बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा, अरुलाई लडाएर आफू दौडने रणनीति !

यस्तो छ गोर्खा ब्रुअरी प्रकरणमा पछाडिको स्वार्थ
सोमबार, ०३ कात्तिक २०७७, १६ : ४१
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । बजारसँग कहिल्यै अलग हुन नसक्ने एउटा शब्द हो, प्रतिस्पर्धा । अर्थात् बजारमा रहने जो कोहीले पनि प्रतिस्पर्धात्मक अवस्थालाई स्वीकार गर्नैपर्छ, चाहे त्यो पूर्ण प्रतिस्पर्धात्मक बजारमा होस् वा चाहे एकाधिकार बजारमा नै किन नहोस् । फरक यतिमात्रै हो, प्रतिस्पर्धात्मक बजारमा बजारका अन्य फर्महरुसँग तुलना हुन्छ, एकाधिकार बजारमा आफ्नै ट्रयाक रेकर्डसँग । यस्तो प्रतिस्पर्धाले व्यवसायलाई हानी कहिल्यै गर्दैन, बरु व्यवसायिक क्षमता र गुणस्तर वृद्धिमा सहयोग नै गर्छ । 

तर, त्यही प्रतिस्पर्धा जब अस्वस्थ भइदिन्छ, त्यसले एक दुई हुँदै उद्योगलाई नै तहसनहस बनाइदिन्छ । अहिले मदिरा क्षेत्रमा त्यस्तै अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भएको छ । अरुलाई लडाएर आफू दौडन खोज्ने प्रयास पछिल्लो समय यो क्षेत्रमा सुरु भएको छ । त्यस्तै, गलत नियतका साथ पछिल्लो समय गोर्खा ब्रुअरीका उत्पादनमाथि आक्रमण भएको महशुस सो कम्पनीले गरेको छ । 

यसरी सुरु भयो ‘प्रहार’
आर्थिक वर्ष २०७७÷७८ को आर्थिक नीतिले मदिराको अन्तःशुल्क निर्धारणको सम्बन्धमा केही व्यवस्था संशोधन गरेको थियो । जसअन्तर्गत यसअघि एउटै समूहमा रहेको बियरलाई २ भागमा विभाजन गरी यसमा लाग्ने अन्तःशुल्क प्रतिलिटर १ सय ६५ रुपैयाँ र ४ सय ३० कायम गरेको थियो । 

यसअनुसार जौबाट बनेको बियरमा प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तशुल्क निर्धारण गरिएको छ । सोही ऐनले वियरको परिभाषा समेत दिएको छ । आर्थिक ऐनले दिएको परिभाषामा वियर भन्नाले ५ देखि ८ प्रतिशत अल्कोहलको मात्रा भएको जौ, हप्स, पानी र मर्चाको समिश्रणलाई जीव रासायनिक (बायो–केमिकल) प्रकृयाबाट कुहाइ त्यसपछि थिग्रयाउने प्रक्रियाबाट हुने उत्पादनको रुपमा व्याख्या गरेको छ । तर, यो व्याख्यामा जौको मात्रा कति हुनुपर्छ भन्ने कुनै व्यवस्था गरिएको छैन । जौ, ग्रीट, चामल जे प्रयोग गरे त्यो अन्तिममा सुगर (चिनी) मा रुपान्तरण हुने भएकोले त्यसले गुणस्तरमा कुनै प्रभाव पार्दैन ।  

उक्त ऐनमा बियरको सम्बन्धमा थप व्याख्या गर्दै भनिएको छ, ‘बियरमा मकैको ग्रीट, चामलको कनिका र चिनीलाई समेत कच्चा पदार्थको रुपमा प्रयोग गरी ग्लुकोज (चिनी) निकालिन्छ । त्यसलाई मर्चाको प्रयोगद्वारा अल्कोहल र कार्बनडाइअक्साइडमा परिणत गरिन्छ । यो प्रक्रियाका लागि ७ दिनदेखि २२ दिनसम्म लाग्दछ । कति दिन लाग्छ भन्ने कुरा वियरको प्रकारमा भर पर्छ । वियरमा लेबल लगाउनु र प्याकिङ गर्नुअघि हानीकारक जीवाणु नास गर्न पास्चराइज्ड गरिन्छ ।’

अहिले गोर्खा ब्रुअरीले उत्पादन गर्ने काल्सवर्ग लगायत सबै प्रकारका वियरमा ७ प्रतिशत भन्दा कममात्रै अल्कोहलको मात्रा हुन्छ । अन्तःशुल्क ऐनमा ८ प्रतिशतसम्म अल्कोहल भएको मदिराको अन्तःशुल्क प्रतिलिटर १ सय ६५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था अनुसार सो कम्पनीले कर तिर्दै आएको जनाएको छ । 

तर, गोर्खा बु्रअरीको बियरमा जौको मात्रा ५० प्रतिशत नभएका कारण त्यो उत्पादन बियर अन्तर्गत नै नपर्ने भन्दै त्यसले प्रतिलिटर ४ सय ६५ रुपैयाँ अन्तःशुल्क बुझाउनुपर्ने भन्ने व्याख्या गर्दै त्यसैलाई करछलिको रुपमा गलत प्रचार गरिएको कम्पनीले दाबी गरेको छ । 

कम्पनीका म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले अन्तःशुल्क ऐनमा १७ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएका पेय पदार्थमा मात्रै प्रतिलिटर ४ सय ६५ रुपैयाँ अन्तःशुल्क पर्ने भन्दै ७ प्रतिशतभन्दा कम अल्कोहल भएको बियरमा यो व्यवस्था लागू हुनै नसक्ने बताए । 

‘बियरको बजारमूल्य अहिले २ सय ५५ रुपैयाँ छ । त्यसमा कम्पनीको नाफा २० प्रतिशत राख्दा २ सय रुपैयाँ लागत मात्रै पर्छ । यसमा ४ सय ६५ रुपैयाँ अन्तःशुल्क तिर भनेर सरकारले पनि भन्दैन, प्राविधिक रुपमा नमिलेका केही विषय भए मिलाउन हामीले आन्तरिक राजश्व विभाग र अर्थ मन्त्रालयमा कुरा पनि गरेका थियौं । यसमा उहाँहरु सकारात्मक पनि हुनुहुन्छ’, म्यानेजिङ डाइरेक्टर सिलवालले भने । 

अन्तःशुल्कको विषयमा बजारमा उठेका प्रश्नलाई सकारात्मक रुपमा लिँदै ब्रुअरीले सरकारी अधिकारीहरुसँग त्यसबारे प्रष्ट पार्न आग्रह समेत गर्दै आएको थियो । तर, सो कम्पनी त्यतिबेला चिन्तित बन्यो जहाँ अन्तशुल्कको विषयलाई बियरको गुणस्तरसँग जोडियो । ‘गार्खा ब्रुअरीको बियर विष नै हो, यो खानेबित्तिकै खत्तम भइहाल्छ भन्ने ढंगले बजारमा हल्ला फिँजाइयो,’ सिलवाल भन्छन्, ‘करको बारेमा सरकार बसेर छलफल गर्न सकिन्छ । उहाँहरुलाई बुझाउन सकिन्छ । कुन वस्तुमा कति कर लिनुपर्छ भन्नेबारे पनि उहाँहरुले बुझ्नु पनि हुन्छ । तर, जब उपभोक्ताको प्रश्न आउँछ त्यसमा चिन्ता थपिन्छ । उपभोक्तालाई बुझाउन गाह्रो हुन्छ । बजारमा उठेका सामान्य विषयलाई उपभोक्ताको स्वास्थ्यसँग जोडेर हल्ला गरिनु खेदजनक विषय हो ।’ 

‘हामीले चाहेर पनि क्वालिटी परिवर्तन हुन्न’
त्यसो त गोर्खा ब्रुअरीले चाहेर पनि आफ्नो उत्पादनको गुणस्तरबाट पछि हट्न नसक्ने समेत प्रष्ट पारेको छ । गोर्खा ब्रुअरीका उत्पादन विदेशी ब्रान्डसँग जोडिएको र यस्तो ब्रान्ड २०० वर्षभन्दा लामो अनुसन्धानबाट तयार भएको कारणले आफूहरु अन्तर्राष्ट्रिय रुपमै प्रत्यक्ष निगरानीमा रहने समेत कम्पनीले प्रष्ट पारेको छ । 

‘प्रथमतःः हामी हाम्रो गुणस्तर आफैं खस्काउन चाहँदैनौं । यदि हामीले चाह्यौं नै भने पनि हामीले त्यसलाई परिवर्तन गर्न सक्दैनौं । हामी अन्तर्राष्ट्रिय चेन कम्पनी काल्सवर्गको प्रत्यक्ष निगरानीमा हुन्छौं,’ सिलवाल भन्छन्, ‘हामी आफैं पनि प्राविधिक एक्सपर्ट होइनौं । काल्सवर्गले दिएको रिफ्रेन्सलाई प्रयोग गर्ने मात्रै हो । हाम्रो उत्पादनलाई काल्सवर्गको विज्ञ टोली बजारबाटै नमुना उठाएर ल्याबको परीक्षण समय समयमा गर्छ ।’ यी सबै हुँदाहुँदै पनि गुणस्तरको कुरा उठाउनु र एउटा उत्पादनलाई विषको दर्जा दिनुलाई ‘अरुलाई भिलेन बनाएर आफू हिरो बन्न खोज्ने’ सोचबाहेक अरु केही मान्न नसकिने उनको भनाइ थियो । 

पर्दा पछाडिको स्वार्थ
अहिले अल्कोहलिक पेय पदार्थको बजारमा गोर्खा ब्रुअरीका उत्पादनहरुको वर्चस्व छ । कुल बजारको बहुसंख्यक हिस्सा अहिले पनि गोर्खा ब्रुअरीका उत्पादनहरुले ओगटेको कम्पनीको दाबी छ । यो दाबीलाई बजारले स्वीकार पनि गरेको छ । 

यस कम्पनीको उत्पादनका बढी विश्वास हुनुको पछाडिको कारणमध्ये अन्तर्राष्ट्रिय ब्राण्डसँगको सम्बन्ध नै मुख्य कारण हो । डेनमार्कको काल्सवर्ग ग्रुपसँगको सहकार्यका कारण यो ब्रान्डप्रतिको विश्वास उच्च भएको हो । गोर्खा ब्रुअरीप्रतिको यही विश्वासलाई भत्काउने उद्देश्यले पछिल्लो प्रपञ्च रचिएको आशंका कम्पनीले गरेको हो । 

अहिले बजारमा उच्च राजनीतिक पहुँच भएका केही व्यक्तिले धमाधम नयाँ उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेका छन् । आफ्नो बजार स्थापित गर्न अर्कोको गुणस्तरमाथि प्रश्न उठाउँदै जाने, राजनीतिक पहुँचका आधारमा कारबाही गराउने र विदेशी सहकार्यसम्मै संकटको अवस्था सिर्जना गर्नेगरी पछिल्लो गतिविधि अघि बढेको हुनसक्ने आशंका समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप