शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरबीच भारतको बिहार विधानसभाका लागि पहिलो चरणको मतदान सुरु, यी हुन् प्रमुख उम्मेदवार

बुधबार, १२ कात्तिक २०७७, ०९ : ३८
बुधबार, १२ कात्तिक २०७७

भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत बुधबार पहिलो चरणको मतदान सुरु भएको छ । बिहार विधानसभाको २४३ सिटमध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान भइरहेको छ । कोरोना महामारीका बीच पहिलो पटक बिहारमा मतदान भएको हो । नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए)का तर्फबाट ७१ सिटमध्ये मुख्यमन्त्री नितीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, पूर्व मुख्यमन्त्री जीतनराम माझीको पार्टी हम–एस ६ र मुकेश सहनीको भीआइपीले एक सिटमा उम्मेदवारी दिएको छ ।

अर्कोतर्फ राष्ट्रिय जनता दल (आरजेडी) ले ४२, काँग्रेस आईले २१ र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले ८ सिटमा उम्मेदवारी दिएको छ ।
तेस्रो ध्रुवका रुपमा लोक जनशक्ति पार्टीले ४१ सिटमा उम्मेदवारी दिएको छ । यो दल यस पटक एनडिएबाट अलग भएर चुनाव लड्दैछ । यस क्रममा पहिलो चरण अन्तर्गत लोक जनशक्ति पार्टीले जेडीयुका सबै अर्थात् ३५ उम्मेदवारविरुद्ध नै उसले आफ्ना प्रत्यासी खडा गरेको छ ।

पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् । 
मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् । बिहारमा दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो तथा अन्तिम चरणको मतदान ७ नोभेम्बरमा हुँदैछ । मत परिणाम भने १० नोभेम्बरमा एकसाथ सार्वजनिक गरिनेछ ।

प्रमुख उम्मेदवारहरु
पहिलो चरणको चुनावमा टाउन विधानसभा सिटमा सबैभन्दा बढी २७ उम्मेदवारको भाग्य परीक्षण हुँदैछ । बाँका जिल्लाको कटोरिया विधानसभा क्षेत्रमा सबैभन्दा कम अर्थात पाँच उम्मेदवार चुनावी मैदानमा छन् ।
पहिलो चरणको निर्वाचनमा कयौँ प्रमुख नेताहरुको भाग्य परीक्षण हुनेछ । राष्ट्रमण्डल खेलमा सुटिङमा स्वर्ण पदक दिलाएकी २७ वर्षीय श्रेयसी सिंह जमुईमा उम्मेदवार बनेकी छन् । उनी भाजपाको उम्मेदवार हुन् । जमुई लोकसभा क्षेत्रबाट चिराग पासवान निर्वाचित भएका थिए । उनले विधानसभा निर्वाचनमा श्रेयसीलाई समर्थन गरेका छन् । श्रेयसीविरुद्ध आरजेडीका विजयप्रकाश यादवले उम्मेदवारी दिएका छन् । विजयप्रकाश पूर्व केन्द्रीय मन्त्री जयप्रकाश यादवका भाइ हुन् । जयप्रकाशकी छोरी दिव्याप्रकाश पनि तारापुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेकी छन् ।

यस अतिरिक्त टाउनबाट भाजपाका प्रेमकुमार, लखीसरायबाट विजयकुमार सिन्हा, बाँकाबाट रामनारायण मण्डल, जहानाबादबाट कृष्णानन्दन प्रसाद, दिनाराबाट जयकुमार सिंह र राजपुरबाट सन्तोषकुमार निराला चुनावी मैदानमा छन् । यी सबै राज्य सरकारका मन्त्री छन् ।

इमामगञ्जबाट बिहारका पूर्वमुख्यमन्त्री जीतनराम माझी चुनावी मैदानमा छन् । उनलाई आरजेडीका उदयनारायण चौधरीले चुनौती दिएका छन् ।

प्रतिश्पर्धा
बिहार विधानसभा निर्वाचनमा यस पटक नितीशकुमार नेतृत्वको एनडिएलाई तेजस्वी नेतृत्व गठबन्धनले चुनौती दिएको छ । उनी विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित भएका छन् । नितीशकुमार चौथो पटक मुख्यमन्त्रीका लागि जनादेश माग गरिरहेका छन् । अर्कोतिर आरजेडी नेतृत्वको गठबन्धनमा काँग्रेस र वामपन्थी पार्टी सामेल छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनासम्बन्धी प्रोटोकल पालना गर्दै मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै मतदातालाई मेरो आग्रह छ, कोभिडसम्बन्धी सावधानी अपनाएर लोकतन्त्रको यो पर्वमा आफ्नो सहभागिता सुनिश्चित गर्नुहोस् । दुई गजको दूरीलाई ध्यानमा राख्नुस्, मास्क अनिवार्य लगाउनुस् । याद राख्नुस्, पहिला मतदान, त्यसपछि जलपान ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप