शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कहरमा काँग्रेस नेताहरु यसरी मनाउँदैछन् दसैँ

कोरोनालाई ध्यानमा राखेर दसैँ मनाउन सर्वसाधारणलाई अपिल
शनिबार, ०८ कात्तिक २०७७, १९ : ३९
शनिबार, ०८ कात्तिक २०७७

काठमाडौं । कोरोना महामारीका कारण यस वर्ष दसैँको रौनक हराएको छ । कोरोनाबाट बच्न र बचाउन भौतिक दुरीको विकल्प नभएपछि दसैँको रमझम परिवारका सदस्यका साथ घरको पर्खालभित्रै सीमित हुने भएको हो ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुको दसैँ पनि त्योभन्दा भिन्न हुने छैन । काँग्रेसका शीर्ष नेताहरु परिवारका साथ सामान्य रुपले दसैँ मनाइरहेको बताउँछन् ।

पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीलाई मध्यनजर गर्दै यस पटक परिवारका साथमात्र दसैं मनाएको उनको निजी सचिवालयले जनाएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले विगतमा पार्टीका नेता–कार्यकर्तालाई निवासमा बोलाउने र आफू पनि मान्यजनकहाँ गएर दसैँको टीका लगाउने गरे पनि यस पटक त्यस्तो कार्यक्रम बनाइएको छैन । आम नागरिकलाई पनि सजग र सचेत भएर दसैँ–तिहार मनाउन देउवाको सचिवालयले सुझाएको छ ।

यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैलाई आशिर्वाद दिएको र सबैबाट आशिर्वाद पाएको कल्पना गरेरै दसैँ मनाउने बताए । ‘अहिले धेरै चहलपहल गर्न सकिने अवस्था छैन । आवत–जावत, घुलमिल र भेटघाटलाई कम गरौँ भन्ने छ । त्यसैले यस पटक दसैँ घरमै सीमित भएको छ,’ रातोपाटीसँग उनले भने ।

पौडेलले आम नागरिकलाई पनि धेरै चहलपहल नगरी दसैँ मनाउन अनुरोध गरे । ‘सबैभन्दा पहिला जीवन हो । जीवनको सुरक्षा ठुलो कुरा हो,’ उनले भने, ‘जीवन रहे दसैँ अर्को साल पनि आउँछ । अहिले धेरै चहलपहल गरेर दसैँ मनाउनतिर नलागौँ भनेर आम नेपाली दाजुभाइ र दिदीबहिनीलाई आफ्नै घरमा सुरक्षित भएर दसैँ मनाउन मेरो अनुरोध छ ।’ 

काँग्रेस उपसभापति विमलेन्द्र निधिले यसपाली सामाजिक सञ्जाल र फोनमार्फत शुभकामना आदान प्रदानबाहेक दसैँको अन्य कार्यक्रम नरहेको सुनाए । उनले यसपाली आफ्नो घरमा दसैँसमेत नरहेको बताए । चिकित्सकहरुले बनाएको मापदण्डअनुसार कोरोनाबाट बच्ने उपाय अपनाएर मात्र दसैँ मनाउन निधिको सुझाव छ ।

यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले दाजु प्रकाश कोइरालाको निवासमा गएर दसैँको टीका थाप्ने योजना रहेको सुनाए । 
उनले भने, ‘यस पटक भिडभाड गरी दसैँ मनाउन सम्भव छैन । दाजुको हातबाट टीका लगाउन उहाँको घरमाचाहिँ जान्छु ।’

काँग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्काले केही दिनअघि आफ्नी कान्छी फुपु बितेकाले दसैँ मनाउने कुनै तयारी नभएको बताए । 
स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गरी भिडभाड नगरी सानो परिवारभित्र दसैँ, तिहार र छठलगायतका चाडबाड मनाउन उनको अनुरोध छ ।

‘कोरोना महामारीले दैनिक नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भइरहेको छ । यसपटकको चाडबाड नेपालीका लागि सुखद् र उत्साहसहित मनाउने अवस्था छैन,’ मानवीय समवेदनाको कुरा जोड्दै खड्काले भने ।
काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको यसपाली दसैँ मनाउने योजना छैन । यद्यपि परिवारसँग बसेर खानपिन गर्ने श्रेष्ठले बताए । 

समुदायस्तरमा कोरोना संक्रमण प्रवेश गरिसकेको भन्दै उनले दसैँ–तिहारका बेला विगतमा जस्तो भिडभाड नगर्न सबैमा अनुरोध गरे ।
कोरोनाले सामाजिक र आर्थिक जनजीवन प्रभावित भएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सामान्य तरिकाले दसैँ मनाउने बताए । ‘एउटै घरमा बसेकाले मात्र दसैँमा टीका लगाउने हो । मान्यजनकहाँ गएर टीका लगाउने कुरा अहिलेको परिस्थितिले दिएको छैन,’ उनले भने, ‘स्वास्थ्य विज्ञले भनेअनुसार, उहाँहरुले तोकेको मापदण्ड पालना गरेर दसैँ मनाउने योजना छ ।’ ज्यान जोगियो भने अर्को पटक राम्रोसँग दसैँ मनाउन सकिन्छ भन्दै उनले सबैलाई सावधानी अपनाउन पनि आग्रह गरे ।

काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलले भने गृहजिल्ला झापा गएर दसैँ मनाउने योजना रहेको सुनाए । उनले भने, ‘दसैँमा झापा जान्छु । तर यस पटक विगतमा जस्तो टीका थाप्न आउने–जाने कार्यक्रम हुँदैन । परिवारसँग बसेर दसैँ मनाउँछु ।’

यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रविधिको माध्यमबाट शुभकामना र आशिर्वाद आदान–प्रदान गर्दै दसैँ मनाउने सुनाए । विषम् परिस्थितिमा दसैँ लगायतका चाडपर्व मनाउनुपर्ने अवस्था आएको भन्दै उनले आफ्ना इष्टमित्र, साथीभाइसँग भेटघाट गर्दा संक्रमण फैलिँदैन भन्ने मानसिकता राख्न नहुने बताए ।

उनले भने, ‘कोरोना संक्रमण थप फैलिन नदिनु हामी सबैको कर्तव्य हो । आ–आफ्नो घरमा चाडपर्व मनाउने गरौँ । प्रविधिको माध्यमबाट पनि शुभकामना र आशिर्वाद आदान–प्रदान गर्न सकिन्छ । अहिलेको अवस्थामा चाडबाड मनाउने उपयुक्त बाटो नै यही हो । यही बाटो रोज्न सबैलाई मेरो आग्रह छ ।’

यस्तै, काँग्रेस नेता अर्जुननरसिंह केसीले अत्यन्त सामान्य ढंगले घरमै बसेर दसैँ मनाउने बताए । उनले भने, ‘साथीभाइ, इष्टमित्रसँग सामाजिक सञ्जालमार्फत शुभकामना दिने र भेटघाटलाई जतिसक्दो नियन्त्रित बनाउने कोशिसमा छु ।’
केसीले भने, ‘कोरोना महामारीकाबीच दसैँ मनाउँदै छौँ । दसैँ हाम्रो परम्परा एवं संस्कृति हो । यसलाई सादगीपूर्ण रुपमा मनाउनु आवश्यक छ ।’ उनका अनुसार दसैँ जहिले पनि आउँछ तर जीवन सुरक्षा अहिले सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

कोरोनाको महामारीबाट बच्ने र बचाउनका लागि उत्प्रेरित गर्ने ढंगले दसैँ मनाउनुपर्नेमा उनको जोड छ । 
‘आर्थिक दृष्टिकोणले मुलुुक विपन्न अवस्थामा गुज्रिएको छ । भोकभोकै मर्नुपर्ने, आत्महत्या गरेर मर्नुपर्ने स्थिति छ । त्यस्तालाई वरपर जसले जहाँ जति सघाउन सकिन्छ, सघाउने र सामाजिक रुपमा सद्भावनाको खाँचो छ,’ उनले भने ।
भौतिक दुरी कायम गर्दै एकले अर्कोलाई सहयोग गरेर दसैँ मनाउने संस्कार र संस्कृतिलाई कुनै ढंगले विकृतिमा परिणत हुनबाट रोक्नुपर्ने केसीको भनाइ छ । ‘दसैँ भनेको असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय, अविवेकमाथि विवेकको विजय र भ्रष्टाचार, दुराचारविरुद्ध सदाचारको विजयको रुपमा मनाउँछौँ । यो मनाउने प्रेरणा दुर्गाभगवतीबाट प्राप्त होस्,’ उनको कामना छ । 

यस्तै, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दसैँको मौसम आए पनि मुड नआएकाले दसैँ नमनाउने बताए । उनले भने, ‘६ सयभन्दा बढी आफ्नाको मृत्यु भएको बेलामा दसैँ मनाउने भइएन । म यस पटक दसैँको टीका लगाउँदिनँ । कोरोनाबाट ६ सय बढीले ज्यान गुमाउनु भएको छ । दसैँको मौसम त आयो तर मुड आएन ।’

घरभन्दा बाहिर रहेकाहरुलाई दसैँ मनाउने नाममा कोरोनाको कोसेली बोकेर नजान उनको आग्रह छ । उनले भने, ‘कोरोनाको जोखिममा हामी सबै छौँ । तर सबैभन्दा बढी कोरोनाबाट ज्येष्ठ नागरिक जोखिममा हुनुहुन्छ । त्यस कुरालाई हामी सबैले ख्याल गर्नुपर्छ । चाडपर्व मनाउनै पर्छ तर कोरोनाबाट हजारौँ संक्रमित भएको बिर्सिनु हुँदैन भन्ने मेरो आग्रह र अपिल छ ।’ 

विगतमा झापामा होस् वा काठमाडौँ बस्दा नै किन नहोस्, प्रवक्ता शर्माले रक्तदानको कार्यक्रमसहित दसैँ मनाउँदै आएका थिए । यस पटक त्यो कार्यक्रम पनि नरहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप