मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा सैयौँ शिक्षक तथा कर्मचारीले दसैँको मुखमा तलब पाएनन्

बिहीबार, ०६ कात्तिक २०७७, १४ : ०१
बिहीबार, ०६ कात्तिक २०७७

रौतहट । ‘दसैँ आयो खाउँला पिउँला’ भन्ने उखान रौतहटका सैयौँ शिक्षकहरुको लागि उखानमै सिमित बनेको छ । जिल्लाको ८ स्थानीय तहमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले चाडपर्वको मुखमा तलब पाउन नसकेको कारण दसैँमा कतिपय शिक्षक घर समेत जान नपाएर दुःखी बनेका छन् ।

शंकर मावि सहरमुजवामा कार्यरत शिक्षक बालाराम नेपाली हालसम्म तलब पाउन नसकेको कारण घरजान पाउने हो कि नपाउने भनी दोधारमा परेका छन् । वर्षको चाँडपर्वमा आफन्तसँग भेटघाट हुने धोको थियो तर तलब नपाउँदा उनी आफ्नो घर बाँके जान नपाएर दुःखी बनेका छन् ।

शिक्षक बालाराम एकजना उदाहरण मात्र हुन उनी जस्ता सैयौं शिक्षकले हालसम्म तलब नपाएर सबैको अवस्था त्यस्तै बनेको छ । जिल्लाको १८ स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा नहुँदा उक्त स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकहरु तलब पाउनबाट वञ्चित भएका छन् ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नगर तथा गाउँसभा सम्पन्न गरेर योजना बाँडफाँड गरेको कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने स्पष्ट प्रावधान रहेको छ। तर रौतहटको ८ वटा स्थानीय तह उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले जनाएको छ ।

पहिलो चौमासिक रकम निकासा नभएका राजदेवी, बौैधीमाई, देवाही गोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरु चाँडपर्वमा तलव सुविधाबाट वञ्चित भएका छन् ।

जनप्रतिनिधिहरुको कमी–कमजोरीका कारण नियमित समयमा नगर तथा गाउँ सभा सम्पन्न नगर्दा  अहिले कर्मचारी मारमा परेको छ । कतिपय स्थानीयतहमा नगरसभा सम्पन्न भएपनि बन्द सत्रमा योजना बाँडफाँडमा विवाद रहेको हुँदा सभाको कार्य अघि नबढ्दा बडा दसैँ जस्तो पर्वमा कर्मचारीहरु रित्तो हात पर्व मनाउनुपर्ने अवस्था सृजना भएको छ ।

निजामती सेवा नियमावलीमा चाँडपर्वको वेला विशेष सुविधासहितको तलब १५ दिन अगावै पाउनुपर्ने प्रावधान भएपनि रौतहटका ८ स्थानीयतहमा कार्यरत शिक्षक तथा कर्मचारी उक्त सुविधाबाट बञ्चित भएका छन् ।

 प्रमुख प्रशासकीय अधिकृतलाई  हाजिर नगराई आफनो पाकेटका  खरिदार, सुब्बा जस्ता कर्मचारीलाई मेयर तथा अध्यक्षले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा  काम गराउँदा रौतहटको अधिकाँश स्थानीय तहको अवस्था  भद्रगोल रहेको  छ । संघीय मामिला मन्त्रालयबाट अनाधिकृत रुपमा तल्लो स्तरको कर्मचारीलाई प्रमुखको आग्रहमा पठाएको कारण अधिकांश स्थानीय तहको आर्थिक अनियमितता बढेको फतुवा बिजयपुर नेकपा नगर अध्यक्ष अजय तिमल्सिनाको दाबी छ ।

दुर्गा भगवती गाउँपालिकाको प्रमुख अरुण साहले गाउँ सभा भइसकेको तर  निकासा लिने समय नरहेको हुँदा २ करोड ५३ लाख रकम सापटी लिएर शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, कर्मचारी र करारमा रहेका सबै कर्मचारीको तलब खातामा पठाईसकेको बताउँछन् । तर कटहरिया ,बौधिमाई,फतुवा बिजयपुरलगायत ७ स्थानीयतहका प्रमुखहरुले त्यो व्यवस्थापन गर्न नसकेको कर्मचारी तथा शिक्षकहरुले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप