कृष्ण खडकाले बताए । कुल ७ मिटर चौडाई सडकमा कालोपत्रे गर्ने र दुबैतर्फ कालोपत्रे संरक्षणको निमित एक–एक मिटर ग्राभेल राख्नुपर्ने योजना रहेको सञ्चालक खडकाले जानकारी दिए ।

संघीय सांसद प्रभु साहको पहलमा आएको उक्त योजनाको काम गत बैशाखमा पुरा हुनुपर्नेमा कोभिड १९ को महामारीका कारण मुलुकमा लकडाउन भएकाले निर्धारित समयमा कालोपत्रे निर्माण कार्य पुरा हुन नसकेको निर्माण कम्पनीका ईन्जिनियर उतिमलाल दासले बताएका छन् ।

नेपालको सन्दर्भमा एक्सफाल्ट प्रविधिको कालोपत्रे केही महंगो भएपनि राम्रो र टिकाउ हुने गरेको ईन्जिनियर दाशले जानकारी दिए । गौर–चन्द्रपुर मुख्य सडकखण्डपछि पहिलोपटक ग्रामीण भेग अर्थात बाल्चनपुर जंगलसैया सडकमा एक्सफल्ट प्रविधिबाट कालोपत्रे भइरहँदा स्थानीयहरु हर्षित बनेका छन् ।

गुजरा नगरपालिकाका नेपाली काँग्रेसका सभापति कुमार चौलागाँईले उक्त सडकखण्डमा कालोपत्रे निर्माणपछि आवतजावत सहज हुनुका साथै सो क्षेत्रमा व्यापार व्यवसाय बढ्ने र उद्योग निर्माणको सम्भाव्यता बढेको बताए । सामान्य प्रविधिको कालोपत्रे गरेको एकदुई वर्षभित्रै भत्किने समस्या भइरहेको अवस्थामा उच्च प्रविधिबाट कालापत्रे हुनु आफैमा सराहनिय काम भएको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले बताए ।

बाल्चनपुर जंगलसैया सडक निर्माणपछि सो क्षेत्रका कटहरिया, गुजरा, फतुवा विजयपुर, बृन्दावन नगरपालिकाका साथै बारा र सर्लाहीका मानिसलाई कलैया, वीरगञ्ज, सिमरा एयरपोर्टसम्म आवतजावत गर्न हजारौं मानिसलाई सहज हुने स्थानीयहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप