शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन राजपथको थानकोट–चित्लाङ गणेशमान मार्ग सडकको स्तरोन्नति शुरु

शुक्रबार, ०७ कात्तिक २०७७, १८ : २७
शुक्रबार, ०७ कात्तिक २०७७

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ । अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौँतर्फको चन्द्रागिरि नगरपालिका–४ र ७ मा पर्ने थानकोटदेखि करीब चार किलोमिटर सडकको पहाडका ढुङ्गाहरु फोरी सडकलाई फराकिलो गर्ने कार्य भइरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष तथा वाग्मती प्रदेशसभाका सदस्य रमा आलेमगरले बताइन् ।

उनले थानकोटदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर सडकलाई फराकिलो, ढल निर्माणका साथै ग्राभेलसमेत गर्ने गरी आगामी वर्षको वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन् । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले अहिले रु १३ करोड उपलब्ध गराएको र दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने भएको प्रदेशसभा सदस्य मगरले उल्लेख गरिन् ।

यसैगरी, चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्नेतर्फ निर्माण कार्यलाई तीव्रता दिइएको छ । केही हप्ताभित्रै कुन्छालदेखि चित्लाङसम्मको सडकखण्डमा हल्का सवारीसाधनहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि थानकोट–चित्लाङ गणेशमान सरोकार समितिले जनाएको छ । चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि काठमाडौँका उपभोक्ताहरुलाई मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत अन्य सामग्रीहरु उपलब्ध गराउन प्रत्यक्ष लाभ पुग्ने भएको थाहानगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप