शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

शनिबार, ०८ कात्तिक २०७७, १० : १५
शनिबार, ०८ कात्तिक २०७७

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । 

स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा  देउखुरीमा छलफल भएको छ । 

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए।  ‘पूर्वाधारहरु छन् ’,   प्रदेशसभा सदस्य थारुले भने, ‘अब संसद् बैठक  देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ । ’

प्रदेश प्रमुख सचिवसंँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभएको छ । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौंँ, जिम्मेवारी लिन तयार छौँ’, उनले भने, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौंँ ।’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ । 

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले  प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिए  ‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ । यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ ।’ राप्ती प्राविधिक  शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र  नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप