शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ वर्षीया किशोरीको आविष्कार जसले कोभिड–१९ को उपचार पत्ता लगाउन सक्छ

मङ्गलबार, ०४ कात्तिक २०७७, ०९ : १६
मङ्गलबार, ०४ कात्तिक २०७७

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् ।

टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी छिन् । उनको आविष्कारले कोभिड–१९ को सम्भावित उपचार खोज्न मद्दत पुग्ने आशा गरिएको छ ।

अनिकाको आविष्कारले इन–सिलिको प्रणालीको प्रयोग गरेर सार्स–कोभ–२ भाइरसलाई बाँध्न सक्ने अणु फेला परेका छ । ‘पछिल्लो दिनमा मैले मेरो परियोजनाको बारेमा धेरै मिडिया कभरेज पाएको देखेँ, विशेष गरेर सार्स–कोभ–२ भाइरस संलग्न भएको भएर । यसले यो महामारी अन्त्य गर्ने हाम्रो साझा आशालाई प्रतिनिधित्व गर्छ । मजस्तै अरु पनि चाँडै सामान्य जीवनमा फर्कन चाहन्छन्,’ अनिकाले भनिन् । 

अनिका भारतीय मूलकी अमेरिकी हुन् । उनले आफ्नो उक्त परियोजना कक्षा आठमा नै प्रस्तुत गरेकी थिइन् । तर, यसको उद्देश्य कोभिड–१९ को उपचार खोज्ने भन्ने थिएन । उनको शुरुवाती लक्ष्य भनेको इन–सिलिको प्रणालीको प्रयोग गरेर इन्फ्लुएन्जा भाइरसको प्रोटिनलाई बाँध्न सक्ने कम्पाउन्डको खोजी गर्नु थियो ।

‘कोभिड–१९ को महामारीले विश्वमा छाटो समयमा पारेको प्रभावका कारण मेरो शिक्षकको सहयोगमा यसलाई सार्स–कोभ–२ भाइरसतर्फ मोड्यौँ,’ अनिका भन्छिन् ।

उनले सन् १९१८ को फ्लूको महामारीको अध्ययन गरेपछि भाइरसको सम्भावित उपचार पत्ता लगाउनेतर्फ प्रेरित भएको बताइन् । त्यस्तै, अमेरिकामा फ्लुका कारण अझै पनि मानिसहरु मरिरहेको थाहा पाएपछि उनले आफ्नो खोजलाई अघि बढाइन् ।

अनिकाले अब आफ्नो लक्ष्य भनेको वैज्ञानिहकहरुसँग मिलेर उनको आविष्कारबाट कोभिड–१९ को वास्तविक उपचार पत्ता लगाएर यसको फैलावट र मृत्युदरलाई रोक्नु भएको बताउँछिन् ।

‘मेरो आविष्कार समुद्रमा पानीको सानो थोपा मात्र हो । तैपनि, यो एक प्रयास हो,’ उनले भनिन् ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप