बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यातायात व्यवसायीले मनलाग्दी भाडा असुले, अनुगमन तीव्र

बिहीबार, ०६ कात्तिक २०७७, १० : १५
बिहीबार, ०६ कात्तिक २०७७

यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ ।

इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको संयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको हो ।

बुधबार मात्र इलाम नगरपालिका–७ धोवीधारामा ११३ सवारीको चेक जाँच तथा अनुगमन गरिएको छ । जसबाट रु पाँच हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।
 
यस अगाडिसमेत मेची राजमार्गका विभिन्न क्षेत्रमा जाँच गरिएको थियो । कोरोना महामारीका बीच कम सङ्ख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो । तर लकडाउन खुले पनि यात्रुसँग बढी नै रकम लिने गरेको गुनासो बढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ ।
 विशेष गरेर ग्रामीण क्षेत्रबाट कुद्ने सवारीले दोब्बरसम्म भाडा लिने गरेको गुनासो यात्रुहरुबाट आउने गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप