बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महामारीकै बीचमा सम्भव होला नेकपा केन्द्रीय कमिटी बैठक ?

सोमबार, ०३ कात्तिक २०७७, १९ : ५४
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।  नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड –१९ बाट दैनिक दुई हजार मानिस काठमाडौँ उपत्यकामा सङ्क्रमित  छन् । यस्तो स्थितिमा केन्द्रीय कमिटी बैठक होला त ?

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ । 

केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी छ । उक्त बैठक हुने, नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताए । “नेताहरु स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनुभएको छ । त्यसैअनुसार केन्द्रीय कमिटी बैठकको  मिति तोकिएको छ ”, उनले भने, “तर अहिले उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि ?”  उनले बैठक सरेको निर्णय नभएकाले आवश्यक तयारी आफूहरुले गरेको बताए । 

केन्द्रीय कमिटी सदस्य ४४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ । मुलुकभरि एक लाख ३२ हजार २४६ र काठमाडौँमा मात्र ५५ हजार ३८७ जनामा सङ्क्रमण देखिएको छ । “बैठक सरेको छैन । शीर्ष नेताहरु भर्चुअल बैठक गर्ने कि भन्ने सोचमा हुनुहुन्छ”, उनले भने, “स्थिति हेरेर बैठक बस्ने, नबस्ने टुङ्गो लाग्छ ।”  

बैठक बस्ने निश्चित नभएको र  स्थलको पनि  यकिन गरिएको छैन । अघिल्लो वर्ष नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत माघमा राष्ट्रियसभा गृहमा बसेको थियो । नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बैठकबारे औपचारिक जानकारी अझै आइनसकेको बताए ।  उनले कोभिडका कारणले बैठक के हुन्छ भन्न नसकिने जनाउँदै बैठकको देखिने गरी तयारीसमेत नभएको बताए ।  नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले  सरेको जानकारी अझै आइनसकेकाले बैठक हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप