शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार

स्वास्थ्यमन्त्रीको दाबी गफमै सीमित, कोरोना नियन्त्रणमा प्रभावकारी हुन नसकेको औषधिकै कालोबजारी
बिहीबार, ०६ कात्तिक २०७७, ०९ : २६
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । तर सरकारको बेवास्ताका कारण उक्त औषधि नेपालमा कालोबजारीमा विक्री भइरहेको छ । गम्भीर लक्षणसहितका बिरामीको उपचारमा अझै पनि नेपालमा सो औषधिको प्रयोग भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै कालोबजारीमा विक्री हुन थालेको छ ।

गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई रिम्डेसिभिर औषधि सेवन गराए पनि कतिपयको ज्यान जोगाउन नसकिएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । यस औषधिको सेवनपछि बिरामीलाई भेन्टिलेटरमा लैजान नपर्ने, चाँडै निको हुने भनिए पनि पछिल्ला अध्ययनले त्यस्तो नदेखाएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । 

कोरोनाभाइरस (कोभिड—१९) संक्रमण भएपछि विगत ६ दिनदेखि नर्भिक अस्पतालको आइसियुमा काठमाडौंका ‘विकास पाण्डे’ (नाम परिवर्तन) उपचाररत छन् । कोरोना संक्रमणका कारण पाण्डेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले क्लिनिकल ट्रायल भइरहेकोे रेम्डेसिभिर औषधि सेवन गराउने निधो ग-यो ।

सरकारले रेम्डेसिभिर औषधि निजी फार्मेसीहरुलाई खरिदबिक्री गर्ने अनुमति दिए पनि सो औषधि बजारमा नपाएको पाण्डेका आफन्तले गुनासो गरे । केही ठाउँमा रेम्डेसिभिर औषधि पाइए पनि तोकेको मूल्यभन्दा चार गुणा बढी तिरेरमात्रै पाइने उनीहरुको भनाइ छ ।

बजारमा अभाव देखाउँदै उक्त औषधि चार गुणा मूल्य बढाएर २२ देखि २४ हजारमा विक्री गरेको पाइएको छ ।

रेम्डेसिभिरको मूल्य ६ हजार ७०० सय रूपैयाँ पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । तर संक्रमितको संख्या बढेसँगै रेम्डेसिभिर औषधिको अभाव देखाएर कालोबजारी भइरहेको हो ।

बजारमा अभाव देखाउँदै उक्त औषधि चार गुणा मूल्य बढाएर २२ देखि २४ हजारमा विक्री गरेको पाइएको छ । त्यो पनि च्यानल मिलाएर मात्र किन्न पाइन्छ । यसलाई नाम चलेका निजी अस्पतालकै फार्मेसीले महँगो मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।

जोरपाटीकी सविता पराजुली (नाम परिवर्तन)का श्रीमान् पनि कोभिड–१९ बाट संक्रमित भएपछि वीर अस्पतालमा भर्ना भएका छन् । पराजुलीका ४० वर्षीय  श्रीमानलाई कडा खालको लक्षण देखिएपछि चिकित्सकले रेम्डेसिभिर औषधि सेवन गर्न सल्लाह दिए । उपत्यकाका निजी तथा सरकारी अस्पताल र तिनका फार्मेसीमा पुग्दा उनले औषधि पाइनन् । औषधि खोजेको २ दिनपछि बल्ल आफन्तमार्फत उनले पाइन्, त्यो पनि कालाबजारीमा । सरकारले तोकेभन्दा चार गुणा बढी मूल्यमा किन्न उनी बाध्य भइन् ।

कोभिड—१९ भएर स्वास्थ्यमा जटिल समस्या भएका बिरामीको आर्थिक अवस्था कमजोर रहेमा वा शक्तिकेन्द्रमा पहुँच नभएमा संक्रमितले सहजरुपमा रेम्डेसिभिर औषधि नपाउने उनको भनाइ थियो । यसको कालोबजारीमा स्वयम् उपचारमा संलग्न डाक्टर र अस्पतालका फार्मेसी नै संलग्न रहेका छन् ।

कोभिड—१९ को परीक्षण, पहिचान र उपचारमा सरकारले विस्तारै हात झिक्दै गएको जनस्वास्थ्यविद्हरु बताउँछन् । मन्त्रालयले रेम्डेसिभिर औषधिलाई ट्रायल गर्ने अनुमति दिएको छ । विश्व स्वास्थ्य संगठनले हालै उक्त औषधि प्रभावकारी नभएको बताए पनि त्यसअनुसार सरकारले सो औषधिको प्रयोगबारे थप निर्णय गरिसकेको छैन । जसले गर्दा सर्वसाधारणमा अझै पनि उक्त औषधिप्रति विश्वास कायम रहेको र यही अवस्थालाई मौका छोपेर कालोबजारीमा विक्री गर्नेहरु सक्रिय रहेको पाइन्छ ।

नेपालमा दिन प्रतिदिन संक्रमणका कारण गम्भीर समस्या भएका बिरामी बढ्दै गएको अवस्थामा सो औषधि खरिद गरेर सञ्चित गर्न नसक्दा सर्वसाधारण बिरामीले दुःख पाएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

‘गम्भीर भएर अस्पतालको शैय्यामा बिरामी छट्पटाउँदा औषधि प्रयोग गर्दा बाँच्छ कि भन्ने आश आफन्तलाई लाग्ने भएकाले रेम्डेसिभिर औषधि खोज्दै हिँड्छन्,’ उनले भने, ‘कि राज्यले यो औषधिको बारेमा प्रष्टसँग बुझाइदिए चारगुणा बढी मूल्य तिरेर कसैले किन्दैनथे होला ।’  

मन्त्रालयले रेम्डेसिभिर औषधि खरिदका लागि कुनै सरकारी अस्पताललाई जिम्मा दिएर समयमै ल्याउन नसक्दा बाध्य भएर सर्वसाधारणले कालोबजारीमार्फत किन्ने गरेको उनी बताउँछन् । ‘आर्थिक अवस्था मजबुत भएकाहरु पहुँचमा हुन्छन् र औषधि पाउँछन्,’ उनले भने, ‘कमजोर अवस्था भएका परिवारका सदस्यमा संक्रमण भएर अस्पताल भर्ना भएमा औषधि उपचारबाट बञ्चित हुने भए ।’

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही अघि अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिने प्रतिवद्धता जनाएका थिए । उनले सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताइरहँदा संक्रमणका कारण अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छट्पटाइरहेका बिरामीका आफन्तले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर औषधि पाउन सकेका छैनन् ।

क्लिनिकल ट्रायल रहेको रेम्डिसभिर औषधि विश्व स्वास्थ्य संगठनले खासै प्रभावकारी नभएको भनिरहँदा समेत नेपालमा चार गुणा बढी मूल्यमा खरिदविक्री भइरहेको छ भने सरकारले सर्वसाधारण ठगिँदासमेत ध्यान दिन सकेको छैन ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही अघि अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिने प्रतिवद्धता जनाएका थिए । उनले सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताइरहँदा संक्रमणका कारण अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छट्पटाइरहेका बिरामीका आफन्तले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर औषधि पाउन सकेका छैनन् ।

मन्त्रालयले तोकेका कोभिड–१९ का अस्पतालहरुमा उपचारका लागि जाने बिरामीहरूलाई उपचारमा कुनै विभेद नहुने गरी व्यवस्था गरिएको सरकारले जनाए पनि व्यवहारमा लागु भएको बिरामीका आफन्तको भनाइ छ ।

यता औषधि व्यवस्था विभागले भने रेम्डेसिभिर औषधिको कालोबजारी भएको थाहा नपाएको बताएको छ ।

सरकारले रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्ने अनुमति दुई नेपाली र एक भारतीय कम्पनीलाई दिएको छ । नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको हो ।

यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुरका प्रमुराज वैद्यले रिम्डेसिभिर औषधि खरिद प्रक्रियामा रहेको बताए । करिव ४ दिनपछि रिम्डेसिभिर औषधि बजार पु¥याउन सकिने उनको भनाइ छ । अन्य दुई कम्पनीले पनि सो औषधिको अभाव रहेको बताए ।

राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेम्डेसिभिर एन्टिभाइरल ड्रग हो । यसअघि कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर भने विश्व स्वास्थ्य संगठनको अध्ययनले समेत प्रभावकारी नभएको देखिएको उनले बताए । कोभिड—१९ कारण आइसियु, भेन्टिलेटरमा रहेका बिरामीको ज्यान जोगाउन सकिने आशामा ट्रायलमा रहेको औषधिको उचित व्यवस्थापन नहुँदा सर्वसाधारणले महँगो मूल्यमा किन्नु परेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप