बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुन्छः प्रभु साह

बिहीबार, १३ कात्तिक २०७७, १० : ५५
बिहीबार, १३ कात्तिक २०७७

रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुने विश्वास व्यक्त गरेका छन् । रौतहटको गुजरा नगरपालिका अन्तरगत जंगलसैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश चौरसियाको वास्तविक हत्यारालाई कसैले बचाउन नसक्ने जिकिर गरेका हुन् ।

पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताउँदै अध्यक्ष साहले कुनै पनि हालतमा अपराधी बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताएका छन । पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिएपनि जबरजस्ती कार्यक्रम गरेकोमा अध्यक्ष साहले दुःख व्यक्त गरे ।

पर्साकोको विन्दवासिनी गाउँपालिकामा विवादका कारण गाउँ कमिटी सचिव मुकेश चौरसियाको निधन भएको  हो । प्रदेश कमिटीले कुनै पनि विवादित कार्यक्रम नगर्न भने पनि त्यसको ठिक विपरीत कार्यक्रम हुनु र त्यसमा पनि नेताले ज्याउन गुमाउनुपर्ने यो स्थिति दुःखद रहेको उनको भनाइ छ ।

प्रहरी प्रशासनले मुकेशको हत्या भएको यति दिन भइसक्दा पनि जाहेरी दर्ता नगर्नु त्यसभन्दा दुःखद कुरा भएको उनले गुनासो गरेका छन । जघन्य अपराधको विषयमा राज्य संवेदनहीन भएर प्रस्तुत हुन मिल्दैन । संघीय सांसद प्रभु साहले भने, ‘स्पष्ट पार्न चाहन्छु कि अब मुकेशको हत्याको जाहेरी दर्ता हुन्छ । उनको हत्यारा पानीमुनि गएर लुकेपनि कसैले बचाउन सक्दैन । र, कोही पनि निर्दोषलाई फसाउने मनसाय पनि पूरा हुन दिन्नौँ । हामी सोही अनुसार छलफलमा छौँ ।’

‘पार्टीभित्रको आन्तरिक विवादको कारण त्यस्तो भएको हो भनेर भनिएको छ । हामी छलफलमा छौँ । अबको दुई तीन दिनभित्र यसको हल निस्किन्छ,’ उनले भने, ‘तर मृतकको लास त्यस्तै राख्ने काम ठिक हुँदैन । राज्य पक्षले यसको संवेदनशीलता बुझ्नु जरुरी छ ।’

गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप