बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घटे डोजर : बढे रोजगार

बिहीबार, १३ कात्तिक २०७७, १५ : ०१
बिहीबार, १३ कात्तिक २०७७

ओखलढुंगाका स्थानीय तहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् । विगतमा विकासनिर्माणका सबैजसो काममा डोजरको प्रयोग हुुने गरेको थियो । यस वर्ष डोजरसहितका मेशिनको प्रयोग घटाएर स्थानीय तहले युवाहरुलाई विकासनिर्माणको काममा परिचालन गरेका हुन् । 

कोरोनाको कहरका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई आर्थिकोपार्जनको अवसर दिएर दिगो विकासमा सहभागिता बढाउने नीति लिइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । सडक मर्मत तथा निर्माण र अन्य पूर्वाधार विकासका काममा पनि स्थानीय श्रमशक्तिको अत्यधिक प्रयोग गर्ने र विकल्पका रूपमा मात्र यन्त्र प्रयोग गर्ने गरी काम शुरु भएको अध्यक्ष अधिकारीको भनाइ छ । 

अध्यक्ष अधिकारीले विकास  दिगो हुने र  रोजगारीको अवसर पनि सिर्जना हुने भएकाले पालिकाका सबै ठाउँमा हुने विकासका काम स्थानीय मानिसबाटै गर्न थालिएको स्पष्ट गरे ।  विकासका काम ठेकेदारमार्फत गर्दा दिगो नभएको भन्ने गुनासोसमेत स्थानीय जनशक्ति प्रयोग गर्दा हट्ने अपेक्षा गरिएको उनको भनाइ छ । 

जिल्लाका सबैजसो स्थानीय तहको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट प्रभावित तथा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने वर्गको आयआर्जनमा सहयोग पु¥याउन स्थानीय श्रम शक्तिको परिचालनलाई प्राथमिकतामा दिने उल्लेख गरिएको छ ।  खिजीदेम्बा गाउँपालिकाले विकासनिर्माणका आयोजनामा अत्यावश्यक ठाउँमा मात्रै यन्त्र प्रयोग गर्न थालेको छ । विकासका योजनामा ७० प्रतिशत श्रमशक्ति र ३० प्रतिशत यन्त्र प्रयोग गर्ने अवधारणा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए। 

गाउँपालिकाका वडा तहमा सञ्चालित सडक मर्मत तथा निर्माणका योजनामा स्थानीय श्रमशक्रतिलाई नै प्रयोगमा ल्याइएको छ । बिग्रे भत्केका सडक मर्मत तथा यन्त्र आवश्यक नहुने ठाउँको सडक चौडा पार्ने, साधारण मार्ग खोल्नेलगायत काम अहिले गाउँपालिकाका विभिन्न वडामा स्थानीय युवामार्फत नै भइरहेका छन् ।

खिजीदेम्बा– ४ खिजीकातीमा सडक स्तरोन्नतिका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट स्थानीय युवालाई परिचालन गरेर सडक सोलिङको काम थालिएको छ । वडाभित्रका बेरोजगार युवाको तथ्याङ्क संकलन गरी समूहमा विभाजन गरेर विकासका काममा परिचालन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

 खिजीकातीमा सांसदको स्थानीय पूर्वाधार साझेदार कार्यक्रमबाट गएको बजेट पनि स्थानीय युवामार्फत नै विकासका काममा खर्च गरिएको छ ।
मोलुङ गाउँपालिकाले बेरोजगार युवा र श्रमिकले रोजगारीका लागि दिएको आवेदनका आधारमा युवा परिचालनको नीति लिएको छ । वडावडामा उपभोक्ता समिति बनाएर स्थानीय श्रमिकमार्फत काम गर्न थालिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । 
युवा व्यवस्थापनको विषय चुनावी कार्यसूची बनाएका जनप्रतिनिधिले स्थानीय युवा परिचालनको कामलाई विशेष रुपमा लिएका छन् । यसरी भइरहेको विकासका कामको नियमित अनुगमनसमेत भएको छ  ।  स्थानीय तहमा सडक सामान्य मर्मत तथा अन्य विकासनिर्माणका काममा श्रमशक्तिको उच्चतम प्रयोग हुनु सकारात्मक शुरुआत भएको सरोकारभएकाहरु बताउँछन् । यसले रोजगारी सिर्जना गर्न योगदान पुग्ने, स्थानीयवासीको आयस्रोत बढ्ने र जीवनस्तर माथि उठाउन सहयोग पुग्ने सुनकोशी मिलन समाजका अध्यक्ष जालन्धर कार्कीले बताए । 

कोरोना संक्रमणको जटिलावस्थामा धेरै युवा शहरबाट गाउँ फर्किएको, कतिले रोजगारी गुमाएको र आर्थिक मन्दीले समस्या परेकाले  स्थानीय तहको नमूना अनुकरणीय हुने सरोकार भएकाहरु बताउँछन् ।
विदेशिने तयारीमा रहेका युवा पनि गाउँमै काम पाएपछि विदेशको सपना त्यागेर गाउँको विकासमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप