बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तराई–मधेशमा दसैँः डायनको डरदेखि झिझिया नृत्यसम्म

आइतबार, ०९ कात्तिक २०७७, ०९ : २९
आइतबार, ०९ कात्तिक २०७७

कोरोनाको माहामारीबीच दसैँको आगमन भइसकेको छ । हिन्दु धर्मावलम्बीहरुले आफ्नो संस्कृति र परम्पराअनुसार दसैँ मनाइरहेका छन् ।

दसैँलाई कसैले पूजापाठ र आराधनाको रुपमा मनाउँछन् भने कतिपयले यसलाई खानपिन र रमाईलो पर्वका रुपमा मनाइरहेका छन् । विशेषगरी दुर्गा भगवतीको पूजा आराधना हुने यस पर्वमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्छ ।

आफ्नो संस्कृति र परम्पराअनुसार दसैँलाई तराई मधेशमा पनि मनाउने गरिन्छ । तराई मधेसमा यसलाई दसैँ, दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ ।

तराई मधेशमा माटोको मूर्ति स्थापना गरेर दुर्गा भगवतीको पूजा गरिन्छ । संस्कृतिविद् डा.रामदयाल राकेश भन्छन्, ‘जहाँ दुर्गा मन्दिर हुन्छ, दसैँमा त्यहाँ भव्य मेला लाग्छ, बलि चढाइन्छ, जहाँ मन्दिर हुँदैन त्यहाँ माटोको मूर्ति बनाएर मेला लगाउने र बलि दिने चलन छ ।’

यस्तो माटोको मूर्ति दसैँको अवधिमा गाउँगाउँमा स्थापना गरिएको हुन्छ । जनघनत्वअनुसार कतिपय गाउँमा दुई÷तीन ठाउँमा मूर्ति बनाएर मेला लगाइन्छ । धेरैजसो ठाउँमा दुर्गाको घर (गहबर) स्थायी रुपमै बनाइएको हुन्छ । दसैँंको बेलामा त्यसमा दुर्गा भगवतीको मूर्ति स्थापना गरि पूजाआजा गरिन्छ । तराई मधेशमा पहिलादेखि बनिरहेको मन्दिरभन्दा पनि माटोको मूर्ति बनाएर पूजा गर्ने प्रचलन व्याप्त छ ।

काठमाडौंमा पनि तराई मधेशका केही संघसंस्था मिलेर माटोको मूर्ति बनाएर दुर्गा भगवतीको पूजापाठ तथा आराधना गर्दछन् भने नवरात्रिभर सानोतिनो मेला नै लागेको हुन्छ । विगतका वर्ष काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमै मूर्ति स्थापना गरि पूजापाठ गरिन्थ्यो । तर कोरोना महामारीका कारण यसपाली सरकारले त्यहाँ मूर्ति राख्न नदिएका कारण एउटा पार्टी प्यालेसमा मूर्ति स्थापना गरिएको कमल यादवले बताए ।

तराई मधेशमा जताततै दसैँका लागि दुर्गा भगवतीको आकर्षक मूर्ति बनाएर सजाइन्छ । दसैँ आउनुभन्दा एक÷डेढ महिना अघि नै माटोको त्यस्ता मूर्ति बनाउने कालिगढलाई मूर्ति बनाउन भ्याइ–नभ्याइ हुने गर्दछ ।

नवरात्रिभर दैनिकजसो भक्तजनहरु मूर्ति राखिएको स्थानमा पूजाका लागि आउने गर्दछन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्यजस्तै बनेको हुन्छ, जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरु पूजा–आराधना गर्न र मेला भर्नसमेत आउने गर्दछन् ।

दसैँमा लाग्ने यस्तो मेलालाई मौलिक परम्पराको रुपमा लिइने संस्कृतिविद् राकेश बताउँछन् । मेलालाई मनोरञ्जनको रुपमा पनि लिने गरिन्छ, जहाँ नाचगानसमेत हुन्छ । यस अतिरिक्त बालबालिकाहरुलाई खेल्नका लागि विभिन्न मनोरञ्जनामत्क खेलका सामग्रीहरु पनि राखिएका हुन्छन् ।

मेलामा विभिन्न नाचको आयोजना गरिएको हुन्छ । जस्तै, अलाह रुदल, कुमर भिजमान, चाटजटिन, सोरैठ लगायत हुन्छन् ।

संस्कृतिविद् राकेश भन्छन्, ‘सहरी क्षेत्र, खासगरी काठमाडौं उपत्यकामा दसैँलाई अधिकांश व्यक्तिले खानपिनको पर्वका रुपमा मनाउन थालेका छन्, यहाँका व्यक्तिहरु पूजापाठमा त्यति ध्यान दिँदैनन्, आफ्ना क्षमता अनुसार खर्च गरेका हुन्छन् । खसी र मदिरा अनिवार्यजस्तै भएको छ, तर तराई मधेशमा त्यस्तो हुँदैन ।’

तराई मधेशमा दुर्गा भगवतीका लागि जसले भाकल गरेका हुन्छन्, उसले भाकलअनुसारको बलि दिएर घरमा प्रसादको रुपमा मासु पकाएका हुन्छन् । जसको घरमा खसी काटिएको हुँदैन, त्यसलाई बोलाएर खुवाउने चलन तराई मधेशमा रहेको उनको भनाइ छ ।

तराई मधेशमा भाकल गरेर बलि दिने प्रचलन बढ्दै गएको हुनाले प्रायःको घरमा खसीको काटिएको हुन्छ । दसैँमा मासुमात्र खाने भनेर नभई दुर्गा भगवतीलाई गरिएको भाकल अनुसार खसी तथा बोका काट्ने गरिन्छ ।

तराई मधेशमा महानवमीका दिन विशेष पूजाआजा गरिन्छ । धेरैजसोले यही दिन भाकल अनुसार बलि दिने गर्दछन् ।

मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । खस–आर्य हिन्दु धर्मावलम्बीले ठूलाबडा तथा मान्यजन्यबाट टीका थाप्नुको साथै जमरा लगाउने चलन छ तर मधेसी समुदायमा यस्तो चलन छैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि शुरु भएको छ ।

डायनको डर

दसैँको आगमनसँगै तराई मधेशमा ‘डायन’ (आसुरी शक्ति भएकी एक महिला पात्र) सक्रिय हुने अन्धविश्वास छ । त्यसैले कतिपयले आफ्ना बालबच्चालाई घरबाट निस्किन नदिने, निस्किन दिए पनि ढाडमा लसुन बाँधिदिने, निधारमा कालो टिका लगाईदिने चलन छ । दसैँमा डायन तथा धामी झाँक्रीले आफ्नो जन्तरमन्तर (तन्त्र विद्या) सिद्ध गर्ने भएका हुनाले त्यो सिद्धिका लागि कुनै बालबालिकामा प्रयोग गर्ने बुढापाकाको भनाइ छ ।

डायन तथा धामी झाँक्रीको नजरबाट बचाउनका लागि गाउँघरमा आफ्नो घरको प्रवेशद्वारमा कालो पोत्ने, नाङ्लोमा कालो तथा चुना पोतेर घरमा झुण्ड्याउने चलन छ । दसैँको पहिलो दिन घटस्थापनाकै दिन घरआँगन लिपपोत गरेर मूल ढोकामा कालो पोत्ने गरिन्छ । घटस्थापनाको दिन प्रवेशद्वारहरुमा पोतिएको कालो फुलपाती अर्थात सप्तमीका दिन मेटाउने चलन छ ।

दसैँ लागेपछि सुनारहरुले दसैँया औंठी बेच्ने चलन हुन्थ्यो । त्यो औंठी लगाएपछि डायन तथा धामी झाँक्रीको डर नहुने मान्यता थियो तर दसैँया औंठी लगाउने चलन लगभग हराइसकेको सिरहा औरही– ५ का श्रीदेव यादव बताउँछन् । उनी भन्छन्, ‘पहिलाजस्तो डायन तथा धामी झाँक्रीको डर पनि हराईसकेको छ । पहिलाजस्तो अहिले बालबच्चा लुकाउने काम पनि हुँदैन ।’ यसको मुख्य कारण चेतना र शिक्षा नै हो । डायन, धामी झाँक्री केही होइन भन्ने कुरा धेरैले बुझ्दै गएको उनी बताउँछन् ।

तर पनि कुनै कुनै ठाउँमा डायन जोगिन, धामी, झाँक्रीबाट बचाउनका लागि बालिकालाई टीका लगाईदिने, बिहान–बेलुका घरबाट जथाभावी निस्कन नदिने चलन अझै कायम रहेको उनको धारणा छ ।

झिझिया नृत्य

डायन जोगिनबाट जोगिनका लागि नै झिझिया नृत्यको चलन आएको हो । तराई मधेशमा झिझिया चलन अझै कायमै छ । दसैँ शुरु भएसँगै झिझिया नृत्य शुरु हुन्छ । दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन यो नृत्य समाप्त हुन्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । र, पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ ।

यो नृत्य गर्ने महिलाहरु डायन, जोगिन, धामी झाँक्रीहरुलाई गाली गर्ने, त्यसको विरोध गर्ने, सराप्ने गर्दछन् । घैटोमा असंख्य प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरुले नृत्य गरेका हुन्छन् । नृत्य गर्न नजान्नेले टाउकोलाई हल्लाईरहन्छन् । त्यसरी टाउको हल्लाईरहनुको एउटै कारण हो, डायनले त्यो प्वाल गन्न नपाओस् । यदि डायनले त्यो घैँटोको प्वाल गन्न सकेमा अनिष्ट हुने बुढापाकाहरु बताउँछन् ।

जात्रा

तराई मधेशमा विजया दशमीमा जात्रा लाग्छ । दुर्गा भगवतीलाई बिर्सजन गर्ने दिन भएकाले विशेष जात्राको रुपमा त्यस दिन मनाइन्छ ।

यस दिन निलकण्ठ चरा पनि हेर्ने गरिन्छ । त्यो दिन निलकण्ठ चरा देखेमा जात्रा सफल भएको मानिन्छ । त्यसैले त्यस दिन खेतबारी, फुलबारीतिर गएर निलकण्ठ चरा खोजेर हेर्ने चलन पनि रहेको संस्कृतिविद् राकेशले बताए । तर अहिले निलकण्ठ चरा हेर्ने चलन पनि बिस्तारै हराउँदै गइरहेको छ ।

 यसरी हुन्छ पूजा आराधना

दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा हुन्छ । महिलाहरुले जलाशयबाट कलशमा जल (पानी) ल्याएर दुर्गा मन्दिरमा राख्छन् । पहिला त्यसको पूजा हुन्छ । दुर्गा मन्दिरका पूजारी सुमन झाका अनुसार पञ्चमीसम्म त्यसैगरी पूजा हुन्छ । षष्ठी अर्थात दसैँको छैठौं दिन बेललाई फूलबारीमा निमन्त्रणा दिन्छन्, जसलाई स्थानीय भाषामा ‘बेला नत’ भनिन्छ । एउटै डाँठमा फलेको दुईटा बेललाई शिव र शक्तिको रुपमा निमन्त्रण दिन्छन् । शक्ति भनेको दुर्गा भगवती हुन् ।

त्यसको भोलिपल्ट अर्थात् सप्तमी (दसैँको सातौं दिन) को दिन निमन्त्रणा दिएका बेललाई लिन जान्छन् । ती बेललाई पूजापाठ गरी डोलीमा राखेर दुलही ल्याएझैँ मन्दिरमा ल्याउँछन् । अनि, मन्दिरमा पूजापाठ गरी बेललाई भित्र्याउँछन् ।

पूजारी झाका अनुसार त्यसलाई दुर्गा भगवतीको गृहप्रवेश भनिन्छ । र, त्यही दिन त्यो माटोको मूर्तिमा प्राणप्रतिष्ठा प्रदान गर्ने काम हुन्छ । घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा खालिएको हुँदैन । सप्तमीको दिनमा मूर्तिको आँखा खोलिन्छ ।

दुर्गा भगवतीको आँखा खालेकै दिन एउटा खसीको बलि दिनुपर्ने हुन्छ । आँखा खोल्नेबित्तिकै दुर्गा भगवतीलाई केही भोग (खान) दिनुपर्ने हुन्छ । आँखा खोल्ने बेला एकजना भक्तजन खसी लिएर दुर्गा भगवतीको अगाडि उभिएका हुन्छन् । र, आँखा खुल्ने बित्तिकै खसीको बलि दिइन्छ ।

अष्टमी अर्थात आठौं दिनको पूजालाई अर्धरात्री पूजा भनिन्छ । जसलाई कालरात्री पनि भनिन्छ । त्यस रात गरिने दुर्गा भगवतीको पूजालाई निशा पूजा पनि भनिन्छ । रातभर पूजा आराधना हुन्छ । कोटिन जोगिनको पूजा पनि त्यही दिन हुन्छ । अन्तिममा गएर बधम बध पूजा हुन्छ र बलि दिन शुरु हुन्छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, राँगा, परेवा, हाँस आदिको बलि दिइन्छ ।

नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । विजया दशमी अर्थात् अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जनको पूजा हुन्छ । त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ, जसलाई जात्रा भनिन्छ । त्यो दिन यात्राका लागि एकदमै शुभ मान्ने गरेको पूजारी झाले बताए । कसैलाई बाहिर जानु छ वा आउनु छ भने त्यस दिन शुभ मानिन्छ । त्यो दिन चेलीबेटी, बुहारी भित्र्याउने वा पठाउने काम पनि हुन्छ ।

मन्दिरमा दुर्गा भगवतीका साथै सरस्वती, काली, लक्ष्मी, गणेश, रमेन्त महाराजा, शिव पार्वतीको पनि मूर्ति राखेर दसैँभर उनीहरुको पनि पूजापाठ हुन्छ । दुर्गाको पूजाका साथै यी देवीदेवताको पूजा पनि दसैँमा अनिवार्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप