शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडान

बुधबार, १२ कात्तिक २०७७, १३ : ५२
बुधबार, १२ कात्तिक २०७७

वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । 

    विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ । 
    
    कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए । दोस्रो चरणमा आधारभूत तहका विद्यालयमा समेत इन्टरनेट सेवा जडान गर्ने योजना रहेको उनको भनाइ छ । 

    इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने विद्यालय स्वयंले बुझाउनुपर्ने छ । इन्टरनेटको सुविधा भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्र होइन्, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास लिइएको छ । इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने शिक्षकहरुको दावी छ । 

    यसअघि गाउँपालिकाले सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि यहाँका नौ वटै वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरिसकेको छ । 

    कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप