केन्द्रीय संस्करण
दसैँ

एक कम्युनिस्ट योद्धाको नजरमा दसैँ

मोहन वैद्यको प्रश्न– राम वा देवीकै महिमामा किन, सहिदको महिमामा दसैँ मनाए हुन्न ?

person explore access_timeकात्तिक १०, २०७७ chat_bubble_outline2

नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय नाम हो मोहन वैद्य ‘किरण’ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिवसमेत रहेका वैद्य अहिले सक्रिय कयौं कम्युनिस्ट नेताका राजनीतिक गुरु पनि मानिन्छन् ।

तडकभडक र सुख–सुविधाबाट टाढा सादगीपूर्ण जीवन बिताउँदै आएका वैद्य कम्युनिस्ट भएकै कारण धर्मप्रति खासै रुची राख्दैनन् । हिन्दु धर्मावलम्बीहरु यतिबेला दसैँ मनाइरहेका छन् । तर उनलाई दसैँको खासै महत्त्व लाग्दैन ।

दसैँ मनाउनै पर्छ भन्ने पक्षमा नरहेका उनी दसैँ मान्नु हुँदैन भन्ने पक्षमा पनि छैनन् । उनी भन्छन्, ‘दसैँ आफ्नो स्थितिअनुसार मनाउने वा नमनाउने कुरा हो ।’

बाल्यकालको दसैँ

राजनीतिमा प्रवेश गर्नुअघि उनले पनि दसैँ अरुले सरह मनाउँथे । ‘संयुक्त परिवारमा थियौँ । परिवारमा बाजेबज्यै, काकाकाकी, आमा, बा र अरु मान्यजनहरुले दसैँको महत्वलाई अंगिकार गर्दै मनाउने परम्परा थियो,’ बाल्यकालको सम्झना गर्दै उनले भने ।

पार्टी संगठनमा लागेपछि पनि प्रारम्भका दिनमा उनले दसैँ मनाए । ‘दसैँ मनाउनु उपयुक्त होइन भन्ने बुझ्दा बुझ्दै पनि त्यतिबेलाको सामाजिक परिस्थिति र परिपाटीअनुसार मनाउँदै आएकाले मनाइयो । त्यसबेला आफुले टीका लगाए पनि मैले अरुलाईचाहिँ लगाइनँ । किनभने म उमेरले त्यसबेला सानै थिएँ ।’

जनयुद्धकालमा दसैँ

जनयुद्धमा लागेपछि वैद्यका लागि दसैँ मनाउने अर्थात् टीकाटाला गर्ने परिस्थिति नै भएन । ‘अहिलेसम्म पनि मेरो व्यक्तिगत कुरा गर्दा त्यही अवस्था हो,’ उनले भने, ‘मान्यजनको कुरा गर्दा आमा हुनुहुन्छ । तर पनि दसैँको टीको लगाएको छैन ।’

उनी टीका लगाउनुलाई कम्युनिस्ट चरित्रविपरीत ठान्छन् । । कम्युनिस्टहरुले टिको लगाउने कि नलगाउने भन्ने कुरा गर्दा हाम्रो टीको लगाउने मान्यता होइन । यो मेरोमात्रै मान्यता पनि होइन,’ उनले भने, ‘प्रगतिवादीहरु, खासगरी कम्युनिस्टहरुले टीका लगाउने चलन हटाउँदै लैजानुपर्छ, रुपान्तरणको प्रक्रियामा जानुपर्छ भन्ने छ ।’

यस्ता मान्यताका बारेमा आम दृष्टिकोण के हुनुपर्छ, कस्तो हुनुपर्छ भन्ने कुरा अलग विषय हुनसक्ने तर आफ्नो व्यक्तिगत बिचारमा टीका लगाउनैपर्छ भन्ने नरहेको उनको भनाइ छ ।

कम्युनिस्टको दसैँ कस्तो हुनुपर्छ ?

नेता वैद्य दसैँ मनाउनुपर्छ या पर्दैन भनेर कम्युनिस्ट दर्शनमा कहीँ कतै उल्लेख नभएको बताउँछन् । ‘दसैँमात्र होइन, सबै संस्कृतिका कुरा हुनसक्छन् यसमा । संस्कृतिको कुरा गर्दा लामै विवेचना गर्नुपर्ने विषय हुन्छ,’ उनले भने, ‘जस्तो दसैँ नै के हो त ? यसमा कयौँ कुरा अर्थ न बर्थ गोविन्द गाई टाइपका प्रक्रियाहरु पनि चलेका छन् । कसरी सुरु भयो त दसैँ ? घटस्थापना कसरी सुरु भयो ? यो के हो ? यसबारे एकातिर पुराण र पुराणका मिथकहरु छन् ।’

रावणमाथि रामचन्द्रको विजय, दुर्गाको रुप, देवीहरुले दानवमाथिको विजय प्राप्त गरेका लगायतका कथाहरु, पौराणिक सन्दर्भहरु पुरानो जमानाका कुरा भएको उनी बताउँछन् । समाज विकासको प्रक्रियामा यस्ता किसिमका मिथक विश्वभर नै आ–आफ्नै हुने उनले बताए । ‘त्यो मिथकलाई हामीले भौतिकवादी दृष्टिकोणले हेर्दा पौराणिक कुरामात्रै हुन्छन् भन्ने पनि होइन । त्यहाँ कतिपय ऐतिहासिक कुराहरु पनि छन्,’ उनले भने, ‘त्यो ऐतिहासिक पक्षलाई खोतलेर हेर्ने, विश्लेषण गर्न आवश्यक हुन्छ ।’

यसर्थ घटस्थापना या दसैँलाई हेर्ने क्रममा पुरानो समाजमा फर्कनुपर्ने उनको भनाइ छ ।

त्यो बेलाको दृष्टिकोण तन्त्रवादमा आधारित रहनुका साथै यस्ता खालका परम्पराहरुको भौतिकवादी अर्थ पनि रहेको उनले बताए । महाआदिम साम्यवादको अवस्था रहेको त्यो बेला देवीको महत्व किन भयो त ? दानवहरुलाई समाप्त पार्न देवी नभै नहुने किन हो ? यस्ता विषयका साथै पुराण, इतिहास सबैलाई द्वन्द्वात्मक भौैतिकवादी दृष्टिकोणले हेर्नुपर्ने उनले बताए । ‘त्यो बेला त्यस्तो थियो भनेर यो बेला पनि यही गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘समाज त परिवर्तन हुँदै आएको छ । विकास र परिवर्तनको दृष्टिकोणबाट हेर्दा यस्ता खालका परम्परालाई पुरानो राज्यसत्ताले आफ्नो शोषण–दमनको साधन पनि बनायो भन्न सकिन्छ ।’

धर्मका दुई पाटो

धर्मका दुईवटा पाटो रहेको उनकी अर्थ्याउँछन् । ‘एउटा त्यो बेलाको सामाजिक मान्यता पनि हो धर्म,’ उनले भने, ‘अर्को, त्यो सामाजिक मान्यता अन्तर्गत एउटा वर्गले अर्को वर्गलाई उत्पीडन गर्ने मान्यता पनि थियो । बहुसंख्यक र अल्पसंख्यक उत्पीडित वर्गका मान्यता पनि छन् । यी दुईटा कुरालाई हामीले छुट्याउनुपर्छ ।’

भौतिकवाद मान्नेहरुका लागि दसैँ मनाउने कुरा आफ्नो इच्छामा भरपर्ने विषयमात्र हो त ? उनी भन्छन्, ‘इच्छामात्रै नभनौँ । यो दसैँ लगायतका चाडबाड जे–जे छन्, यी सबै पुरानो मान्यतामा आधारित छन् । जसले एकातिर यहाँको सामन्तवादलाई प्रश्रय दिइरहेको छ भने अर्कोतिर जनताको जीवनमा गहिरिएर जोडिदिएको पनि छ ।’ यिनै दुई पक्षलाई केलाउनुपर्ने उनको भनाइ छ ।

चाडबाडलाई नवीकरण गर्नुपर्छ

पुराना चाडबाडलाई मनाउने तरिकालाई नवीकरण गर्नुपर्ने खाँचो उनले औंल्याए । उदाहरण दिँदै वैद्यले भने, ‘दसैँमा पहिला १५ दिन छुट्टी दिने चलन थियो, अहिले ५ दिनमा झ¥यो । दसैँको छुट्टी पाउँदा सबै रमाउँछन्, यो प्रस्ट छ । यसको अर्थ मानिसहरु विभिन्न पेसा, व्यवसायमा लागेका हुन्छन्, त्यो छुट्टीमा घरपरिवारमा जम्मा भएर भेट गर्न पाउँछन् ।’ दसैँको महत्त्वलाई बिदासँग जोडेर पनि हेर्नुपर्ने उनको भनाइ छ ।

यस्तो अवस्थामा हिजो दानवमाथिको विजय भनेर मनाइँदै आएको दसैँलाई नवीकरण गरेर आजको सन्दर्भसँग जोडेर मनाउन सकिने उनी बताउँछन् । ‘देश र जनताको निम्ति जनताले विभिन्न संघर्षहरु गर्दै आएका छन्, त्यसक्रममा थुप्रै सहिदहरु भए,’ उनले भने, ‘हो, अब यी सहिदहरुको सम्मानमा बिदा दिनुपर्छ । नेपाली जनताले परिवर्तनका लागि गरेको संघर्षका क्रममा कहाँकहाँ विजय प्राप्त गरे वा पराजय भए ? कहाँ कहाँ संघर्षका झण्डाहरु उठाए र त्यसमा सहिदहरुको कस्तो महत्त्व रह्यो भन्ने अर्थमा नवीकरण गर्न सकिन्छ ।’

दसैँका अवसरमा ५ दिन दिइने बिदालाई सहिद दिवसका बेला दिए पनि हुने उनको भनाइ छ । ‘बिदा यही बेला दिनुपर्छ भन्ने जरुरत छैन । ठिकै छ, यदि यही बेलामा दिने हो भने पनि यसलाई सहिद दिवसका रुपमा मनाउँ,’ उनले भने ।

यस क्रममा परम्परागत मान्यताका साथ दसैँ मनाउनेको भावनामा चोट लगाउनु नहुने उनले बताए । ‘कतिले दसैँ भनेर मनाउलान्, कतिले सहिद दिवस भनेर,’ उनले भने, ‘सरकारले पुरानो मान्यतालाई मात्रै किन समात्ने ? कम्युनिस्ट भनेर सरकारमा बस्ने अनि सबै कुरा पुरानै हुने ? सरकारमा पुगेको त कम्युनिस्ट नै भएर हो नि ! कि त पुरानै मान्यताअनुसार जानुप¥यो । परिवर्तनको कुरा मान्नै भएन ।’

त्यो बेलामा रामचन्द्रले रावणमाथि विजय प्राप्त गरे दसैँ मजाउन थालियो भने अहिले गंगालाल, दशरथ चन्दलगायतका थुप्रै सहिदको सामाजिक महत्वलाई मान्यता दिने गरी परिमार्जन गर्न सकिने उनले बताए ।

वैद्यका अनुसार धार्मिक मामिलाका बारेमा पार्टीको प्रश्न एकातिर हुन्छ भने दोस्रोमा राज्यसत्ता र सिंगो समाजको प्रश्न रहन्छ । यी दुईवटा विषयलाई गाँजेमाजे गर्न नहुने उनले बताए । ‘पार्टीसँग सम्बन्धित कुरामा जब द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई मानिन्छ भने दसैँमात्रै नभइ सबै धार्मिक क्रियाकलाप, संस्कारहरुलाई रुपान्तरण गर्न द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद अनुसार जानुपर्यो भन्ने हो,’ उनले भने, ‘खासगरी कम्युनिस्ट पार्टी र तिनका सदस्यहरुका लागि भनिएको हो यो । त्यसका लागि बहस छलफल गरेर जानुपर्ने र एउटा मान्यता बनाउनुपर्ने हुन्छ ।’

यसअघि पार्टीमा यस्ता विषयमा बहस, छलफल भए पनि निश्कर्ष निकाल्न नसकिएको उनले बताए ।

यसैगरी समाज र सिंगो राज्यको कुरा गर्दा राज्यले धार्मिक मामिलामा हस्तक्षेप गर्नु नहुने उनी बताउँछन् । ‘तर राज्यसत्ताले कसको हित गर्छ भन्ने कुरा पनि बहसकै कुरा छ । राज्यले दसैँ किन मान्दै आएको छ त ?,’ उनले भने, ‘कति जनसंख्याले मान्छ भन्ने कुरा पनि बहसका क्रममा उठ्छ । त्यसमा जनजातिसहित दसैँ नमाउने पनि छन् । यस्तो अवस्थामा बहस चलाउने काम हामी कम्युनिस्टहरुले नै गर्ने हो ।’

राज्यले समाजमा हस्तक्षेप नगरी यस्ता विषयलाई रुपान्तरणको प्रक्रियामा लैजानुपर्ने उनको भनाइ छ ।

कम्युनिस्ट सरकारले धानेको परम्परा

त्यसो त, अहिले कम्युनिस्ट पार्टीकै नेतृत्वमा सुविधाजनक बहुमतसहितको सरकार छ । यस वर्ष कोरोना महामारीका कारण राष्ट्र, प्रधानमन्त्री लगायतले सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम रद्द गरेका छन् । विगतका वर्षमा भने राष्ट्रपति, प्रधानमन्त्रीबाट टीका लगाइदिने चलन थियो । कम्युनिस्ट पार्टीका नेता राष्ट्रपति र प्रधानमन्त्री हुँदा पनि यस्तो अभ्यास हुनुलाई वैद्य अनौठो मान्दैनन् । उनका विचारमा नेपालमा वास्तविक गणतन्त्र नै आएको छैन ।

‘राजतन्त्र हटेर गणतन्त्र आयो भन्दैमा क्रान्ति भयो भन्ने होइन,’ उनले भने, ‘एउटा परिवर्तनमात्रै हो । सहिद सप्ताह मनाउन किन छुट्टी दिइँदैन त ? भनेपछि यो राज्यसत्ताले त पुरानै परम्परा र संस्कार मानिरहेको छ । गणतन्त्र आयो भन्नेमात्रै हो अरु सबै पुरानै छ ।’

गणतन्त्र धेरै प्रकारका हुने उल्लेख गर्दै वैद्य भन्छन्, ‘हाम्रोमा आएको गणतन्त्र पुरानै प्रकारको हो, नयाँ होइन । हामीले नयाँ गणतन्त्र भनेका हौँ । तर यहाँ त एउटा राजा हटे, उनको ठाउँमा धेरै राजा बनेर देखिए ।’

उनी अहिलेको सरकारलाई ‘कम्युनिस्ट सरकार’ नै मान्दैनन् । ‘भन्नलाई यो सरकारले राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेको छ । तर आर्थिक क्रान्ति कसरी र कुन नीतिका आधारमा गर्ने भन्ने स्पस्ट छैन,’ उनले भने, ‘कम्युनिस्ट सरकार भनेपछि कम्युनिस्ट नीति र दृष्टिकोणबाट गर्नुपर्ने हो नि । तर नवउदारवादलाई सिरानी हालेर समाजवादमा जाने कुरा सरकारले गरेको छ । यो हुनसक्ने कुरा होइन ।’

सरकारले आर्थिक क्रान्ति ल्याउने भनिरहे पनि नवउदारवादतर्फ उन्मुख भएको उनी बताउँछन् । ‘यो त कम्युनिस्टहरुमा बढ्दै गएको सुधारवाद हो,’ उनले भने, ‘यसलाई विचलनभन्दा पनि हुन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 26, 2020, 4:40 p.m. Sabin raj adhikari
    left idiots
  2.  0 Reply
  3. Oct. 26, 2020, 12:02 p.m. Sanath bahadur
    Sabai khot hindu dhram ma matra rahex. Yesalai samjerw dashain manaunu paryo aba
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.