शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला शुरु

शुक्रबार, ०७ कात्तिक २०७७, १५ : ५६
शुक्रबार, ०७ कात्तिक २०७७

महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए।

मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । “सोनामाई शक्तिपीठमा थुप्रै धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भने ।

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ । मेलामा आउने पीडित (कारनी)र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप