शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण: नेपाल–भारत सीमा विवादले कस्तो मोड लेला ?

बिहीबार, १३ कात्तिक २०७७, ०८ : ४३
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे तीन दिने भ्रमणका लागि कात्तिक १९ गते नेपाल आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेको समयमा उनको भ्रमणलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष नरवणेको भ्रमण नियमित र पारम्परिक रहेको जनाए पनि विशेष परस्थितिमा उनको भ्रमण हुन लागेका कारण विभिन्न कोणबाट हेर्न थालिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्षलाई नेपालले र नेपालको प्रधानसेनापतिलाई भारतले मानार्थ महारथीको सम्मान दिने परम्परा रहेका कारण भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तर पछिल्लो एक वर्षदेखि नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्ध चिसिएको मात्र होइन, सीमा विवादबारे उनै नरवणेले दिएको अभिव्यक्तिसमेत विवादमा तानिएको थियो । यस्तो पृष्ठभूमिमा उनको भ्रमणलाई कतिपयले आशंकाको नजरले हेरेका छन् ।

अहिले कोरोना महामारीका कारण विश्वका धेरैजसो मुलुक आक्रान्त भएका छन् । द्विपक्षीय एवं बहुपक्षीय सहभागिता रहने कयौँ मञ्चहरु भर्चुअल बैठकमा सीमित हुन थालेका छन् भने भारतले समेत नेपालसँगको सीमा विवादबारे कोरोना महामारी अन्त्य भएपछि मात्र वार्तामा बस्न सकिने जनाउँदै आएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको छलफल विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध, खासगरी सीमा समस्या र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा केन्द्रित थियो । छलफलमा ओलीले नेपालको अडान पुनः जानकारी गराउनुको साथै समस्या समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका थिए ।

यस्तो परस्थितिमा भारतीय स्थल सेनाअध्यक्ष नरवणेको भ्रमण हुन लागेकोमा अर्थपूर्ण मानिएको छ । एकजना परराष्ट्रविद् भन्छन्, ‘मानार्थ महारथी दर्जाका लागि उहाँ नेपाल आउन लाग्नु भएको हो भनेर नेपाली सेनाले आधिकारिक जानकारी दिइसकेको छ, तर त्यतिका लागिमात्र उहाँ नेपाल आउन लाग्नु भएको होइन भने बुझ्नुपर्छ ।’

नेपाल–भारत सीमा विवादलाई लिएर तनाव चलिरहेको छ । नेपालले भारतसँग पटक–पटक वार्ताका लागि औपचारिक पत्र नै पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत अगस्त १५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन संवाद गर्दा विवाद समाधानका लागि संवादमा जोड दिएका थिए । त्यसपछि पनि परराष्ट्र मन्त्रालयले वार्ताका लागि नियमित रुपमा ‘फलोअप’ गरि नै रह्यो । नेपालस्थित भारतीय दुतावासमार्फत मन्त्रालयले पहल गरिरहेको थियो । त्यसबीचमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा पनि दिल्ली गएर भारत सरकारलाई रिपोर्टिङ गरेका थिए ।

उनी दिल्लीबाट फर्केको एक महिनापछि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएका थिए । कात्तिक ५ गते आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको छलफल विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध, खासगरी सीमा समस्या र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा केन्द्रित थियो । छलफलमा ओलीले नेपालको अडान पुनः जानकारी गराउनुको साथै समस्या समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका थिए ।

वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा समाधान खोजिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ रहेको उपप्रधानमन्त्री पोखरेलले प्रेसनोटमार्फत जानकारी गराएका थिए । रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीको प्रस्तुतिलाई सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखेका थिए । सो छलफलमा नेपाल र भारतका बीच कुनै समस्या छ भने त्यसलाई संवादका माध्यमबाट हल गर्न सकिने निष्कर्ष निकालिएको थियो ।

उपप्रधानमन्त्री पोखरेलको भनाइअनुसार सीमा विवादबारे देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले भारतका सेनाअध्यक्ष नरवणेसँग ठोस रुपमा वार्ता गर्नेछन् । र, त्यसैको तयारीका लागि रअ प्रमुख गोयल आएको धेरैको बुझाइ छ । भारतीय दूतावास स्रोतले पनि भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको तयारीका लागि नै ‘रअ’ प्रमुख गोयल नेपाल आएका थिए । नरवणेले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र नेपाल सेनाका प्रमुखसँग वार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्नका लागि सैन्य कुटनीति यस पटकमात्र प्रयोग गरेका भने होइनन् । यसअघि मधेश आन्दोलनका कारण उत्पन्न परिस्थितिमा भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दीको समयमा पनि प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्नका लागि सेनाको सहयोग लिएका थिए ।

नरवणेको नेपाल भ्रमण तय हुनासाथ प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफ्नो मातहत राखेका छन् । त्यसअघि उपप्रधानमन्त्री पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए । स्रोतका अनुसार भारतीय स्थल सेनाध्यक्षसँग रक्षामन्त्रीको हैसियतमा वार्ता गर्न सहज होस् भनेर नै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका हुन् ।

सैन्य कुटनीतिको प्रयोग

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्नका लागि सैन्य कुटनीति यस पटकमात्र प्रयोग गरेका भने होइनन् । यसअघि मधेश आन्दोलनका कारण उत्पन्न परिस्थितिमा भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दीको समयमा पनि प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्नका लागि सेनाको सहयोग लिएका थिए ।

२०७३ सालमा मधेशवादी दलले आन्दोलन गर्दा भारतको सहयोगमा नेपालमाथि नाकाबन्दी लगाइएको थियो । कुटनीतिक माध्यमबाट समस्या समाधान हुन नसकेपछि ओलीले सैन्य कुटनीति प्रयोग गरेका थिए । त्यतिबेला नेपाली सेनाका तत्कालीन प्रमुख राजेन्द्र क्षेत्री भारत भ्रमणमा गएका थिए र उनले गरेको प्रयासका कारण भारतले नाकाबन्दी फिर्ता लिएको थियो ।

यसपटक दुई देशबीच सीमा विवाद चर्किएको छ । विवाद समाधानको कुटनीतिक प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीकै प्रयासमा भारतीय सेनाअध्यक्ष नरवणे नेपाल भ्रमणमा आउन लागेको बताइन्छ ।

भारतीय सेनाअध्यक्षको टिप्पणी

हुन त नेपाल र भारतबीच सीमा विवादका बारेमा भारतीय सेनाध्यक्ष नरवणेले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । विवाद बढेपछि उनले त्यसलाई सच्याएका थिए । नरवणेले जेठ २ गते नेपालले कसैको उक्साहटमा लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाएको टिप्पणी गरेका थिए । भारतमा आयोजित एक गोष्ठीमा उनले काली नदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको दावी गर्दै त्यसमा नेपालले आपत्ति जनाउनुको कुनै तुक नरहेको धारणा राखेका थिए । उनले भनेका थिए, नेपालले यसको विरोध गर्नुको कुनै तुक देख्दिनँ बरु उसले कसैको उक्साहटमा त्यसको विरोध गरेको म देख्छु ।’

त्यसको चौतर्फी विरोध भएपछि एक महिना नपुग्दै उनले आफ्नो भनाइ सच्याएका थिए । उत्तराखण्डको एक कार्यक्रममा उनले नेपाल–भारतको सम्बन्ध बलियो रहेको र भविष्यमा पनि रहने विचार प्रकट गरेका थिए । सो कार्यक्रममा उनले सीमा विवादको बारेमा केही बोलेनन् ।

भ्रमणका एजेन्डा

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीसँग सेनाध्यक्ष नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन् । त्यसमा साथै सेनाध्यक्ष नरवणेले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । साथै उनले पशुपतिनाथको दर्शन पनि गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप