शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुकेश चौरसिया हत्या प्रकरणः पर्सा प्रहरीले अपराधलाई प्रश्रय दिएको नेकपा प्रदेश–२ को ठहर

बुधबार, १२ कात्तिक २०७७, २० : ३८
बुधबार, १२ कात्तिक २०७७

सत्तारुढ नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु प्रकरणले नेकपा प्रदेश नम्बर २ आन्दोलनमा जुटेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पीडित आफन्तजनले दिएको जाहेरी दर्ता नगरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनअघि जाहेरी दर्ता गर्नका लागि एक विज्ञप्ति नै निकाल्नु परेको थियो ।

पर्सा प्रहरीले हालसम्म जाहेरी दर्ता नगर्दा वीरगञ्जमा दिनहूँ जाहेरी दर्ताका लागि प्रहरी विरुद्ध आन्दोलन हुदैँ आएको छ ।  छैठौँ दिन बित्दा पनि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको छ भने आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् । नेकपा प्रदेश नम्बर २ ले प्रहरीले जाहेरी दर्ता नगरी कानुनी राज्यको खिल्ली उडाएको भन्दै घोर भत्र्सना समेत गरेको छ ।

प्रदेश नम्बर २ मा अस्थायी राजधानी जनकपुरमा उपलब्ध केन्द्रिय समिति सदस्यहरुले आईतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रहरीको कार्यशैलीको घोर भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा ३७ जना केन्द्रिय कार्य समिति सदस्यले एक विज्ञप्ति जारी गर्दै पीडित परिवारले दिएको जाहेरी दर्ता नगर्नु अपराधलाई प्रश्रय दिनु रहेको र यसले प्रहरी संगठनको बदनामी भएको संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

३७ जना केन्द्रिय सदस्यले संयूक्तरुपमा जारी गरिएको विज्ञप्तिमा पीडित निवेदकको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही होस्, मृतकलाई सहिद घोषणा गरियोस्, मृतक परिवारलाई राहत, घाइतेहरुको निःशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गर्नका लागि सो जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट जाहेरी दर्ताका लागि अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको नाम हटाउ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी गरिएको विज्ञप्तिमा घटनाको प्रकृति हेर्दा, सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्य सहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरेपनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा भनदा कडा कारवाही गर्नका लागि माग गरिएको छ । जारी गरिएको सो विज्ञप्तिमा–'घटनाको पृष्ठभूमि हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवादित थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथ ग्रहण कार्यक्रमको आयोजना भयो । कार्यक्रम सुरु हुनु अघि नै केही आपराधिक पृष्ठभुमि भएका व्यक्तिहरुको योजनाम अपराधीहरु बाँसको भाटा लगायतका हतियारहरु बोकी कार्यक्रम स्थलमा पुगे । पार्टीको व्यानर र झण्डा च्यात्न थाले । कामरेड मुकेश चौरसियाले रोक्न खोज्नुभयो । अपराधीहरुले वहाँ लगायत वहाँसंगै रहेका निहत्था कमरेडहरुमाथि आक्रमण गरे । केही कमरेडहरु घाइते भए भने क. चौरसियाको टाउकोमा नै ताकेर बाँसको भाटाले अन्धाधुन्ध प्रहार गरे । क. चौरसिया ढल्नु भयो । त्यसपछि गाउँलेहरु प्रतिकारमा उत्रे अनि अपराधीहरु भागे । घाइते कमरेड चौरसियालाई एम्बुलेन्समा अस्पताल पुर्याइयो । उपचारको क्रममा भोलि पल्ट विहान वहाँको निधन भयो ।' उल्लेख गरिएको छ ।

नेकपा प्रदेश नम्बर २ को सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको वैठकमा स्थायी समिति सदस्य मातृका प्रसाद यादवको उपस्थिती रहेको थियो भने प्रदेश सह–ईन्चार्जद्वय नागेन्द्र प्रसाद चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, सत्रुधन महतो, योगनारायण बरबरीया, श्रीप्रसाद साह, यदुवंश झा, सुधिर प्रसाद साह, अजय शंकर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साह, टेक बहादुर बलम्पाकी, रामकुमार यादव, प्रकाश पोखरेल, रामपृत पासवान, दीर्घ बहादुर योञ्जन, डाचाराज वाग्ले, रविन्द्र वैठा, प्रहलाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र यादव, रामकुमार शर्मा, दिनेश राई, रामचन्द्र साह सो वैठकमा सहभागि भएका थिए भने सरला कुमारी यादव, कल्याणी खड्का, ममता गिरी, लक्ष्मण पौडेल, रत्नेश्वर गोइत, यूवराज भट्टराई, अशोक कुमार मण्डल र महादेव यादवले फोनबाट नै सो वैठकमा हुने निर्णयहरु बारे सहमती जनाएको नेकपा प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहले जानकारी दिए ।

शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ ।

सो घटनाका मुख्य योजनाकार नेकपा पर्साका जिल्ला सदस्य तथा पूर्व सांसद राजकुमार गुप्ता रहेको र उनकै कारण जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको नेकपा वीरगंज महानगरपालिकाका ईन्चार्ज रहबर अन्सारीको आरोप छ ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै छाडेको थियो ।

झडपमा समान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका छन् । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।

मुकेश चौरसियाको हत्या भए लगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाले जाहेरी दर्ता गर्नका लागि प्रहरीमा दवाव दिए भने सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई कारवाही गर्न माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप