शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोतघरमा अजङ्गका खुँडा, तरवार र खुकुरी

बिहीबार, १३ कात्तिक २०७७, १५ : ०५
बिहीबार, १३ कात्तिक २०७७

चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट ।

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो । विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताए।

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाएका हुन्। ढोरपाटन नगरपालिकामा विकको ‘बुर्तिबाङ आरन सेवा’ छ । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उनले बताए । 

यसअघि विकले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको रु  एक लाख ११ हजार मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चा पाएको थियो । रु चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताए । 

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएको बताए । 

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप