बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा विषालु लामो सर्प – किङ्ग कोब्रा

शुक्रबार, १४ कात्तिक २०७७, ०५ : ५६
शुक्रबार, १४ कात्तिक २०७७

संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु सर्प किङ्ग कोब्रा हो । यस सर्पको विषको थोपाको दुई औंसले मात्रै पनि एउटा हात्ती वा बीसजना मान्छेलाई मार्न सक्छ । यसको विषको यही कडापनले नै किंग कोब्रालाई संसारकै सबैभन्दा विषालु लामो सर्पको दर्जा दिलाएको हो ।

 यस सर्पको औसत लम्बाई १२ देखि १५ फिटसम्म हुन्छ । तर अप्रिल १९३७ मा हालको मलेशियामा पर्ने नेग्री सेम्बिलानको डिक्सन किल्लामा फेला परेको किंग कोब्रा १८ फिट २ इन्च लामो थियो । उक्त सर्पलाई लण्डनको चिडियाखानामा राखिएको थियो र पछि यसको लम्बाइ बढेर १८ फिट ९ इन्चसम्म पुगेको थियो । भनिन्छ, दोस्रो विश्वयुद्धको शुरुवातताका सन् १९३९ मा यस सर्पलाई चिडियाखानाबाट भाग्ला भन्ने डरले मारिएको थियो ।

अत्यन्तै घातक विषालु भएपनि कतिपय देशहरुमा किंग कोब्रालाई पनि मनोरञ्जनको वस्तुको रुपमा प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । थाइल्याण्डमा बक्सिंग रिंगमा कोब्रा सर्पसँग मान्छेले लडाईं गर्ने खेल नै देखाइन्छ ।  टिकट काटेर यस खेल हेर्न मान्छेको भीड लाग्ने गर्छ । त्यसैगरी, भारतमा सर्प खेलाउनेहरुले भारतीय कोब्रा (गोमन सर्प)लाई नचाउने गर्छन् ।

विषेशतः दक्षिणपूर्वी एशिया र भारत मूलथलो रहेको यस सर्पको १ से.मी लामो दाँत हुन्छ, तर यसले आफ्नो शिकारलाई डल्लै निलेर पचाउँछ । यस सर्पको मुख्य आहारा सर्प नै हो । किंग कोब्राको वैज्ञानिक नाम Ophiophagus hannah  हो । यसको अर्थ हुन्छ– सर्प खाने । तर यसले पाउँदा मुसा, भ्यागुतो, छेपारो जस्ता स–साना जीवहरुलाई पनि खान्छ ।

भारत, दक्षिण चीन, म्यानमार, थाइल्याण्ड, मलेशियादेखि फिलिपिन्स र इण्डोनेशियासम्म पाइने किंग कोब्राको मुख्य वासस्थान जंगल र कहिलकाहीँ पानी नजिकको स्थान हुने गर्छ ।

यो जीवको टाउको मान्छेको हत्केला जत्रै हुन्छ । अन्य भारतीय कोब्रा (गोमन) ले जस्तै किंग कोब्राले पनि खतरा महसूस गर्दा आफ्नो बचाउको लागि वा आक्रमण गर्नको लागि आफ्नो फणा फैलाएर आफ्नो टाउकोलाई हावामा उठाउने गर्छ । सामान्यतः यो सर्प अति क्रियाशील तर लुक्न मन पराउने खालको हुन्छ । प्रायः लुकेर बस्ने यो सर्प आवश्यकता पर्दा पानीभित्र समेत गएर लुक्ने गर्छ ।

पोथी किंग कोब्राले अण्डा पार्नको लागि गुँड बनाउने गर्छ । सम्भवतः यसरी गुँड बनाउने यही एक मात्र सर्प हो । यसले गुँड बनाउने क्रममा आफ्नो शरीरको माथिल्लो भागमा सिन्का तथा पात पतिङ्गरहरुलाई संकलन गरेर त्यसको बीचमा खाली भाग बनाउँछ । यसै खाली भागमा किंग कोब्राले १८ देखि ४० वटासम्म अण्डा पार्छ । यसरी पारेको अण्डालाई शरीरले ढाकेर त्यो ओथारो बस्छ ।

विषको पिच्कारी छोड्ने कोब्रा

https://ychef.files.bbci.co.uk/

किंग कोब्राभन्दा अलि सानो अर्को कोब्रा सर्प पनि हुन्छ । यस सर्पलाई चाहिँ इण्डियन कोब्रा भनिन्छ । यो सर्प पनि अति नै विषालु हुन्छ । स–साना जीवहरु, छेपारो, मुसा तथा भ्यागुतोलाई आफ्नो आहारा बनाउने यस सर्पले टोकेर आफ्नो विष शिकार वा शत्रुको शरीरमा पठाउँछ । तर आपत परेको बेलामा यसले २ मिटर परसम्म विषको पिच्कारी छोड्न सक्छ । यसरी विषको पिच्कारी छोड्दा यसले विशेष गरेर शिकारको आँखालाई लक्ष्य बनाउने गर्छ ।

खतरा महसूस गरेको बेलामा आफ्नो बचाउ गर्न वा आक्रमण गर्नको लागि इण्डियन कोब्राले पनि किंग कोब्राले जस्तै आफ्नो फणा फैलाएर आफ्नो टाउको तथा एक तिहाईसम्म शरीरलाई हावामा लहराउने गर्छ ।

फिलिपिन्स, अफ्रिका र दक्षिण एशियामा पाइने इण्डियन कोब्रा मूलतः जंगल, धानका खेतहरु वा अन्य वाली लगाइएका स्थानहरुमा बस्ने गर्छ । ६ देखि ७ फिटसम्म लामो आकार हुने यस सर्पले अन्य सर्पहरुले भन्दा बढी आफ्नो अण्डाको रखवाली गर्ने गर्छ । यसले रुखको टोड्का, धमिराको देवल वा दूलोहरुमा एक पटकमा ८ देखि ४५ वटासम्म (सामान्यतः १२ देखि २० वटा) अण्डा पार्ने गर्छ । यसरी अण्डा पारेपछि अण्डाबाट बच्चा ननिस्केसम्म पोथी इण्डियन कोब्राले अण्डाको रखवाली गरिरहन्छ । यसले खाना खोज्नको लागि मात्रै अण्डा छोडेर हिँड्ने गर्छ, तर त्यो पनि अति छोटो समयको लागि । त्यसबेला यो शिकार खोज्न आफ्नो गुँडबाट धेरै टाढा जाँदैन । अण्डा पारेको ५० देखि ६० दिनमा त्यसबाट बच्चा निस्कन्छ ।

यी दुई कोब्राबाहेक एशियामा पाइने अन्य कोब्राहरु सामान्य कोब्रा, एशियन कोब्रा पनि हुन्छन् । यी कोब्राहरु चाहिँ किङ्ग कोब्रा र इण्डियन कोब्राभन्दा सानो हुन्छ । सर्प नचाउनेहरुले लिएर हिँड्ने कोब्रा सर्पहरु पनि प्रायः यिनीहरु नै हुन्छन् ।

कालो घाँटी हुने कोब्रा चाहिँ अफ्रिकी मूलको कोब्रा हो । यो कोब्रा दक्षिण इजिप्टदेखि उत्तर–दक्षिण अफ्रिकासम्म पाइन्छ । यस कोब्राले पनि इण्डियन कोब्राले जस्तै ८ फिट परसम्मबाट विषको पिच्कारी छोड्न सक्छ ।  विभिन्न प्रजातिहरु अनुसार कोब्राको रंग हल्का कालोदेखि गुलाबीसम्म हुन्छ ।  फेरि प्रजातिअनुसार कोब्राको रंग मात्र हैन, यसको छालाका धब्बाहरु पनि फरक फरक हुन्छन् ।

कोब्राको प्रजातिमा सबैभन्दा सानो कोब्राचाहिँ दक्षिण अफ्रिकामा पाइने रिङ्कहल्स कोब्रा  (Rinkhals Cobra) लाई मानिन्छ । यसको लम्बाई ४ फिटसम्म मात्र हुन्छ । यो अँध्यारो खैरो वा कालो हुन्छ र यसको घाँटीमा हल्का रिंग हुन्छ । तर वास्तविक रुपमा यसलाई कोब्रा मानिँदैन । यो कोब्रा सर्पको जिनस (Genus)  नाजा (Naja) मा पर्दैन । त्यसैगरी, मोजाम्बिक स्पिटिङ कोब्रालाई पनि संसारको सबैभन्दा सानो मानिन्छ । यो पनि ४ फिटसम्म लामो हुने गर्छ । 

प्रायः सबै कोब्रा विषालु हुन्छ । यसको विषमा न्यूरोटक्सिन हुन्छ, जसले हाम्रो स्नायु प्रणालीमा नै आघात गर्छ र तुरुन्तै उपचार नपाएको खण्डमा टोकिएको मान्छे अनिवार्य मृत्युको मुखमा धकेलिन्छ । त्यसो त प्रतिविष सुईको विकासले कोब्राको टोकाइबाट हुने मृत्युको दर एशियामा निकै घटिसकेको छ ।

त्यसो त कोब्रा सर्पको विष मानव समाजको लागि उपयोगी पनि साबित भएको छ । यसको विष कतिपय जीवनरक्षक औषधीहरु निर्माणमा उपयोग हुने गरेको छ ।

Title Photo: https://cdn.abcotvs.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप