मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ मनाएर फर्कनेबाट काठमाडौँमा संक्रमण बढ्ने आँकलन : एचडीयूको संख्या बढाउने सरकारको रणनीति

काठमाडौँ फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न आग्रह
बिहीबार, १३ कात्तिक २०७७, १८ : ३३
बिहीबार, १३ कात्तिक २०७७

दसैँपछाडी फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायातमार्फत् उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए । हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयम्को भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न नसकिने उनको भनाइ छ । त्यसैले व्यक्ति स्वयंले पनि काठमाडौँ फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए ।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दसैँमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए । गाउँ भन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए । काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने दिक्षितको भनाइ छ । जाडो मौसममा घर भित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए । आफू बाहेक अरु सबै संक्रमित छन भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ ।

यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप