शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटालीमा जीतपछि बार्साले उडायो युभेन्टस र रोनाल्डोको खिल्ली

बिहीबार, १३ कात्तिक २०७७, ०६ : ५८
बिहीबार, १३ कात्तिक २०७७

शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

खेलको १४ औँ मिनेटमा लियोनेल मेस्सीको पासमा ओसमान डेम्बेलेले बार्सालाई अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा मेरिह डेमिरालले दुईवटा पहेँलो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । इन्जुरी समयमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोना*को जीत सुनिश्चित गरे ।

खेलमा अल्भारो मोराटाले तीनपटक गोल गरे पनि हरेकपटक भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई रद्द गरिदिएका थिए । खेलमा युभेन्टसले सन् २००३–०४ सिजनपछि पहिलो पटक विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । उता, बार्सिलोना भने च्याम्पियन्स लिगको समूह चरणमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।

बुधबारको खेललाई दुई वर्षपछि मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डोको भिडन्त हुने भनेर प्रतिक्षा गरे पनि रोनाल्डो कोरोनाभाइरसको संक्रमणका कारण खेलमा सहभागी हुन सकेनन् । पोर्चुगलका लागि खेल्ने क्रममा गत १३ अक्टुबरमा उनमा संक्रमण पुष्टि भएको थियो । समयमा नेगेटिभ रिपोर्ट नआउँदा उनी खेलमा सहभागी हुन पाएनन् ।

खेलपछि बार्सिलोनाले सामाजिक सञ्जालमा विपक्षीलाई जिस्क्याउँदै मेस्सीको तस्विर राखेर लेखेको थियो – युभेन्टेस, तपाईंहरुको मैदानमा ‘गोट’ (सर्वकालिन महान् खेलाडी) लाई हेर्न पाएकोमा खुसी छौँ ।’

जीतसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा रहेको छ भने ३ अंकसहित युभेन्टस दोस्रो स्थानमा रहेको छ ।   

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप